शुक्रबार, फागुन २९, २०८२

नगर अस्पताल स्वास्थ्य सहायकको भरमा

एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन्।
 |  बुधबार, फागुन ३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, फागुन ३, २०७९

पर्वत- कुस्मा नगरपालिका–१२, ठूली पोखरीस्थित नगर अस्पताल तथा प्राथमिक स्वास्थ्य केन्द्र चिकित्सकविहीन बनेको छ। एक एमबीबीएस चिकित्सकसहित दस जनाको दरबन्दी रहेको उक्त अस्पताल विगत चार वर्षदेखि स्वास्थ्य सहायकले निमित्त भइ चलाउँदै आएका छन्।

National life

दरबन्दीमा रहेका चिकित्सक अध्ययन बिदामा गएपछि हालसम्म अन्य चिकित्सक आएका छैनन्। डा विवेक भण्डारी २०७५ सालमा अध्ययन बिदामा गएपछि केन्द्रमा दरबन्दीको कुनै पनि चिकित्सक पठाइएन। सुविधासम्पन्न भौतिक पूर्वाधार र एम्बुलेन्ससहित आधुनिक उपकरण भए पनि दरबन्दीका चिकित्सक नै नआएपछि सेवाग्राही मारमा परेका छन्। 

अस्पतालका निमित्त प्रमुख सागर नेपालीले भने, 'दरबन्दीका चिकित्सक नै जिल्लामा नभएर होला, भएको भए त आउनुपर्ने हो।' नागरिकलाई सर्वसुलभ स्वास्थ्य सेवा दिन ग्रामीण क्षेत्रमा खोलिएको आधारभूत अस्पताल दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नहुँदा सर्वसाधारण सामान्य बिरामी हुँदासमेत पोखरा वा काठमाडौँ जानुपर्ने बाध्यता छ।

देश सङ्घीय संरचनामा गएपछि दरबन्दीका चिकित्सक आउन छाडेका र स्थानीय तह तथा प्रदेश सरकारले व्यवस्थापन नगरेका कारण समस्या भएको उनको भनाइ छ। केही समय एमबीबीएस सकेपछि अनिवार्य सेवा गर्नुपर्ने भएकाले एक÷दुई चिकित्सक आए पनि उनीहरूको समेत सेवा सकिएकाले  निमित्तको भरमा उक्त केन्द्र सञ्तनलन हुँदै आएको हो। अहिले स्वास्थ्य केन्द्रमा करार सेवाका एक स्वास्थ्य सहायक, एक ल्याब असिस्टेन्ट, एक स्टाफ नर्स, तीन अनमी र स्थायी तीन अहेब छन्। 

उक्त नगरपालिकाका साथै मोदी गाउँपालिका, फलेवास नगरपालिका र स्याङ्जाको आँधीखोला गाउँपालिकाका बिरामीसमेत आउने अस्पतालमा पर्याप्त स्वास्थ्यकर्मी नहुँदा समस्या भएको वडाध्यक्ष झलकप्रसाद रिमालले बताउनुभयो। अस्पतालमा  चिकित्सक मात्रै नभएर अन्य उपकरणसमेत पर्याप्त छैनन्। एक्सरे मेसिन बिग्रिएको दुई वर्षभन्दा बढी भइसकेको अस्पतालका सिनियर अहेब पठी धामीले बताए। 

Laxmi sunrise bank
kumari

'सामान्य उपचारका लागि आवश्यक पर्ने एक्सरे विग्रिएको दुई वर्ष भयो। सम्बन्धित निकायमा पटक–पटक भन्दासमेत सुनुवाइ हुँदैन', उनले भने, 'अस्पतालमा अहिले गर्भवतीका लागि मात्रै प्रयोग हुने भिडियो एक्सरे चालु अवस्थामा रहेपनि तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा गर्भवतीले समेत नियमित सेवा पाउन सकेका छैनन्। एक स्टाफ नर्सले तालिम लिएर आए पनि अध्ययन बिदामा जाँदा उक्त मेसिन चलाउने जनशक्ति केन्द्रमा छैनन्।'

उक्त नगरपालिकाले समेत अस्पतालको उपचार सेवालाई प्रभावकारी बनाउन तथा चिकित्सक माग गर्ने विषयमा कुनै चासो दिएको छैन।

 जनप्रतिनिधिले प्रदेश तथा सङ्घीय सरकारअन्तर्गतको सम्बन्धित मन्त्रालयसँग छलफल भएको जिकिर गरे पनि अहिलेसम्म कुनै पहल नभएको सरोकारवालाको गुनासो थियो। नगरप्रमुख रामचन्द्र जोशीले नगर अस्पतालमा दरबन्दीअनुसारको चिकित्सक ल्याउन आवश्यक पहल गरिरहेको र केही समयमै नियुक्त गरिने बताए।

प्रकाशित: Feb 15, 2023| 20:30 बुधबार, फागुन ३, २०७९
प्रतिक्रिया दिनुहोस्