काठमाडौं- नेपाली सेनाका हेमलाल श्रेष्ठ र भक्तपुरकी कान्छिमाया कोजुले १२ औं काठमाडौं म्याराथनको उपाधि जितेका छन् । हेमलालले ४२.१९ किमिको दूरी २ घन्टा, २० मिनट ४५ सेकेन्डमा पुरा गर्दै स्वर्ण हात पारे । दोश्रो स्थानमा सेनाका राजन खत्री र तेश्रो स्थानमा नेपाल प्रहरीका भूमिराज राई रहे । खत्रीले २ घन्टा, २३ मिनट ३३ सेकेन्डमा र राईले २ घन्टा २४ मिनट ३१ सेकेन्डमा पुरा गरे ।
कान्छिले उक्त दूरी २ घन्टा, ५० मिनट ४१ सेकेन्डमा पुरा गरिन् । भक्तपुरकै सरिता वासीले ३ घन्टा ११ मिनट १४ सेकेन्डमा दूरी पुरा गर्दै रजत र राजपुरा पछाईले ३ घन्टा, २४ मिनट ८ सेकेन्डमा दूरी पुरा गर्दै कास्य पाइन् । विजयी खेलाडीहरुले क्रमश: पहिलोले ५० हजार, दोश्रोले २० हजार र तेश्रोले १५ हजार नगद सहित मेडल प्राप्त गरे ।
प्रोस्पोर्टस प्रालिको आयोजनामा म्याराथन अन्तरगत भएको रोड रेशमा एपिएफका गोपी चन्द्र पार्कीले पहिलो स्थान प्राप्त गरे । उनले १ घन्टा ७ सेकेन्डमा दूरी पुरा गरे । दोश्रो स्थानमा रहेका सेनाका रामजी बस्नेतले १ घन्टा २१ सेकेन्डमा दूरी पुरा गरे ।
एपिएफकै सन्तोष बिक्रम बिष्टले १ घन्टा २२ सेकेन्डका साथ कास्य पाए । महिला तर्फ सेनाकी बिश्वरुपा बुढाले १ घन्टा १० मिनट ५७ सेकेन्डका साथ स्वर्ण पाईन् । एपिएफकी बिन्द्रा धनकेश्वरी श्रेष्ठले १ घन्टा ११ मिनट ३७ सेकेन्डका साथ रजत र एपिएफकै पुष्पा भण्डारीले १ घन्टा १२ मिनट ३५ सेकेन्डका साथ कास्य पाईन् । स्वर्ण, रजत र कास्य पदकधारीले नगद २० हजार, १३ हजार र ७ हजार नगद पाए । यसका साथै उनीहरुले मेडल र प्रमाण पत्र प्राप्त गरे ।
५ किमि खुला दौड तर्फ पुरुमा अजित यादव र महिलाम सन्तोषी श्रेष्ठ पहिलो स्थान हात पार्न सफल भए । अजितले १८ मिनट ११ सेकेन्डमा र सन्तोषीले २० मिनट ३७ सेकेन्डमा दूरी पुरा गरे । पुरुष तर्फ मिलन कार्कीले रजत र जितेन्द्र दनुवारले कास्य पाए । महिला तर्फ सानु माया कार्की र फुलमती रानाले रजत र कास्य पाए । उनीहरुले नगद १० हजार ६ हजार र ४ हजार नगद सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
५ किमिकै छात्र तर्फ १९ मिनट ५१ सेकेन्डका साथ प्रविन कुमार बोहराले स्वर्ण पाए । दोश्रो स्थानमा सागर श्रेष्ठ र तेश्रो स्थानमा नारायण तामाङ्ग रहे । छात्रा तर्फ कर्णाली स्पोर्ट्सकी मञ्जु रावतले २४ मिनट ५५ सेकेन्डका साथ स्वर्ण पाईन् । काजल बिष्टले रजत र विजेश्वरी ज्ञान मन्दिर सैनिक बिद्यालयकी स्वेशा बलामीले कास्य पाईन् । विजयी खेलाडीहरुले ५ हजार, ३ हजार २ हजार नगद सहित मेडल प्रमाण पत्र प्राप्त गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४