धनगढी- दशैँ तिहारका लागि दार्चुलाबाट करिब सात सय ५० भेडाच्याङ्ग्रा पोखरा तथा काठमाडौँ निर्यात गरिएको छ।
जिल्लामै भेडा खसीको मासु अभाव भइरहेका बेला अपिहिमाल, मार्मा, नौगाड गाउँपालिका र शैल्यशिखर नगरपालिकाबाट भेडा–च्याङ्ग्रा निर्यात गरिएको गोकुलेश्वरस्थित ट्राफिक प्रहरी पोष्टले जनाएको छ।
जिल्ला पशु शाखा कार्यालयले स्वास्थ्य परीक्षण प्रतिवेदन दिएपछि दुई सय ६० भेडा, तथा स्कालिम जातका चार सय ७३ च्याङ्ग्रा ढुवानी गरिएको पशु चिकित्सक मोहनदेव भट्टले जनाए।
विगतमा तिब्बतबाट भेडाच्याङ्ग्रा आयात हुने गरेकामा पछिल्लो समय दार्चुलाबाटै बाह्य जिल्ला निर्यात हुन थालेको उनले बताए।
यस वर्ष तिब्बतेली भेडाच्याङ्ग्रा हालसम्म आयात नभएको व्यास गाउँपालिका वडा अध्यक्ष अशोकसिंह बोहराले बताए। विगतमा सयौँ भेडाच्याङ्ग्रा तिब्बतबाट आयात हुन्थ्यो उनले भने, ‘यस वर्ष हालसम्म आएको छैन।’
व्यापारीले जिल्लाबाट ७० हजार भाडा तिरेर भेडा च्याङ्ग्रा पोखराका लागि ढुवानी गरेको ट्रक व्यवसायी मोहनसिंह ऐरीले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४