कोशी प्रदेशका सांसद खगेनसिङ हाङगामले नेपाल प्रहरीका डिएसपीलाई ज्यान मार्ने धम्की दिएका छन्। शुक्रबार ताप्लेजुङको फुङलिङमा आयोजित कोण सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका सांसद हाङगामले ताप्लेजुङका प्रहरी प्रमुख र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका हुन्।
प्रदेश सांसदजस्तो व्यक्तिले गैरजिम्मेवार र उत्तेजक अभिव्यक्ति दिएको भन्दै अहिले हाङगामको आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा हाङगामको उक्त भाषणको क्लिप राखेर मानिसहरूले अराजक अभिव्यक्ति दिने हाङगामलाई कांग्रेस नेतृत्वले कारबाही गर्छ कि गर्दैन भनेर प्रश्न सोधिरहेका छन्।
यसैबीच कांग्रेस केन्द्रीय कार्यालयले विज्ञप्ति निकालेर मादक पदार्थ सेवन गरेका प्रहरीले कांग्रेस नेता तथा कार्यकर्ता र सर्वसाधारणलाई कुटपिट र हातपात गरेको उल्लेख गरेको छ। ‘ताप्लेजुङको मेलामा सहभागी पेमा लामा तामाङमाथि प्रहरीले मुक्का प्रहार गर्नुका साथै सेटले हिर्काएको र आँखामा गम्भीर चोट लागेको छ। उहाँको चस्मा फुटेको छ,’ मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
घटनाका बारेमा बुझ्न खोज्दा कोशी प्रदेश सभाका सदस्य खगेन सिङ हाङगामलाई बर्दी र सादा पोशाकमा रहेका प्रहरीले गालीगलौज गर्दै दुर्व्यवहार गर्नुका साथै निवासमा ढुंगामुडा समेत गरेको कांग्रेसले जनाएको छ। ‘प्रहरी प्रशासनले देखाएको अमर्यादित क्रियाकलाप खेदजनक छ। घटनाको छानबिन गरी संलग्न दोषी प्रहरीलाई निलम्बन गर्नुका साथै कडाभन्दा कडा कारबाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
के भनेका थिए सांसद हाङगामले ?
तेरो (डिएसपी) को बर्दी खोल्न पनि हामी तयार छौं। अबको कुनै बेला पनि नेपाली कांग्रेसको नेतृत्वमा सरकार भयो भने कहाँ बस्छस्? के खान्छस्? कस्तो लुगा लाउँछस्? तेरो बा-आमा कहाँ छन्, छोराछोरी कहाँ छ? हामी पत्ता लगाएर मार्छौं, पानीमुनि लुकोस् कि पानीमाथि। खबरदार!
सक्छस् भने यहीँ आइज। म लुगा खोल्न तयार छु, खेल्न आइज। पेस्तोल लिएर आउँछस् कि बर्दी खोलेर? खेल्न सक्छस् भने आइज। तलाई म ३० सेकेन्ड बाँकी राख्दिनँ। याद गर।
तेरो बर्दी खोल। राजनीतिमा आइज, राजनीति र विकासबारे वाकयुद्ध गरौं। होइन भने युद्ध गरौं डिएसपीसँग। अहिले राजनीति तातेका बेला छ। मान्छे मार्न पनि डराउँदैनौं, मृत्युदेखि डराउँदैनौं।