फाइल तस्बिर
काठमाडौं- साहिद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज (बुधबार) च्यासल युथ क्लब र मछिन्द्र क्लब भिड्दै छन् । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा दिउँसो ३ बजे शुरु हुनेछ ।
पुर्व राष्ट्रिय टोलीका प्रशिक्षक राजुकाजी साक्यको प्रशिक्षकमा रहेको च्यासल युथ क्लब लिगको पहिलो खेलमा सकारात्मक सुरुवात गर्ने चाहनाका साथ मैदानमा उत्रिने छ भने मछिन्द्रका प्रशिक्षक धनेश्वर प्रजापति च्यासलबाट अंक खोस्नुलाई नै सफलता मान्ने पक्षमा छन् । दुवै प्रशिक्षकले छोटो समयको तयारी भएपनि राम्रो प्रदर्शन गर्ने अपेक्षा गरेका छन् ।
शीर्ष श्रेणी लिगमा च्यासलको यो पहिलो सिजन हो । गतवर्ष बी डिभिजन लिगको उपाधि जितेपछि च्यासल शीर्ष श्रेणीमा बढुवा भएको थियो । पहिलो सिजनको लागि नै च्यासलले खुलेर खर्च गरेको छ ।
च्यासल राष्ट्रिय टोलीका तीन सदस्यसहित घरेलु फुटबलमा नाम चलेका खेलाडी सम्मिलित छन् । विमल घर्तिमगर, देवेन्द्र तामाङ र हेमन्त थापामगरले टोलीलाई साथ दिनेछन् । गोलरक्षक दिनेश थापामगर, मिडफिल्डर अमिर श्रेष्ठ, डिफेन्डर विक्रम लिम्बूले टोलीलाई थप सहयोग पुर्याउने छन् ।
यता मछिन्द्रले भने युवा खेलाडीलाई प्राथमिकतामा राखेको छ । रेलिगेसन नहुने लिग भएकाले पनि थोरै अनुभवी खेलाडी उतार्दै क्लबले खर्च बचाएको भान हुन्छ । प्रशिक्षक प्रजापति आफैं पहिलो पटक शीर्ष क्लब हेर्दैछन् । यसअघी उनी यू-१८ लिगमा सहायक प्रशिक्षकको भूमिकामा थिए । बुधबार च्यासलले ए डिभिजनमा डेब्यु गर्दा उनको पनि डेब्यु नै हुनेछ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४