बेइजिङ- गत महिना चीन भ्रमणमा रहँदा एकाएक बेपत्ता भएका भनिएका इन्टरपोलका अध्यक्ष मेङ होङवेईले राजीनामा दिएको चिनियाँ अधिकारीहरूले सोमबार घोषणा गरेका छन्। चिनियाँ कानून उल्लंघनको कथित आरोपमा मेङमाथि अनुसन्धान भइरहेको बताइएको छ।
विगतमा सार्वजनिक सुरक्षा उपमन्त्रीको समेत कार्यभार सम्हालेका मेङ होङवेईका सम्बन्धमा सूचना दिन बेइजिङले कन्जुस्याइँ गरिरहेको छ। फ्रान्सेली अधिकारीहरूले गत शुक्रबार मात्र मेङ चीनमा 'बेपत्ता' भएको समाचार सार्वजनिक गरेका थिए।
अन्तर्राष्ट्रिय संगठित अपराधीहरूको खोजतलास, विश्लेषण र विश्वका देशहरूका सुरक्षा अधिकारीसँग समन्वय गर्ने इन्टरपोलको प्रधान कार्यालय फ्रान्समा छ। मेङ त्यही इन्टरपोलका अध्यक्ष हुन्।
विश्लेषकहरूले अन्तर्राष्ट्रिय संस्थाका महत्वपूर्ण पदहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने व्यक्तिमाथि चीनको पछिल्लो कदमले व्यापक नैराश्यता छाउने र विश्वसनीयतामा कमी आउने बताएका छन्।
मेङकी पत्नी ग्रेस होङवेईले फ्रान्सको लियोनस्थित इन्टरपोलको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै पछिल्लो पटक मेङले पठाएको सन्देशबाट आफू अत्यन्त चिन्तित भएको बताइन्।
चीनको सार्वजनिक सेवामा कार्यरत व्यक्तिमाथि लाग्ने भ्रष्टाचारका मुद्दाको छानविन गर्ने राष्ट्रिय सुपरीवेक्षण आयोगले अन्तर्राष्ट्रिय दबाबपछि वक्तव्य जारी गर्दै भनेको छ, 'मेङमाथि कानून उल्लंघनको आरोपमा अनुसन्धान भइरहेको छ।'
त्यसलगत्तै इन्टरपोलले मेङले 'तत्काल लागू हुनेगरी' दिएको राजिनामा प्राप्त भएको जनाएको छ।
चीनमा उच्च पदस्थ व्यक्ति बेपत्ता भएको यो पछिल्लो घटना हो। चीनमा उच्च सरकारी अधिकारीहरू, अर्बपति व्यापारीहरू र लोकप्रिय व्यक्तिहरू पनि महिनौं बेपत्ता बनाइन्छन्। उनीहरू पुनः देखा पर्दा प्रायः अदालतमा उपस्थित गराइएको हुन्छ।
इन्टरपोलमा पहिलो चिनियाँ अध्यक्ष रहेका मेङ होङवेई सेप्टेम्बर २५ मा चीन जानुअघि फ्रान्सको लियोनमा सार्वजनिक कार्यक्रममा देखा परेका थिए।
इन्टरपोलका दैनिक कार्यसञ्चालनको रेखदेख गर्दै आएका महासचिव जुर्गेन स्टोकले चीनसँग मेङको अवस्थाका बारेमा जानकारी गराउन इन्टरपोलले औपचारिक आग्रह गरेको बताएका थिए।
मानव अधिकार समूहहरूको चौतर्फी विरोधबीच मेङ इन्टरपोलको अध्यक्षमा सन् २०१६ मा नियुक्त भएका थिए। विश्व मामिलामा चीनको प्रभाव बढाउने क्रममा चीनका राष्ट्रपतिको यो एउटा महत्वपूर्ण विजयका रूपमा हेरिएको थियो।
तर, मेङको बेपत्ता प्रकरणले चीनलाई ठूलै क्षति हुन सक्नेछ।
दुबईमा आगामी नोभेम्बर १८ देखि २१ मा हुने इन्टरपोलको महासभाले अध्यक्षको बाँकी दुई वर्षे पदावधिका लागि नयाँ अध्यक्ष निर्वाचित गर्नेछ।
राष्ट्रपति सी जिनपिङले मेङलाई सन् २००४ मा आफ्ना पार्टीभित्रका विपक्षीलाई पाखा लगाउँदै उपसुरक्षा मन्त्री बनाएका थिए। मेङलाई अरू पनि संवेदनशील कामको जिम्मेवारी दिइएको थियो। राष्ट्रपतिका विश्वासपात्र मेङले प्रतिआतंकवादी विभागको पनि जिम्मेवारी पाएका थिए।
मेङलाई इन्टरपोलको अध्यक्ष बनाउन सकिए चीनबाट पलायन भएर विदेशमा आश्रय लिइबसेका व्यक्तिहरू चीन लैजान मद्दत पुग्ने भित्री मनसाय चीनको रहेको भन्दै आलोचनासमेत भएको थियो।
इन्टरपोलले त्यस्तो आरोपलाई अस्वीकार गर्दै आएको छ। अध्यक्षले संस्थाको दैनिक कारवाहीमा कुनै प्रभाव नपार्ने इन्टरपोलले स्पष्ट गरेको छ।
चीनले विदेशमा लुकेर बसेका भ्रष्ट अधिकारीहरूलाई पक्राउ गर्न 'अपरेसन फक्स हन्ट'समेत सञ्चालन गरिआएको छ। ती व्यक्तिलाई पक्राउ गर्न चिनियाँ अधिकारीहरूले गोप्य रूपमा काम गरिरहेको बताइन्छ।
चीनले हाल ४४ जना त्यस्तै व्यक्तिलाई पक्राउ गर्न 'रेड नोटिस' जारी गरेको छ। उनीहरूमाथि हत्या, लागूऔषधको तस्करीलगायत आरोप लागेका छन्।
मेङको कार्यकालमा इन्टरपोलले विदेशमा लुकेर बसेका चिनियाँ अर्बपति गुओ वेनगुईमाथि रेड नोटिस जारी गरेको छ। गुओले चीनका उच्चपदस्थ व्यक्तिले गरेका भ्रष्टाचारको पोल खोल्ने चेतावनी दिइआएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४