काठमाडौं- वैशाखमा भएको एन्फा निर्वाचनमा वर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पासहित केहि पदाधिकारीले फिफा र एएफसीको कोड अफ इथिक्स पूर्ण रुपमा उल्लंघन गरेको भन्दै मणी कुँवरले त्यसको प्रमाण फिफा एएफसीमा पठाएको यसअघिको पत्रकार सम्मेलनमा जानकारी गराएका थिए । एन्फाले पत्रकार सम्मेलनमा सहभागी हुने जिल्ला अध्यक्षलाई सात दिन भित्र जवाफ दिन स्पष्टिकरण मागेको थियो ।
सोहि एन्फाले मागेको स्पष्किरणमा आपत्ती जनाउँदै कुँवरले भने, ‘के एन्फामा भएका गलत कुरा उठाउन नपाउने हो ? फुटबल विकासको अवरोध गर्न नभई संघभित्र भइरहेका गलत कुराहरुलाई सार्वजनिक गर्दै सचेत गराउने उदेश्यमा पत्रकार सम्मेलन गरिएको थियो । मुलुक लोकतन्त्र हुँदै संघीय गणतन्त्रमा पुगिसकेको छ ।’
दक्षिण एसियाली फुटबल महासंघ (साफ) का उपाध्यक्ष समेत रहेका कुँवरले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, उपाध्यक्ष पंकजविक्रम नेम्वाङ र अन्तर्राष्ट्रिय सम्बन्ध संयोजक नवीन पाण्डे लगायतका दोषी पदाधिकारीहरूमाथि फिफा तथा एएफसीले कार्वाही गर्नेमा म पूर्ण विश्वस्त रहेको दोहोराएका छन् । सँगै उनले निर्वाचनका बेलाका अनियमिनताका प्रमाण विभिन्न निकायमा पेश गर्ने जानकारी दिएका छन् ।
कुँवरले असोज ८ गते आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थिति एन्फा मताहतका केहि जिल्ला संघका अध्यक्षलाई स्पष्टिकरण सोधिएको विषयमा ध्यानाकर्षण भएको उल्लेख गर्दै उनले फुटबल विकासप्रति समर्पित सबै व्यक्तिमा संघलाई सही बाटोमा लाने प्रयास गर्न पाउने लोकतान्त्रिक अधिकार भएको बताएका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) को वर्तमान कार्यसमितिको निरकंशुताकाविरुद्ध अफु लडिरहने एन्फाका पूर्व वरिष्ठ उपाध्यक्ष मणी कुँवरले बताएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४