जनकपुरधाम-प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले संविधानको भावना अनुसार प्रदेश प्रहरी गठन गर्न लागिएको बताएका छन् । प्रदेश प्रहरी ऐनको विरोध गर्नुको कुनै तुक नरहेको राउतले बताए ।
६३ औं प्रहरी दिवसको अवसरमा प्रदेश प्रहरी कार्यालयले विहिबार आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले प्रदेश प्रहरी विधेयक चाँडै प्रदेशसभामा पारित हुने दाबी गरे ।
प्रदेशले प्रहरी ऐन ल्याएपनि समायोजन, सहकार्य र समन्वय संघीय प्रहरी ऐन अनुसार नै हुने राउतको भनाइ थियो । उनले संविधानले सहकार्य र सहअस्तित्वको परिकल्पना गरेकोले सोहि अनुसार प्रदेश प्रहरी गठन गर्न लागिएको बताए ।
प्रहरी प्रणालीलाई पुर्नसंरचना गरी मुलुकमा सक्षम, सुदृढ र व्यवसायिक प्रहरी संगठनको रुपमा रुपान्तरण अहिलेको आवशयक्ता रहेको उनको भनाइ थियो । प्रदेश प्रहरी सरकारको अभिन्न अंग रहेको भन्दै राउतले यसले संघीयतलाई आत्मसात गरेको उल्लेख गरे ।
कार्यक्रममा बोल्दै आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले अवशेषमूखी प्रहरी संरचनालाई आधुनिकीकरण गर्नुपर्नेमा जोड दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४