सन् २०११ मा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको सम्भाव्यता अध्ययन सम्पन्न भए पनि आजसम्म यसको निर्माणका लागि अपनाइने 'मोडालिटी' निक्र्योल भएको छैन। यो विषय छलफलमै सीमित बनेको छ। पछिल्लो समयका हरेक सरकारले यो परियोजनालाई मुख्य एजेन्डा हो भन्न छुटाएनन्। तर, यो कुन अवधारणामा बनाइनेछ ? कुनै सरकारले स्पष्ट गर्न सकेका छैनन्।
काठमाडौंस्थित मुलुकको एक मात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार र सुविधाहरू अन्य देशका विमानस्थलको तुलनामा निकै कमजोर देखिन्छ। र, यो भौगालिक हिसाबले पनि निकै असुरक्षित अवस्थितिमा छ। सोही कारण यस विमानस्थलमा अवतरण गर्ने विमानहरूको सुरक्षाको विषय बेला-बेलामा उठ्ने गरेको छ।
आकस्मिक अवतरणका लागि वैकल्पिक विमानस्थल नभएका कारण भारत र बंगलादेशका विमानस्थलहरूतर्फ विमानहरूलाई मोड्नुपर्ने झण्झट छ। यो हवाई क्षेत्रका लागि राम्रो कुरा होइन। सन् २०११ को सम्भाव्यता अध्ययनले बाराको निजगढलाई दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका लागि उपयुक्त ठहर्याएको थियो। अध्ययन सकिएको सात वर्ष बितिसक्दा पनि निर्माण शुरु नहुनु विडम्बनाको विषय बनेको छ।
सन् २०१५ मा टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट चिप्लिएर दुर्घटनाग्रस्त भयो। २८ फागुन ०७४ मा यूएस-बांग्ला एयरलाइन्सको जहाज विमानस्थलमै दुर्घटनामा पर्यो। हालै यती एयरलाइन्सको एक जहाज पनि धावनमार्गमा चिप्लियो। यी घटनाहरूले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको अपरिहार्यतालाई झनै उजागर गरेका छन्।
हुन त, नेपाल हवाई पूर्वाधारमा मात्र होइन, समग्र पूर्वाधार विकासमै अन्य मुलुकको तुलनामा निकै पछाडि छ। पर्यटन क्षेत्रको विकास पनि यसैमा जोडिन आउँछ। नेपालमा पर्यटकको संख्या व्हात्तै वृद्धि गर्ने योजना तय भएको केही समय बित्यो। तर, त्यसका लागि आवश्यक पूर्वाधार हामीसँग छैन।
पूर्वाधार विकासका लागि आवश्यक पुँजीको अभाव त छँदैछ, त्यसभन्दा पनि विकासका लागि आवश्यक दीर्घकालीन दृष्टिको अभाव, कार्यान्वयन क्षमताको कमी तथा आवश्यक प्रविधि र जनशक्ति उपलब्ध नहुनुको पीडा भोग्दै आएका छौं, हामीले। नेपालजस्तो सम्भावना नै सम्भावनाबाट युक्त मुलुक पूर्वाधार विकासमा यतिसारो पछाडि पर्नुका कारण पनि यिनै हुन्।
विद्यमान सरकारी संयन्त्रमार्फत विकास खर्च न्यून मात्रामा हुने गरेका कारण कतिपय राष्ट्रिय गौरव र प्राथमिकतामा परेका आयोजनाहरूको प्रगतिको स्तर निराशाजनक रहेको विभिन्न समयमा प्रकाशित हुने सरकारी आँकडाले देखाउँदै आएका छन्।
ल्यान्डमार्क वल्र्डवाइड इन्टरनेसनल नामक कम्पनीले सन् २०११ मा गरेको विस्तृत सम्भाव्यता अध्ययनअनुसार दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको पहिलो चरणको कामका लागि करिब ६५ अर्ब रुपैयाँ खर्च लाग्नेछ। र, एउटा धावनमार्ग रहने उक्त विमानस्थलले वार्षिक एक करोड ५० लाख यात्रुलाई सेवा प्रदान गर्न सक्नेछ।
दोस्रो चरणमा उक्त विमानस्थललाई दुई सय ५० अर्ब रुपैयाँ खर्च आवश्यक हुनेछ। त्यसपछि तयार हुने दुई वटा धावनमार्गबाट वार्षिक तीन करोड यात्रुलाई सेवा प्रदान गर्न सक्ने अध्ययनले देखाएको छ। अध्ययनअनुसार तेस्रो चरणमा उक्त विमानस्थललाई 'एरोसिटी एयरपोर्ट'का रूपमा विकास गर्न सकिनेछ। अत्याधुनिक सेवाहरू समेत उपलब्ध गराई हवाईकेन्द्रित सुविधासम्पन्न शहरको परिकल्पना हो यो। तेस्रो चरणको पूर्वाधार विकासका लागि थप तीन सय ५० अर्ब रुपैयाँ खर्चिनुपर्नेछ। त्यसपछि उक्त विमानस्थलले वार्षिक ६ करोड यात्रुको भार धान्न सक्नेछ।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल किन ?
मुलुकमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकतालाई विभिन्न कारणले थप पेचिलो बनाउँदै लगेका छन्। देशमा बढ्दो हवाई आवागमन धान्न सक्ने हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग क्षमता नभएको तथा त्यसका कारण विश्वका विभिन्न हवाई कम्पनीहरू यहाँ आउन नसकेको यथार्थ हो। र, नेपालसँग हवाई सम्बन्ध स्थापना गर्न चाहने मुलुकहरू निराश बन्दै आएका छन्। त्यसबाट नेपालको वैदशिक व्यापार र पर्यटक आवगमनमा समस्या भएको पृष्ठभूमिमा वैकल्पिक अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता महशुस गरिएको हो।
दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएमा राजधानीबाहिर एक प्रमुख पूर्वाधार तयार हुनेछ। र, त्यसले संघीयताको अवधारणाबमोजिमको विकेन्द्रित विकासलाई टेवा पुर्याउनेछ। यस्तो विमानस्थललाई एसिया-प्रशान्त क्षेत्र तथा युरोपलगायत क्षेत्रका विमान सेवाका लागि हवाई ट्रान्जिट बनाउन सकिने सम्भावना छ।
उक्त विमानस्थलले हजारौंलाई रोजगारी दिनुका साथै निजगढलाई एउटा हवाई केन्द्रका रूपमा समेत विकास गर्नेछ। रोजगारी मात्र नभई मुलुकको राजश्व र समग्र अर्थतन्त्रमै यस विमानस्थलको योगदान महत्वपूर्ण रहन सक्नेमा कुनै शंका छैन।