जनकपुरधाम- उपभोक्ताहरुको सुविधालाई ध्यानमा राख्दै जनकपुरमा दशैं बजार (सस्तो बजार) लगाइएको छ। जनकपुर उद्योग वाणिज्य संघको पहलमा विगत ४२ वर्षदेखि दशैंको अवसरमा सस्तो बजार लाग्ने गरेको छ।
दशैंको अवसरमा लाग्ने सस्तो बजारका लागि सर्वसाधारणहरु कुरेर बस्ने गर्दछन्। बाहिर बजारभन्दा सस्तो मूल्यमा दैनिक उपभोग्य सामग्रीहरु यहाँ पाउने भएकोले ठुलो संख्यामा उपभोक्ताहरु यहाँ पुग्ने गर्दछन्।
दशैंको अवसरमा लाग्ने सस्तो बजारमा लुगा धुने साबुन, सर्फ, अगरबत्ती, चिनी, प्लास्टिकका सामग्री, चियापत्तीलगायतका सामग्री उपभोक्ताहरुका लागि आकर्षण बनेको हुन्छ।
स्थानीय गोपाल धर्मशाला परिसरमा लगाइएको सस्तो बजारमा किनमेल गर्न अन्य वर्ष झैं ठुलो संख्यामा उपभोक्ताहरु पुग्ने वाणिज्य संघले विश्वास लिएको छ। वाणिज्य संघका अध्यक्ष तथा दशैं बजारका सदस्य सचिव ललितकुमार साहले सर्वसाधार उपभोक्ताहरुको मागलाई ध्यानमा राखेर हरेक वर्ष झैं यस पटक पनि सस्तो बजार लगाइएको जानकारी दिए।
सस्तो बजार व्यवस्थापन गर्न गोपाल धर्मशाला भित्र करिब एक सय स्टलहरु निर्माण गरिएको वाणिज्य संघले जनाएको छ। सस्तो बजार लगाउन धर्मशाला भित्र ३४ र बाहिर ५५ वटा स्टलहरु निर्माण गरिएको स्टल व्यवस्थापन संयोजक तथा जनकपुर उद्योग वाणिज्य संघका महासचिव जितेन्द्र महासेठले जानकारी दिए।
असोज ३१ सम्म सञ्चालन हुने सस्तो बजारमा धर्मशाला परिसरभित्र स्टल लगाएका व्यापारीहरुसँ प्रतिस्टल १५ हजार र बाहिर प्राङ्गणमा प्रतिस्टल वापत ९ हजार शुल्क निर्धारण गरिएको महासेठले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४