बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • राष्ट्रपति भण्डारीः विवादै-विवादको कार्यकाल, जाँदाजाँदै देश दौडाहा

राष्ट्रपति भण्डारीः विवादै-विवादको कार्यकाल, जाँदाजाँदै देश दौडाहा

सरकारी खर्चमा हुने राष्ट्रपतिको भ्रमणअघि अनेक तयारी गर्नुपर्ने हुन्छ। राष्ट्रपति कार्यालयको सचिवालय सदस्यहरु सुरुमा गएर कार्यक्रमको बारेमा जानकारी लिन्छन्। त्यसपछि सुरक्षा निकायले त्यहाँको गोप्य रिपोर्ट तयार गरेर राष्ट्रपति कार्यालयलाई बुझाउँछ। भ्रमणका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुन्छन्। यो सबै व्यवस्थापन खर्चिलो हुने गरेको छ।
 |  बुधबार, फागुन १०, २०७९

काशीराम बजगाई

काशीराम बजगाई

बुधबार, फागुन १०, २०७९

काठमाडौं- २०७४ साल फागुन २९ गते दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएकी विद्यादेवी भण्डारीको पाँच वर्षे कार्यकाल यही फागुन २९ गतेबाट सकिँदैछ। निर्वाचन आयोगले नयाँ राष्ट्रपति चयनका लागि फागुन २५ गते निर्वाचन र त्यसअघि १३ गते मनोनयन दर्ताको कार्यतालिका सार्वजनिक गरिसकेको छ।

triton college

गत माघ २७ गते राष्ट्रपति भण्डारीले संघीय संसद्‍मा बिदाइ सम्बोधन गरिन्। सम्बोधनका क्रममा उनले विकास, समृद्धि र नागरिकलाई सुखी बनाउनेतर्फ केन्द्रित हुन आह्वान गरिन्। त्यही साँझ उनको सवारीका क्रममा ट्रमा सेन्टरका डाक्टर कुटिएपछि उनको आलोचना भयो।

कार्यकाल अवधिभर सवारीका क्रममा आम नागरिकले सास्ती पाएको भन्दै उनी आलोचित भइरहिन्। जाँदाजाँदैको संसद् सम्बोधनका दिन वीर अस्पताल अगाडि ट्रमा सेन्टरका चिकित्सक जनिथलाल सिंहमाथि कुटपिट भयो। चिकित्सकहरू आन्दोलित नै भए, सडकमा उत्रिएर प्रदर्शन गरे। चिकित्सक संघले अस्पतालमा सेवा नै ठप्प पार्‍यो।

यस विषयमा राष्ट्रपति कार्यालय त केही बोलेन, तर प्रहरी हवल्दार शम्भुजंग गुरुङ भने निलम्बनमा परे। यद्यपि प्रहरीले उक्त प्रकरणमा गुरुङको कमजोरी नभएको भन्दै उनको निलम्बन फुकुवा गरेको छ।

आफ्नो कार्यकालमा २ पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको संसद् विघटन सदर गरेकी भण्डारीले नागरिकता विधेयक २०७९ लाई १५ बुँदे सुझावसहित संसद्‍मा फिर्ता गरेकी थिइन्। संसद्ले पुन: पारित गरेर पठाएपछि उक्त विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेका कारण उनको आलोचना भएको थियो। यद्यपि विधेक पारित नगरेर राम्रो गरेको भन्दै केहीले राष्ट्रपति आलंकारिक मात्रै हुन नहुने धारणा पनि व्यक्त गरेका थिए। राष्ट्रपतिका केही संवैधानिक अधिकार भए पनि उक्त पदको मुख्य दायित्व भनेको कार्यपालिकाको कामलाई प्रमाणित गर्नु हो। आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर उनले कार्यपालिकाका काममा बाधा पुर्‍याएको भन्दै आजसम्म उनको आलोचना हुने गरेको छ।

corrent noodles
Metro Mart


२०७९ मंसिर २४ गते शेरबहादुर देउवा सरकारले २०७२ भदौमा कैलालीको टीकापुरमा थारु आन्दोलनका क्रममा भएको ८ जनाको सामूहिक हत्याको अभियोगमा जेलमा रहेका रेशम चौधरीलाई रिहा गर्ने नियतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ लाई संशोधन गर्न अध्यादेश जारी गरेको थियो। उक्त अध्यादेश राष्ट्रपति भण्डारीले पारित गर्न अस्वीकार गरेकी थिइन्। उनको यो निर्णयको भने आलोचनाभन्दा बढी प्रशंसा भएको थियो। कांग्रेससहित सरकारमा आवद्ध दलका कतिपय नेताहरूले समेत अध्यादेशको विरोध गरेका थिए।

२०७४ सालमा तत्कालीन प्रधानमन्त्री देउवाको सरकारबाट पारित चिकित्सा शिक्षा अध्यादेशलाई उनले बिना कारण लामो समय रोकेकी थिइन्। उक्त अध्यादेश प्रमाणीकरण वा फिर्ताको कुनै जानकारी नभएपछि गोविन्द केसी, ओमप्रकाश शर्मा, अभिषेकराज सिंह लगायतले सूचना हकको निवेदन दर्ता गराएपछि कात्तिक २४ मा उनले दबाबबीच उक्त अध्यादेश पारित गरेकी थिइन्। 

भण्डारीले समग्र देशको नभई एमालेको मात्रै राष्ट्रपतिका रुपमा गतिविधि गरेको आरोप लाग्ने गरेकोमा २०७४ माघ २६ मा तत्कालीन देउवा सरकारले राष्ट्रियसभाका लागि मनोनीत गरेका नाम पनि रोकेर राखेकी थिइन्। देउवा प्रधानमन्त्रीबाट बिदा भई ओली प्रधानमन्त्री बन्ने दिन नजिकिएका कारण एमालेलाई सहयोग पुग्नेगरी ती नाम रोकेको उनीमाथि आरोप छ। हुन पनि ०७४ फागुन ३ गते ओली नेतृत्वको सरकारले पुराना नाम खारेज गरी युवराज खतिवडा, रामनारायण बिडारी र विमला राई पौडेलको नाम सिफारिस गरेकोमा सिफारिसको केही घण्टाभित्रै भण्डारीले त्यसलाई प्रमाणीकरण गरिदिएकी थिइन्।

तत्कालीन संसद्‍बाट २०७४ असोजमा राष्ट्रपति र उपराष्ट्रपतिको पदीय कामकारवाहीमाथि मुद्दा चलाउन नपाइने गरी कानुन बनेको थियो। त्यही महिना उनले उक्त कानुन प्रमाणीकरण गरेकी थिइन्। उक्त घटनामा पनि राजतन्त्रको नयाँ अवतार भन्दै उनको सामाजिक सञ्जालमा आलोचना भएको थियो।

२०७३ माघमा भण्डारी अत्याधुनिक राष्ट्रपति निवासमा सरेकी थिइन्। उनका लागि ६३ करोड लागतमा २० रोपनी जग्गामा फैलिएको बम प्रुफ निवास बनाइएको थियो। राष्ट्रपति भवन हुँदाहुँदै उनका लागि आलिसान छुट्टै भवन बनाइएपछि सरकार र राष्ट्रपति दुवैको आलोचना भएको थियो। 

राष्ट्रपतिको प्रयोगका लागि हेलिप्याडको जग्गा अभाव भएको भन्दै राष्ट्रपति भवनसँग जोडिएको प्रहरी प्रतिष्ठान सार्ने निर्णय सरकारले गरेको थियो। राष्ट्रपति कार्यालयका लागि प्रहरी प्रतिष्ठान सार्न लागेको भन्दै आलोचना भएपछि सरकार उक्त निर्णयबाट पछि हटेको थियो।

२०७३ कात्तिकमा छोरीहरू उषाकिरण र निशाकुशुमसहित सप्तरीको छिन्नमस्ता भगवतीको दर्शन गर्न पुगेकी राष्ट्रपति भण्डारीका आमाछोरीका जुत्ता-चप्पल सेनाका जवानलाई बोकाएपछि उनको चर्को आलोचना भएको थियो।

२०७३ माघ ३ गते भण्डारीले आफ्नी कान्छी छोरी निशाकुशुमको राष्ट्रपति निवासमै राजसी बिहे गराएकी थिइन्। राज्यकोषको चरम दुरुपयोग  गरेको भन्दै यसमा पनि उनी आलोचित बन्नुपरेको थियो।

धार्मिक क्रियाकलापमा पनि जोड दिने भण्डारी धार्मिक स्थलमा पुग्दा पनि आलोचित हुने गरेकी छन्। बाक्लो सुरक्षा घेराबीच उनी धार्मिक स्थलमा पुग्दा आम सर्वसाधारणले दु:ख पाउँछन् नै। गएको शनिबार शिवरात्रिमा पनि त्यस्तै भयो। राष्ट्रपति भएकाले उनी लाइनमा बस्ने कुरा भएन, सरासर मन्दिरभित्र पसेर मन लागेजति समय लिएर पूजाआजा गरिन्।

यस्तो भएपछि घण्टौं लाइन बसेकाहरु आक्रोशित हुने नै भए। अनि पोखियो आक्रोश। एक महिलाले राष्ट्रपति भण्डारीलाई तुच्छ शब्दमा गरेको गाली अहिले सामाजिक सञ्जालमा भाइरल छ। सभ्य भाषामा पनि यस्तो प्रवृत्तिको विरोध विगतदेखि नै हुँदै आएको छ।

दोस्रोपटक राष्ट्रपति नियुक्त भएको भोलिपल्ट भण्डारीले २०७४ फागुन ३० गते बर्खास्तमा परेका प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीसँग सपथ लिएकी थिइन्। उक्त सपथको विरोध त भयो नै, अधिवक्ता नारायण खरेलले सर्वोच्चमा रिट नै दर्ता गराएका थिए। पछि उक्त सपथ सदर भयो।


दसैंमा सर्वसाधारणलाई राजाकै शैलीमा टीकाजमरा लगाइदिने गरेको भनेर पनि राष्ट्रपतिको आलोचना हुने गरेको छ। प्रधान न्यायाधीश गोपाल पराजुलीलाई भुइँमा घुँडा टेकाएर राष्ट्रपति भण्डारीले टीका लगाइदिएको तस्बिर पनि भाइरल भएको थियो। तस्बिरमा पराजुली भुइँमा घुँडा टेकाएर निहुरिएका देखिन्छन् भने राष्ट्रपति सोफामा विराजमान छिन्। 

२०७४ असारमा सरकारले राष्ट्रपतिको सुरक्षाका लागि भनेर एक बुलेटप्रुफ र २ बुलेटप्रुफ जस्तै देखिने विलासी गाडी खरिद गर्‍यो। साढे १४ करोड रुपैयाँ राष्ट्रपतिका लागि गाडी किन्नै निकासा भएपछि उक्त विषयको पनि आलोचना भएको थियो। पछि पुन: राष्ट्रपतिकै सुरक्षाका लागि भनेर थप ८ गाडी खरिदका लागि १८ करोड रुपैयाँ बजेट विनियोजन सरकारले गरेको थियो। उक्त निर्णयको विरोध गर्दै केही युवाले राष्ट्रपतिको गाडी खरिदका लागि पशुपतिनाथमा भीख मागेर सांकेतिक विरोध गरेका थिए। 

जाँदाजाँदै देश दौडाहा

आफ्नो कार्यकाल सकिनै लाग्दा राष्ट्रपति भण्डारी देश दौडाहामा छिन्। उनको देश दौडाहा गत मंसिरदेखि बाक्लिएको हो।


राष्ट्रपति भण्डारीले मंसिर २९ गते विराटनगर महानगरपालिका–१४ स्थित डिग्री क्याम्पसमा सुरु भएको विराट एक्स्पोको उद्घाटन गरिन्। आयोजक उद्योग संगठन मोरङका अनुसार राष्ट्रपतिलाई निम्ता दिएर सो एक्स्पोको उद्घाटन गराइएको हो। 

त्यसको चार दिनअघि उनी आफ्नो जन्मथलो भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटे पुगेकी थिइन्। त्यहाँ उनले श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयको उद्घाटन गरिन्। राष्ट्रपति भण्डारीको पहलमा माइतीघर आम्बोटेको ५५ रोपनी जग्गामा ११ करोड ३९ लाख लगानीमा भवन बनाइएको थियो। उनले आफ्नो माइतीघरको झ्यालमा छोरीहरुलाई दायाँबायाँ राखेर तस्बिर पनि खिचाइन्।

सोही दिन भण्डारी भोजपुरको उत्तरी क्षेत्र साल्पासिलिछो गाउँपालिकाको कुलुङ पुगेकी थिइन्। उनी साल्पासिलिछो गाउँपालिका र षडानन्द नगरपालिकामा हुने विभिन्न कार्यक्रममा सरिक भइन्। उनले त्यहाँ योगमाया न्यौपानेको सालिक अनावरण गरिन्। 

अहिले पनि राष्ट्रपति भ्रमणमै छिन्। मंगलबार मकवानपुरको हेटौंडा पुगेकी राष्ट्रपति भण्डारीले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवनिर्मित भवन उद्घाटन गरिन्। ३ फागुनमा उनी दाङ पुगेकी थिइन्। सेनाको हेलिकप्टरमार्फत दाङ पुगेकी उनले नेपाल संस्कृत विश्वविद्यालयको आयुर्वेद शिक्षण भवन उद्घाटन गरिन्।

बुधबार (१० फागुन)मा राष्ट्रपति भण्डारी बागलुङ जाने कार्यक्रम छ। त्यहाँ उनले कालिका भगवती मन्दिरको दर्शन गर्नेछिन्। 

राष्ट्रपति भ्रमणमा निस्कँदा सरकारी ढुकुटीबाट ठूलो रकम खर्च हुन्छ। खासगरी सुरक्षा व्यवस्थाका लागि राज्यको ठूलो जनशक्ति परिचालन गर्नुपर्छ। राष्ट्रपतिको भ्रमणका क्रममा आम सर्वसाधारणले दुस्ख पाएका कुराहरु पनि आइरहेका हुन्छन्। कतिपय कार्यक्रममा कलिला बालबालिका घण्टौंसम्म स्वागतका  लागि उभिनुपरेका घटना पनि छन्। 

सरकारी खर्चमा हुने राष्ट्रपतिको भ्रमणअघि अनेक तयारी गर्नुपर्ने हुन्छ। राष्ट्रपति कार्यालयको सचिवालय सदस्यहरु सुरुमा गएर कार्यक्रमको बारेमा जानकारी लिन्छन्। त्यसपछि सुरक्षा निकायले त्यहाँको गोप्य रिपोर्ट तयार गरेर राष्ट्रपति कार्यालयलाई बुझाउँछ। भ्रमणका क्रममा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुन्छन्। यो सबै व्यवस्थापन खर्चिलो हुने गरेको छ।

राष्ट्रपति जाँदा नेपाली सेनाको हेलिकोप्टर चार्टर्ड गर्नुपर्ने र त्यहाँ पनि सचिवालयका अधिकारीहरु, आफन्त र सुरक्षाकर्मीहरुको लावालस्कर हुँदा ठूलो रकम राज्यकोषबाट खर्च हुने गरेको छ। कतिपयले यसलाई राज्यकोषको दुरुपयोग पनि भन्ने गरेका छन्।

प्रकाशित: Feb 22, 2023| 09:25 बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...