नयाँ दिल्ली- रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भारत भ्रमणको क्रममा बिहीबार साँझ नयाँदिल्ली आइपुगेका छन्। उनलाई भारतीय विदेशमन्त्री सुश्मा स्वराजले स्वागत गरेकी छन्।
राष्ट्रपति पुटिनको भ्रमणका क्रममा रुससँग अर्बौं डलरको लडाकू विमान खरिद सम्झौता हुने जनाइएको छ। दुई दिने भ्रमणमा आउनुअघि रुसले जारी गरेको विज्ञप्तिमा रुसी राष्ट्रपति पुटिन र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा करिब ५ अर्ब डलरको अत्याधुनिक एस-४०० हवाई प्रतिरक्षा प्रणाली खरिद सम्झौतामा हस्ताक्षर हुनेछ। रुसी प्रतिरक्षा प्रणाली खरिद गर्ने मुलुकहरु विरुद्ध अमेरिकाले प्रतिबन्धहरु लगाउने घोषणा गरेपनि यो हस्ताक्षर हुन लागेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।
राष्ट्रपति पुटिन १९ औं भारत-रुस द्विपक्षीय वार्षिक सम्मेलनमा सहभागी हुने कार्यक्रम छ। उनले भारतमा रहँदा प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग भेट गर्नेछन्।
रुस भारतको मुख्य सैनिक साझेदार रहिआएको छ, र पछिल्लो सम्झौता मस्कोका लागि निकै महत्वपूर्ण मानिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४