बिहीबार, साउन २९, २०८२

किन अन्टसन्ट बोलिरहन्छन् प्रचण्ड?

तेस्रोपल्ट मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिरहेका प्रचण्ड भारतीय राजदूतकै अगाडि आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपल्ट दिल्ली गएको बताएपछि विवादमा तानिएका छन्।
 |  बुधबार, असार २०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, असार २०, २०८०

vianetvianet

काठमाडौं- जनयुद्ध (२०५२) देखि विस्तृत शान्ति सम्झौता (२०६३) पछि पनि तत्कालीन नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो अभिव्यक्तिका कारण बेलाबेला विवादमा तानिँदै आएका छन्। जनयुद्ध उत्कर्षमा पुगेका बेला (२०६१ मा) भारतसँग लड्न सीमामा सुरुङसमेत खनेर प्रतिरोधको नाटक मञ्चन गरेका प्रचण्ड दिल्लीमै बसेर अधिकांश समय नेपालमा हिंसात्मक गतिविधिलाई मलजल गरेको आरोपमा मुछिए। प्रचण्डमाथि लगाइएको आरोप १२ बुँदे दिल्ली सम्झौताले पुष्टि पनि गरिदियो।

सरकार र माओवादीबीच विस्तृत शान्ति सम्झौता भएको ५ मंसिर २०६३ पछि मात्रै प्रचण्ड नेपाल बसाइँ सरेका हुन्। त्यसअघि उनले दिल्ली, मुम्बई, कोलकाता, पञ्जाबलगायत भारतीय सहरमा डेरा जमाएको पछिल्लो समय आफैंले बताउँदै आएका छन्।

शान्ति सम्झौतालगत्तै माओवादी लडाकु व्यवस्थापनका विषयमा पनि प्रधानमन्त्री प्रचण्डले चलखेल गरेको आफैंले स्वीकारेका छन्। यो कुरा माओवादी लडाकु राखिएका चितवनस्थित शक्तिखोर अडियोमा छर्लंग पारेका छन्। माओवादी लडाकु संख्याबारे २०६४ पुस तेस्रो साता शक्तिखोर शिविरमा प्रचण्डले ‘हामी ७-८ हजारको बीचमा पुगिसकेका थियौं।... हामीले (क्यान्टोन्मेन्ट)मा ३५ हजार लगेर राखिदिएको,... यो हो नि साँचो कुरा। अरुलाई पो हामीले भन्नुहुँदैन भनेको हो कि होइन?' भनेपछि त्यतिबेला निकै विवाद भएको थियो। संयुक्त राष्ट्रसंघको निगरानीमा गरिएको माओवादी लडाकु व्यवस्थापनअन्तर्गत ३२ हजार २५० शिविरमा प्रवेश गराए पनि हतियार भने ३ हजार ४७५ मात्र बुझाएको र बाँकी हतियार खोलाले बगायो भनेर हल्काफुल्का टिप्पणी गरेपछि पनि प्रचण्ड विवादमा तानिएका थिए।

Prachanda-in-pashupatinath-2311686487927.jpg
त्यति मात्रै होइन, प्रचण्डले २०६८/६९ तिर डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएका बेला माओवादीले लुकाएका घातक हतियार विदेशी एजेन्सीलाई बेच्ने प्रस्ताव गरेको खबर बाहिरिएपछि उनीमाथि प्रश्न ओइरिएका थिए। माओवादी लडाकुको भत्तास्वरुप प्रचण्डले करोडौं रुपैयाँ अनियमितता गरेको दाबी बहिर्गमनमा परेका अयोग्य लडाकुले हाकाहाकी अहिले पनि गरिरहन्छन्। यसबारे प्रचण्ड चुँ बोल्दैनन्।

शिविरमा रहेका माओवादी लडाकुको करोडौं रकम अनियमितता गरेको दाबीसहित एमाले निकट संगठनहरूले माओवादी र प्रचण्डविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै छानबिन माग्दै निवेदन चढाएका थिए। माओवादी नेताले एकैपटक बुझेको करोडौं रुपैयाँ चेकको हिसाब–किताब अझैसम्म बाहिर ल्याउन सकेका छैनन्। बरु आरोप लगाउनेलाई प्रतिक्रियावादीको जामा पहिर्‍याउँछन्, प्रचण्ड।

Metro Mart

अन्तर्राष्ट्रिय सन्धि सम्झौताअनुसार १५ वर्षमुनिकालाई युद्धमा झोस्नुलाई युद्ध अपराध मानिने गरेको छ। तर प्रचण्ड सुप्रिमो रहेको नेकपा माओवादीले कथित जनयुद्धमा हजारौं बालबालिका प्रयोग गरेको पुष्टि २०६३ मा शान्ति सम्झौता भएपछि क्यान्टोनमेन्ट (शिविर)मा राखिएका त्यस्ता बालबालिकालाई नेपालका लागि संयुक्त राष्ट्रसंघीय मिसन ‘अनमिन’को सहजीकरणमा भएको सेना समायोजन प्रक्रियाले ‘अयोग्य’ करार गर्दै बहिर्गमन गरिदियो। यो घटनापछि पनि प्रचण्ड विवादमा तानिएका थिए। राष्ट्रसंघ टोलीले गरेको मूल्यांकनअनुसार सरकारसँग शान्ति सम्झौता भएको समय १८ वर्षमुनिका माओवादी लडाकुको संख्या २ हजार ९७३ रहेको अनमिन टोलीले नै बताएको थियो। यसबारेमा पनि प्रचण्ड विवादमा आएका थिए।

तेस्रोपल्ट मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिरहेका प्रचण्ड भारतीय राजदूतकै अगाडि आफूलाई प्रधानमन्त्री बनाउन प्रितम सिंह धेरैपल्ट दिल्ली गएको बताएपछि विवादमा तानिएका छन्।

प्रचण्डको जिब्रो चिप्लिने क्रमले निरन्तरता पाइरह्यो। २०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा सरिक भएका प्रचण्डले त्यतिबेला पनि अन्टसन्ट बोलेका थिए। उनले आफूलाई १७ हजार मान्छे मारेर आएको भनिए पनि त्यो कुरा सत्य नभएको बरु पाँच हजारको जिम्मा लिन तयार भएको बताएर विवादमा तानिएका थिए। उक्त विवादास्पद बोलीलाई आधार बनाएर मान्छे मार्ने घटनामा प्रत्यक्ष संलग्न रहेको दाबी गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरणसहित १४ जनाले प्रचण्डलाई पक्राउ गर्न माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत हालेका थिए। तर उक्त रिटमाथि सर्वोच्चले अन्तरिम आदेश दिएन। प्रचण्डमाथि मान्छे मारेको आरोप लगाएर पक्रिन माग गरिएपछि जनयुद्धमा सँगै लडेका पूर्व माओवादीले संयुक्त रुपमा प्रतिकार गरिने चेतावनीसमेत दिए। त्यतिबेला प्रचण्डलाई साथ दिने माओवादीमा बाबुरामसहित विप्लव, मोहन वैद्य किरण, धमेन्द्र बाँस्तोलालगायत थिए।

प्रधानमन्त्री प्रचण्ड पछिल्लो समय राजनीतिक विवादमा तानिएका छन्। सरकार बनाउन र भत्काउन दक्षिणको छिमेक भारतको आशीर्वाद लिनुपर्ने बहस भइरहेका बेला प्रचण्डले त्यसलाई सतहमा ल्याएर विवाद उब्जाएका छन्।

गत १८ असारमा नेपालमा पहिलोपल्ट उपत्यकामा ट्रक भित्र्याउने र नेपालको सार्वजनिक यातायात सञ्चालनलाई व्यवस्थित गराउन योगदान दिएका प्रितम सिंहबारेको पुस्तक विमोचन कार्यक्रममा पनि  प्रचण्डको जिब्रो चिप्लियो। प्रितमकी छोरी किरण दीप सन्धु लिखित पुस्तक ‘रोड्स टु द भ्याली’ विमोचन कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आफूलाई प्रधानमन्त्री सिंह धेरैचोटि दिल्ली गएको बताएर विवादमा मुछिएका हुन्। प्रचण्डले भनेका छन्, ‘उहाँ (प्रितम) राजनीतिमा पनि रुचि राख्नुहुन्छ। उहाँले एकपटक मलाई प्रधानमन्त्री बनाउन धेरै मिहिनेत गर्नुभयो। धेरैचोटि दिल्ली पनि जानुभयो। काठमाडौंका पार्टी र नेताहरूसँग पनि लगातार छलफल गर्नुभयो। राजनीति सफा भए मात्रै देश पनि विकास हुन्छ भन्ठान्नुहुन्छ।’

roads to the valley1688452603.jpg
प्रचण्डले दिएको यो अभिव्यक्तिले सामाजिक सञ्जालदेखि सदनसम्म तातेको छ। आफूलाई प्रधानमन्त्री बनाउन सिंह धेरैपल्ट दिल्ली गएको विवादित विषय बोलिरहँदा प्रचण्डकै छेउमा भारतीय राजदूत नवीन श्रीवास्तवसमेत थिए। प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिबाट नेपालमा प्रधानमन्त्री बनाउन भारतमा कुराकानी गर्नुपर्ने अर्थ देखिएको रुपमा समेत टिप्पणी भइरहेको छ। केही साताअघि भारत भ्रमण गरेर फर्किएका प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सिंहले धेरै पटक धाएको विषय बाहिर ल्याएपछि सामाजिक सञ्जाल र नागरिक समाजबाट विरोधका स्वर बाहिरिएका छन्।

शान्ति प्रक्रियामा आएपछि तेस्रोपल्ट मुलुकको कार्यकारी प्रमुख बनेका प्रचण्डको विवादास्पद अभिव्यक्तिले राजनीति थप धमिलिन सक्ने देखिँदै छ। प्रधानमन्त्रीको विवादास्पद बोलीप्रति प्रमुख प्रतिपक्षी एमालेले पनि आपत्ति जनाएको छ। एमालेका सांसदले प्रधानमन्त्रीको राजीनामा माग्दै राष्ट्रियसभाको बैठक अवरुद्ध गरेका छन्। एमाले सांसदले बैठक अघि बढाउन नदिएपछि राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद देवेन्द्र दाहाललाई बोल्न समय दिएका थिए।

दाहालले प्रधानमन्त्री प्रचण्डले राजीनामा दिनुपर्ने बताए। 'प्रधानमन्त्रीको अभिव्यक्तिले लज्जित भएका छौं। हाम्रो दलले यसलाई गम्भीर रुपमा लिएको छ, भारतले बनाएको प्रधानमन्त्री ग्राह्य छैन, स्वीकार्य छैन।' प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्ने एमालेको अडान रहेको उनले बताए। 'दिल्लीको इशारामा प्रधानमन्त्री बन्नुभएको हो भने स्वीकार्य छैन। तुरुन्तै राजीनामा दिनुपर्छ। प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक अवरुद्ध गर्छौं।'

त्यसपछि राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका छन्।

rastriya sabha1685864064.jpg
एमालेले अवरोध गर्ने भएपछि प्रतिनिधिसभाको बैठक भने बस्नै सकेको छैन। अपराह्न ३ बजेका लागि डाकिएको बैठक साढे ३ हुँदा पनि सुरु हुन नसकेको हो।

एमाले नेता गगन विष्टले प्रधानमन्त्रीको कुर्सीमा बसेर प्रचण्डले दिएको अभिव्यक्ति निन्दनीय भएको बताए। 'यसले राष्ट्रको सार्वभौमिकतामै असर परेको छ। यसको विरोध गर्न बैठक डाकेका हौं।  प्रधानमन्त्रीको यस्तो टिप्पणी हामीलाई सह्य हुँदैन,’ उनले भने। एमाले संसदीय दलको बैठकले आफूलाई प्रधानमन्त्री बनाउन सरदार सिंहले धेरै पटक दिल्ली भ्रमण गरेको भनी प्रचण्डले दिएको अभिव्यक्ति सार्वभौमिकता र संविधानविपरीत भएको ठहर गर्दै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको नेता विष्टले बताए। ‘प्रधानमन्त्रीको आपत्तिजनक र देशको सार्वभौमिकताविरोधी अभिव्यक्ति क्षमायोग्य नभएकाले राजीनामा माग्ने निर्णय भएको हो’, सांसद विष्टले भने।

प्रचण्डको बचाउ
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रितम सिंहबारे आफूले दिएको अभिव्यक्तिबारे प्रस्टीकरण दिएका छन्। आफूलाई प्रधानमन्त्री बनाउन सिंह दिल्ली पुगेको आशयको अभिव्यक्ति दिएपछि  विवादमा तानिएका प्रचण्डले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्नो अभिव्यक्तिलाई मिलाएर बबन्डर गर्न खोजिएको आरोप लगाए। क्रान्तिकारी स्ववियु काउन्सिल नेपालको तेस्रो राष्ट्रिय भेलामा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले भने, ‘एउटा किताब विमोचन गर्दै गर्दा उनले बोलेको कुरा मैले बोलेको हो। मेरो कुरा होइन। उनी सामाजिक सेवा र यातायातको क्षेत्रमा मात्रै होइन, राजनीतिक क्षेत्रमा पनि चासो राख्छन्। मलाई प्रधानमन्त्री बनाउन कहिले कहाँ पुग्छन्, कहिले दिल्ली, कहिले नेपालका पार्टीसँग लाग्थे। उनका बारे भनेका कुरालाई उचालेर बबन्डर गर्न खोजिएको मात्र हो।’

सत्ता गठबन्धभित्रको मुख्य टेको कांग्रेसले भने प्रचण्डको विवादास्पद अभिव्यक्तिबारे हालसम्म आधिकारिक धारणा सार्वजनिक गरिसकेको छैन।

प्रकाशित: Jul 05, 2023| 15:35 बुधबार, असार २०, २०८०
प्रतिक्रिया दिनुहोस्