काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रिगल भनिने योगराज ढकाललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्।
बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले रिगलको बारेमा सरकारले गलत निर्णय गरेको महसुस गरिदिए पुग्ने बताए। उनले राजीनामा परको कुरा भन्र्दै गल्ती महसुस गरिदिए पुग्ने बताए।
'महसुस गरिदिए मात्र पनि हामी सन्तुष्ट हुन्छौँ। राजीनामा धेरै परको कुराकानी भयो,' उनले भने, 'राजीनामा चोक–चोकमा मागेर हिँड्ने कुरा होइन। नैतिक रुपमा सरकारले गरेको निर्णय सर्वोच्चले उल्ट्याएको छ।'
उनले आफूहरुले कैद मिनाहा रोक्नका लागि सडक र सदनमा पनि जोडदार माग गरेको र राष्ट्रपतिलाई समेत गएर भेटेको कुरा स्मरण गरे। उनले सरकारले यस त्रुटिबाट पाठ सिकेर आगामी दिनमा विधिको शासनको महसुस गराउनुपर्ने बताए।
'यसलाई मनन् मात्रै गरिदिए भने पनि त्यो राजीनामाभन्दा ठूलो हुन्छ। दिए त हुन्थ्यो नि,' उनले भने, 'हामीबाट गल्ती भएको रहेछ, आगामी दिनमा यस्ता कुरामा याद गर्नुपर्ने रहेछ, विधिको शासन भन्ने कुरा पनि केही हो भन्ने महसुस गरिदिएछन् भने त्यो राजीनामा बराबर हुनेछ।'