काठमाडौं- न्युजिल्याण्डकी पूर्वप्रधानमन्त्री हेलेन क्लार्क सगरमाथा आरोहणको लागी आउने भएकी छिन् ।
सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो तेन्जिङ नोर्गेसँगै पाइला टेकेका स्वर्गिय एडमण्ड हिलारीको जन्म शताब्दीको अवसरमा उनी नेपाल आउने भएकी हुन । आगामी जुलाई महिनामा हिलारीको जन्म शताब्दी मनाइनेछ।
हिलारीद्वारा स्थापना गरिएको हिमालयन ट्रष्टको प्रथम संरक्षकको रुपमा मनोनयनपछि ६८ वर्षिया क्लार्कले खुशी हुँदै भनिन्, न्युजिल्यान्डका नागरिक माझ अझै वर्षौसम्म पनि आदर्श पात्र बनिरहने हिलारीप्रति सच्चा सम्मानको लागी सगरमाथा आरोहण गर्नुभन्दा उत्तम के होला ?
क्लार्क सन् १९९९ देखि २००८ सम्म लगातार तीन कार्यकाल न्युजिल्यान्डको प्रधानमन्त्री रहिसकेकी छिन् । उनले सन् २००९ देखि २०१७ सम्म संयुक्त राष्ट्र संघको विकास नियोगमा प्रशासकको जिम्मेवारी समेत सम्हालेकी थिइन् ।
गरिबी निवारणमा टेवा पुर्याउने चाहना र हिमाल आरोहणप्रतिको लगावका कारण क्लार्कलाई ट्रष्टको लागी संरक्षक चयन गर्न पाउनु सुखद रहेको हिमालयन ट्रष्टका अध्यक्ष माइकल गिलले प्रतिकृया दिएका छन् ।
ट्रष्टद्वारा बुधबार जारी विज्ञप्तीमा क्लार्कले नेपालमा हिमाली क्षेत्रको भ्रमणको क्रममा ट्रष्टद्वारा पुनस्निर्माण गरिएको विद्यालय भवनहरुको अवलोकन र स्थानीय बासिन्दासँग अन्तरकृया समेत गर्नेछिन् ।
क्लार्कको भ्रमणले न्युजिल्यान्डमा नेपालबारे पर्यटन प्रवर्ध्दनमा समेत सहयोग पुग्नेछ। सन् १९६० मा स्थापित हिमालयन ट्रष्टले नेपालमा हिमाली भेगमा भूकम्पका कारण छतिग्रस्त १५० वटा कछा कोठाको पुनर्निर्माण गरेको ट्रष्टद्वारा जारी विज्ञप्तीमा उल्लेख छ।
२० जुलाई १९१९ मा न्युजिल्यान्डमा जन्मिएका हिलारीको एक दशकअघि निधन भएको हो । हिलारी र नोर्गेले २९ मे १९५३ मा सगरमाथा सफल आरोहण गरेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४