बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

मर्स्याङ्दी करिडोरअन्तर्गतका २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा

आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो।
 |  शुक्रबार, चैत १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत १०, २०७९

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत २२० केभी क्षमताका दुई सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको बताएको छ। आयोजनाअन्तर्गत चितवनमा नयाँ भरतपुर र लमजुङमा उदीपुर २२० केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको हो। 

triton college

भरतपुर सबस्टेसन आगामी वैशाखभित्र र उदीपुर सबस्टेसन असारभित्र निर्माण सम्पन्न गर्ने गरी अन्तिम चरणका काम भइरहेका छन्। आयोजनाअन्तर्गत नै लमजुङको खुदी र मनाङको धरापानीमा २२० केभीका सबस्टेसन निर्माणाधीन छन्।

खुदी सबस्टेसन आगामी ६ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्ने देखिएको छ। भौगोलिक रुपमा विकट र सबस्टेसन निर्माणस्थलमा उपकरण लैजान पहुँच सडक समस्या रहेकाले धारापानी सबस्टेसन निर्माणमा केही समय लाग्नेछ। पहुँच सडक निर्माणका लागि आवश्यक पर्ने जग्गा अधिग्रहण प्रक्रिया सुरु गरिएको छ।

नयाँ भरतपुर सबस्टेसनमा सञ्चालनपूर्व गर्नुपर्ने परीक्षणका काम भइरहेका छन्। उदीपुर सबस्टेसनका अधिकांश सिभिल संरचना निर्माण सम्पन्न भएको छ। सबस्टेसनमा रहने उपकरण निर्माण स्थलमा ढुवानी भइसकेका छन्। उपकरण जडान जारी छ। 

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्थलगत अनुगमन भ्रमणमार्फत निर्माण प्रगति, बेहोरिएका समस्या, काम सम्पन्न हुने तालिकालगायत विषयमा आयोजना व्यवस्थापन, परामर्शदाता र निर्माण व्यवसायीसँग विस्तृत छलफल गरी  सबस्टेसन तोकिएकै समयमा सम्पन्न गर्न निर्माणमा संलग्न सबैलाई आग्रह गरे।

corrent noodles
Metro Mart

नयाँ भरतपुर र उदीपुर सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, ३२० एमभीए र २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी,५० एमभीए क्षमताका पावर टान्सफर्मर रहनेछन्। 

खुदी र धारापानी सबस्टेसनमा क्रमशः २२०/१३२ केभी, १६० एमभीए तथा १३२/३३ केभी, ५० एमभीए र २२०/१३२ केभी, १०० एमभीए तथा १३२/३३ केभी, ३० एमभिए क्षमताका पावर ट्रान्सफर्मर रहनेछन्।

खुदी सबस्टेसनमा रहने पावर ट्रान्सफर्मर राखिने स्थान, नियन्त्रण कक्षलगायतका सिभिल संरचना निर्माण सम्पन्न भएको छ। ट्रान्सफर्मरलगायतका उपकरणहरु निर्माणस्थलमा ढुवानी सुरु भएको छ।  

मर्स्याङ्दी र त्यसका सहायक नदीबाट उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाहका लागि मस्र्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजना सुरु गरिएको हो।

प्रसारण लाइनबाट करिब १ हजार ६ सय मेगावाट विद्युत् प्रवाह गर्न सकिनेछ। आयोजनाअन्तर्गत चितवनको भरतपुरदेखि  मनाङको धारापानीसम्मको ११३ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माणाधीन छ। 

आयोजनालाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ। पहिलो प्याकेजअन्तर्गत उदीपुरबाट नयाँ भरतपुर सबस्टेसनसम्मको करिब ६७ किलोमिटर प्रसारण लाइन निर्माण भइरहेको छ।

दोस्रो प्याकेजअन्तर्गत नयाँ भरतपुर र उदीपुर सबस्टेसन निर्माणको अन्तिम चरणमा छन्। तेस्रो प्याकेजअन्तर्गत खुदीबाट धारापानीसम्मको ४६ किलोमिटर प्रसारण लाइन र दुई वटा सबस्टेसन निर्माण भइरहेको छ। 

नेपाल सरकारको लगानी र युरोपेली लगानी बैक (ईआईबी)को सहुलियतपूर्ण ऋणमा निर्माणाधीन आयोजनाको अनुमानित लागत करिब १६ अर्ब रुपैयाँ छ।

प्रकाशित: Mar 24, 2023| 13:17 शुक्रबार, चैत १०, २०७९
प्रतिक्रिया दिनुहोस्