धनगढी–मन्त्रीपरिषदको निर्णय कार्यन्वयनमा राष्ट्रिय वन विभागको ढिलाईले रोकिएको सेती लोकमार्गको काम तीब्र रुपमा अघि बढाउन दवाव दिने उद्देश्यले कैलालीमा राष्ट्रव्यापी खुल्ला फुटबल प्रतियोगिता हुने भएको छ ।
सडकपुर बौनियाँ युवा क्लबको आयोजनमा ८ कार्तिकदेखि २० गते सम्म फुटबल प्रतियोगिता हुने भएको हो । सेती लोकमार्ग अन्र्तगतको कैलालीको बौनियाँदेखि डोटीको लोडे सडक खण्डको काम तीव्र रुपमा सञ्चालनको माग गर्दै दबाबस्वरुप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
क्लबका अध्यक्ष प्रकाश साउँदले बर्दगोरीया धार्मिक क्षेत्रको पहिचान र निर्माणधिन अवस्थामा रहेको लोकमार्गको काम चाडो सम्पन्न गर्न दवावस्वरुप प्रतियोगिता आयोजना गर्न लागेको बताए । उनले प्रतियोगितामा देशभरीका चर्चित खेलाडीहरुको उपस्थिती रहने बताए । दुई लाख नगद प्रथम पुरस्कार धनरासी रहेको प्रतियोगिताको तयारी तिव्ररुपमा भैरहेको साउँदले जनाए । २०७० सालदेखि क्लबले दवाव स्वरुप प्रतियोगिता गर्दै आएको छ ।
सेती लोकमार्गले जिल्लाको करिब दुई सय ३३ हेक्टर बन क्षेत्र ओगटेको छ । लोकमार्गले बर्दगोरीया र महोन्याल गाउँपालिकाका पर्ने सामुदायिक तथा राष्ट्रिय वनको २० मिटर जमीन सडकले ओगट्ने छ । १० मिटर दायाँ र १० मिटर बाँया बन क्षेत्र ओगट्ने जिल्ला बन कार्यालय कैलालीले जनाएको छ । जिल्ला बन कार्यालय कैलालीले गरेको रेखांक अनुसार लोकमार्गमा करिब आठ हजार छ सय ८६ रुखहरु पर्ने बताइएको छ ।
०७३ कार्तिक ७ गतेको मन्त्रिपरिषदको निर्णयले सेती लोकमार्ग निमाणको लागि बन क्षेत्रमा पर्ने रुखहरुको पुनः लागत र रेखांकन गर्न बन कार्यालयलाई निर्देशन गरेको थियो । लागत संकलनको निर्देशन पश्चात बन कार्यालयले राष्ट्रिय बन विभाग, बन मन्त्रालयमा लागत संकलनको प्रतिवेदन बुझाएको डिभिजन बन कार्यालय कैलालीले जनाएको छ ।
लोकमार्गको तल्लापानी, चोसेकाडा, राक्सा लगायतका क्षेत्रमा सडक निर्माणका लागि बन पर्ने भएकाले त्यसको वातावरण प्रभाव मुल्यांकनका कारण ढिलाई भएको बताउँदै आएको बन मन्त्रालयले मन्त्रिपरिषदको निर्णय पश्चात पनि काम अघि बढाउन सेकेको छैन् । सेती लोकमार्ग निर्माण गर्न लागेको एक दशक पुग्न थाल्दा पनि ट्रयाक खुल्न सकेको छैन ।
दबाबस्वरुप फुटवल आयोजना हुन थालेको यो चौथो संस्करण हो । करिब १४ लाख खर्च लाग्ने अनुमान गरिएको प्रतियोगितामा द्धितिय र तृतिय स्थान हासील गर्नेलाई क्रमश १ लाख र ५० हजार नगद पुरस्कारको व्यवस्था गरेको क्लवले जानकारी दिएको छ ।
बर्दगोरीया देखि लोडे तर्फको सडकखण्ड अन्र्तगत तल्लापानीसम्म करिब १३ किमी. ट्रयाक खुलाई सकेको छ । तल्लापानीदेखि लोडेसम्म बन क्षेत्र पर्ने भएकाले बन विभागको स्वीकृती ढिलाईले ट्रयाक खुल्न सकेको छैन् । ट्रयाक खुलाउने कार्यका लागि आर्थिक बर्ष २०७३/०७४ मै ठेक्कापट्टा भैसकेको छ ।
बन क्षेत्र भित्र पर्ने रुख विरुवाहरु काट्ने स्वीकृतिको लागि बन विभागमा फायल पेश भएकोमा वातावरणीय प्रभाव मुल्यांकन पुरक ईआए गर्न वाताबरण मन्त्रालयसंग अनुमति माग भए पनि स्वीकृती हुन नसकेका कारण लोकमार्ग निर्माणको काम रोकिएको छ ।
सुदूरपश्चिम प्रदेशका कैलाली, डोटी, अछाम, बाजुरा र बझाङ गरी पाँच जिल्लालाई सेती लोकमार्गले छुने छ । सात अर्ब २२ करोड लागत लाग्ने अनुमान गरिएको सेती लोकमार्गको विभिन्न चरण र खण्डमा काम भैरहेको डिभिजन कार्यालयले जनाएको छ ।
बार्षिक बजेट २२ करोड (बहुबर्षिय कार्यक्रम) बनाएर डिभिजन कार्यालयले लोकमार्गको ट्रयाक खोल्ने र कालोपत्रे गरिरहेको ईन्जिनियर राजेन्द्र दासले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४