काठमाडौं– हरेक वर्ष देखि १४ फेब्रुअरी विश्वभर ७ जन्मजात मुटुरोग सम्बन्धी सचेतना अभियानका रूपमा मनाइन्छ। चिकित्सकले जन्मजात मुटुरोगको कारण प्रस्ट नभए पनि १० प्रतिशत मात्र कारण अनुमान गर्न सकेका छन्।
गर्भावस्थाको पहिलो १ देखि ३ महिनामा हुने इन्फेक्सन, गर्भास्थामा विकिरण ‘एक्स्पोजर’ हुनु, गर्भवतीमा दीर्घरोग वा धूमपान, मध्यपानको सेवन तथा गर्भावस्थामा कडा औषधी प्रयोगजस्ता कारण जन्मजात बच्चामा मुटुको समस्या देखिने सहिद गंगालाल हृदय रोग केन्द्रकी बाल मुटुरोग विशेषज्ञ डा. अंशु शाक्य बताउँछिन्। तर जम्मा १० प्रतिशतको मात्रै कारण पत्ता लाग्नु र अन्य ९० प्रतिशतको पत्ता नलाग्दा उपचारमा चुनौती थपिएको उनको स्वीकारोक्ति छ।
के हो जन्मजात मुटुरोग?
मुटुरोग दुई थरी हुन्छन्। एउटा जन्मिएपछि मुटुमा हुने र अर्को जन्मँदैमा मुटुमा समस्या लिएर जन्मिने। जन्मजात मुटुरोग भन्नाले जन्मँदैमा मुटुमा देखिने समस्या हो। गर्भमा छँदै यो रोग भइसकेको हुन्छ। बाल मुटुरोग विशेषज्ञ डा. उर्मिला शाक्यका अनुसार बालमुटु रोगमध्ये जन्मजात मुटुरोग, मुटुमा प्वाल हुने, चालमा घटबढ, मुटु बाथरोगलगायत पर्छन्।
मुटुका कोठाको बीचका पर्दामा प्वाल पर्ने, रक्त नली ख्ुम्चिने, आंशिक वा पूर्णरुपमले बन्द हुने, राम्रोसँग विकास नहुने लगाएतका समस्या देखिन्छन्।
शाक्य भन्छिन्, ‘जन्मजात मुटुरोग सयमा एक जनालाई हुने सम्भावना हुन्छ। १००० जना जीवित जन्मिने बच्चामध्ये ८ देखि १० जनामा यो रोग हुन सक्छ। तर समय नपुग्दै जन्मिने बच्चामा यो सम्भावना अझ बढी हुन्छ।’ जन्मजात मुटुरोग आमाको गर्भमा मुटुका भल्भको अस्वाभाविक विकास क्रमबाट हुने गर्दछ।
मुटुमा समस्या भएको कसरी थाहा पाउने?
डा. शाक्य भन्छिन्, ‘आमाको गर्भमा हुर्कंदा गर्दा नै बच्चाको मुटुमा समस्या हुन्छ तर जन्मिएपछि समस्या देखिन्छ। जन्मजात मुटुरोग धेरै प्रकारका भए पनि नीलो हुने र नीलो नहुने गरी दुई भागमा वर्गीकरण गरिएको हुन्छ। नीलो हुने रोग जटिल हुन्छ। जटिल प्रकृतिका जन्मजात रोगमध्ये करिब २–३ प्रतिशतको लक्षण जन्मेको एक महिनाभित्रै देखा पर्छ। त्यसमध्ये १ देखि ३ जना नवजात शिशुको समयमै उपचार नभए जन्मेको केही दिनभित्रै मृत्यु हुन सक्छ।
मुटुको साधारण सानो प्वाल, रक्तनली वा भल्भ थोरै मात्रामा खुम्चिएको अवस्थामा केही लक्षण देखिँदैन र धेरै वर्षसम्म पनि रोग पत्ता नलाग्न सक्छ। तर सोही प्रकृतिको ठूलो प्वाल भए जन्मेको केही समयभित्रै समस्या देखिन थाल्ने शाक्य बताउँछिन्। उनका अनुसार अन्य बालबालिकाको तुलनामा जन्मजात मुटुमा समस्या भएका बालबालिकामा फरकपना देखिन्छ। बालबालिकालाई सास फेर्न गाह्रो हुने वा छिटो–छिटो सास फेर्ने, थोरै हिँड्दा पनि थकान हुने, राम्रोसँग दूध चुस्न नसक्ने, रुँदा ओठ वरिपरि नीलो हुने समस्या हुन्छ। यीबाहेक बालबालिकालाई ठूलो भएपछि पनि निमोनिया हुने, उमेरअनुसार तौल नबढ्ने, दैनिक क्रियाकलापमा पनि समस्या देखिने हुन्छ।
जन्मजात नीलो हुने मुटुरोग भए जन्मिँदै नीलो भएर जन्मिने वा जन्मेको केही समयपछि नीलो भएर आउने, रुने बेला वा बल प्रयोग गर्दा नीलोपना झन बढ्ने, सास छिटो–छिटो फेर्ने, बेहोस हुने, हिँड्दा छिटो थाकेर थचक्क बस्नेजस्ता लक्षण देखा पर्ने उनी बताउँछिन्।
किन हुन्छ जन्मजात मुटुरोग?
गंगालाल हृदय केन्द्रमा प्रत्येक वर्ष १० देखि १५ हजार बालबालिका मुटुरोग लिएर ओपीडीमा पुग्छन्। यीमध्ये १००० जना भर्ना भएर उपचार गराउँछन्। भर्ना भएकामध्ये ८० प्रतिशतमा जन्मजात मुटुरोग हुन्छ। अस्पतालकी बाल मुटुरोग विशेषज्ञ डा अंशु शाक्यका अनुसार जन्मजात मुटुरोग लागेकामध्ये १० प्रतिशतमा मात्र कारण पत्ता लाग्ने भएकाले रोग रोकथामको सम्भावना न्यून मात्र हुन्छ।
गर्भावस्थाको पहिलो तीन महिनामा हुने विभिन्न भाइरल इन्फेक्सन जस्तै, रुबेला, गर्भावस्थामा चुरोट तथा मादक पदार्थ सेवन, गर्भावस्थामा मधुमेह, उच्च रक्तचापलगायत समस्याका कारण गर्भमा हुर्र्कंदै गरेको बच्चामा जन्मजात मुटुरोग लाग्न सक्छ।
गर्भावस्थामा अत्यधिक मोटोपन वा पौस्टिक आहारको कमीले पनि यस्तो समस्या देखिने उनी बताउँछिन्। साथै, जन्मजात मुटुरोगमा वंशाणुगत कारण पनि हुन्छन्। उनी भन्छिन्, ‘आमा, बुबा, नजिकका नातेदार जन्मजात मुटुरोगी हुनु, हाडनातामा गरिएको बिहेबाट जन्मने बच्चामा पनि यस्तो समस्या देखिन सक्छ।’
गर्भावस्थामा महिलालाई उच्च रक्तचाप, मधुमेहलगायत अन्य रोगबाट टाढा राख्ने, तनावबाट मुक्त रहने, पहिलो तीन महिनाको गर्भावस्थामा भाइरल इन्फेक्सनबाट बचाउने, गर्भ रहने सक्ने उमेरका महिलाले रुबेला भाइरसविरुद्धको खोप लगाउने, चिकित्सकको सल्लाहबिना जथाभावी औषधी, चुरोट तथा मध्यपान सेवन नगर्ने, विकिरणको प्रभावबाट बच्ने, आयोडिनयुक्त नुन प्रयोग तथा फोलिक एसिड मिश्रित खाना प्रशस्त खानेलगायत उपाय अँगीकार गर्दा यस्ता समस्याबाट बचाउन सकिन्छ।
उपचार
मुटुरोग विशेषज्ञ डा. सुभाषचन्द्र शाह जन्मजात मुटुरोगको उपचार यो विभिन्न लक्षणको आधारमा गर्न सकिने बताउँछन्। जन्मजात मुटुरोग साधारण साना प्वालदेखि अति जटिल प्रकृतिका हुन्छन्। साना प्वाल केही समयमा आफैं टालिन पनि सक्छन्। तर ठूला प्वाललाई विशेष उपचारको आवश्यकता पर्छ। छातीको एक्स–रे, ईसिजी, इकोकार्डियोग्राफी (मुटुको भिडियो एक्स–रे)को परीक्षणद्वारा निश्चित मुटुरोगको निदान गर्न सकिन्छ।
त्यस्तै, गर्भमा हुर्किरहेको भ्रुणमा पनि मुटुरोग छ÷छैन भनी गर्भावस्थाको १८ देखि २४ सातासम्मको अवधिमा मुटुको भिडियो एक्सरे (फेटल इकोकार्डियोग्राफी) को माध्यमद्वारा परीक्षण गर्न सकिन्छ। मुटुमा ठूलो प्वाल भए नियमित औषधी सेवनको माध्यमबाट पनि गर्न सकिन्छ भने इन्टरभेन्सन (अपरेसन नगरीकन क्याठेटरको प्रविधिबाट गर्ने उपचार) वा शल्यचिकित्सा विधि (अपरेसन) द्वारा समयमै उपचार गर्नुपर्ने हुन्छ।
शाह भन्छन्, ‘कुनै–कुनै नीलो हुने खालका अति जटिल प्रकृतिका रोग भने जन्मेको एक महिनाभित्रैमा अपरेसन गर्नुपर्ने हुन्छ, जुन अन्यभन्दा जटिल हुन्छ।’ जटिल प्रकारको अपरेसन वा इन्टरभेसनपछि निरन्तर औषधी सेवन पनि गर्नुका साथै चिकित्सकको सम्पर्कमा बस्नुपर्ने हुन्छ। शाह रोकथामका लागि आमाको स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण भएको र गर्भास्थामै मुटुको भिडियो एक्सरे गरेर त्यसको समस्या भए/नभएको थाहा पाउनुपर्ने सुझाउँछन्।
स–साना बच्चालाई पनि मुटुरोग हुन्छ भन्ने थाहा नभएका कारण यो रोगको पहिचानबिनै बालबालिकाको मृत्यु भइरहेको उनी बताउँछन्। अझै ग्रामीण क्षेत्रमा यसबारे ज्ञान अभाव रहेको उनी ठान्छन्। उनी भन्छन्, ‘नेपालको विकट क्षेत्रमा बालरोग विशेषज्ञ अभाव भएकाले पनि जन्मजात मुटुरोगबारे पर्याप्त ज्ञान नहुँदा अभिभावकलाई जानकार छैनन्।’