आइतबार, साउन ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आँखा नभएर के भो र ? यस्तो छ बिक्रमको कीर्तिमानी यात्रा

आँखा नभएर के भो र ? यस्तो छ बिक्रमको कीर्तिमानी यात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- मानिसले जिन्दगीमा एक पटक ‘ब्यांक फोल्ड’ जीवनको अनुभव लिनुपर्छ। जसले जीवनका हरेका क्षणमा जिउन सहज गराउँछ र जीवनको वास्तविक अर्थ सिकाउँछ। अनि दुनियाँ रंगिन हुनुको मतलव बुझाउँछ। तर, प्यारालिम्पिक खेलाडी बिक्रमबहादुर रानाले आफ्नो जीवनमा दुई पटक ‘ब्यांक फोल्ड’ जिन्दगी जिए। 

नेपालको कुल जनसंख्याको करिब १० प्रतिशत अर्थात् लगभग ३० लाख मानिस कुनै न कुनै प्रकारको अपांगताबाट प्रभावित छन्। उनीहरूमध्येका धेरैजसोले हिँडडुल गर्न अरूको सहायता लिनुपर्छ। तीमध्येका एक हुन्, प्यारालिम्पिक खेलाडी राना। उनी हिँडडुल गर्न अर्काको सहारा लिन्छन्। तर, देशलाई खेलकुदबाट चिनाउन ठूलो योगदान दिएका छन्। 

यति मात्र होइन, उनले अपांगता भएका व्यक्तिले पनि सपांगसरह गर्न सक्छन् भन्ने दरिलो पाठ सिकाएका छन्। उनी पारा खेललाई नेपालमा भित्र्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेमध्येका एक हुन्। 

उनले नेत्रहीन क्रिकेट र पारा एथलेटिक्सबाट नेपाललाई विश्वसामु चिनाए। दुवै आँखा गुमाएका बिक्रमले नेपाल मात्र होइन, प्यारालिम्पिकमा दक्षिण एसियालाई नै चिनाएका थिए। सन् २०१२ मा लन्डनमा आयोजित प्यारालिम्पिक खेलको एक सय र दुई सय मिटरको दौडमा रेकर्ड राखेका थिए। त्यस्तो रेकर्ड राख्ने उनी दक्षिण एसियाकै पहिलो खेलाडी हुन्। 

एक सय मिटर दौडमा १२.८१ सेकेन्ड खर्चिंदै प्यारालिम्पिकमा दक्षिण एसियाकै सबैभन्दा छिटो दौडने खेलाडी बने उनी। त्यसैगरी लन्डन प्यारालिम्पिकको दुई सय मिटर दौडमा पनि दक्षिण एसियाबाट उनी नै पहिलो खेलाडी बने। दुई सय मिटर दौड २६.९५ सेकेन्डमा पार गरेका थिए। उनले यसअघि नै सन् २०१० मा चीनको गोन्जाउमा आयोजित पारा एसियन एथ्लेटिक्स खेलमा दक्षिण एसियाबाट कीर्तिमान राखिसकेका थिए। एसियन गेम्समा उनले एक सय मिटरको दौड १२.८५ सेकेन्डमा पूरा गरेका थिए भने दुई सय मिटरको दौडका लागि २७.३१ सेकेन्ड खर्चेका थिए।

नेत्रहीन क्रिकेट र पारा एथलेटिक्सबाट नेपाललाई विश्वसामु चिनाए, बिक्रमबहादुर रानाले । दुवै आँखा गुमाएका उनले नेपाल मात्र होइन, प्यारालिम्पिकमा दक्षिण एसियालाई नै चिनाएका थिए ।



दक्षिण एसियामा पारा एथलेटिक्सतर्फ अहिलेसम्म उनको कीर्तिमान कसैले भंग गर्न सकेको छैन। नेत्रहीन क्रिकेटका बी–वानतर्फ सर्वाधिक रन जोड्ने उनी पहिलो खेलाडी हुन्। उनले एउटा प्रतियोगितामा एक सय २६ रन बटुलेका थिए। 

जागिरे जीवन र आँखा गुमाउनुको पीडा

बैतडीको डिलासैनी गाउँपालिका–३ मा जन्मिएका ३९ वर्षीय राना १९ वर्षको उमेरमा काठमाडौं आएका थिए। गाउँमै कक्षा–१० सम्मको अध्ययन पूरा गरेपछि उनी कामको खोजीमा काठमाडौं भित्रिएका थिए। बुढा मावलीका दाइहरू र आफन्तहरूसँग कामको खोजीमा काठमाडौं पसेका उनको आर्थिक अवस्था कमजोर थियो। 

कक्षा–५ पढ्दै गर्दा उनले बाबु गुमाउनु पर्यो। काठमाडौं आएर बानेश्वरस्थित एक सुपर मार्केटमा एक वर्ष काम गरे। सोही क्रममा उनी रत्नराज्य क्याम्पसमा प्ल–टु का लागि भर्ना भए। तर, उनले आर्थिक अभावका कारण काम गर्नुपर्ने भएकाले क्याम्पस नियमित हुन नसक्दा अध्ययन छोडे। 

२६ कात्तिक ०५६ मा सुनसरी पुगेर उनी नेपाली सेनामा भर्ति भए। तीन महिना सेनाको विकास निर्माण महानिर्देशनालयमा काजमा खटिए। त्यस क्रममा सल्यानको मुसिकोट हुँदै बांगेलाकुरीसम्मको सडक खन्ने काम गरे। तीन महिनाको काज सकिएर उनी पोखराको तत्कालीन नम्बर ३ वाहिनी अड्डा विजयपुर ब्यारेकमा १२ महिने तालिमका लागि पुगे। त्यो सकेर पुनः गोरखाको तत्कालीन गरुणदल गुल्ममा तीन महिने युनिट बेसिक तालिमका लागि पुगे। उक्त परिचयात्मक कार्यक्रममा उनले आफ्नो परिचय दिँदा सेनाभित्रकै कार्यक्रमहरूमा एकदेखि १० माइलसम्मका दौडमा उत्कृष्ट बन्ने सुनाएपछि उक्त गणका सेनानी मधुकर धामीले ‘किङ्स ब्यानर’तिर राख्नुपर्ने बताएका थिए। 

 गोरखाको केही समयको बसाइपछि माथिल्लो तहबाट विशेष तालिमका लागि सूचना आयो। नेपाली सेनाको सबैभन्दा गाह्रो अनि प्रायजसोले बीचमै छाड्ने गरेको उक्त प्रशिक्षण लिने साहस जुटाए र तालिमका लागि तयार भए। १६ महिने तालिममा उनले ११ महिना बिताइसकेका थिए। विडम्बना भनौं वा भाग्य उनी ११ औं महिनामा विशेष तालिमबाट फर्किनुपर्यो। उक्त तालिममा उनको दायाँ हातको माझी औंलामा चोट लागेपछि विशेष तालिमबाट फर्किनुपरेको थियो। 

पुनः फर्केर युनिटमा एक वर्ष बिताएपछि फेरि विशेष तालिमका लागि उनी तयार भए। यसपटक उनले तालिम पूरा गरेरै छाडे। त्यसपछि बढुवा भएर हवल्दार बने। त्यतिबेला देश सशस्त्र विद्रोहको चपेटामा थियो। दिनरात नभनी देशको सुरक्षामा खटिएका उनको जीवनमा ०६० सालमा बज्रपात पर्यो। तत्कालीन माओवादी र नेपाली सेनाबीच चलिरहेको युद्ध ०६२÷६३ को परिवर्तनसँगै युद्धविराममा टुंगियो। बिक्रमको जीवनमा भने ०६० सालदेखि नै नयाँ युद्ध शुरु भयो। 

 २६ भदौ ०६० मा काठमाडौं र नुवाकोटको सिमाना गुर्जे भञ्ज्याङ चेक पोइन्टमा खटिएका थिए। ब्यारेकबाट पौने घण्टा लाग्ने अस्थायी पोस्टमा दिउँसो  १५ जना खटिएका थिए। राति खाली रहने भएकाले तत्कालीन माओवादीले बिछ्याएको एम्बुसमा परी १५ मध्ये दुर्इ जनाको मृत्यु भयो। र, बिक्रमले आँखा गुमाउन पुगे। यसअघि लिएको विशेष तालिमका कारण ज्यान जोगाउन सके तर शरीरको अर्को अभिन्न अंग गुमेको पत्तै पाएनन्। 

त्यो क्षण, जहाँ उनले आफ्ना दुई साथी र एक आँखा कहिल्यै नफर्किने गरी गुमाए। त्यसपछि उनको जीवन अर्को मोडतिर मोडियो। घटना भएको डेढ घण्टापछि उनलाई अस्पताल पुर्‍याइयो। अस्पतालमा केही दिनको उपचारपछि चिकित्सकले एउटा आँखा बचाउन सक्ने बताएका थिए। उनी खुशी भए। उनी बेहोशी थिए। तर, चिकित्सकसँग आफ्नो एउटै भएको आँखा पनि बचाइदिन आग्रह गरिरहेका थिए। दुई दिन एउटै आँखाले भए पनि देख्न र धेरैजसोलाई चिन्न सक्थे। तेस्रो दिनदेखि नजिकको बस्तु अलिअलि गर्दा सबैथोक देख्न छोडे। 

किनकि, उनको त्यो आँखाबाट रगत बगिरहन्थ्यो र त्यसको एक सातापछि उनले आफ्नो रहेको एक आँखा पनि गुमाउनुप¥यो। एक महिनाको अस्पताल बसाइपछि उनी घर फर्के। १० वर्ष आर्मी क्वाटरमा बसे। त्यसपछि उनी सहयोगीसँग क्वाटर क्याम्प आउनेजाने गर्दै दिन बिताउन थाले। हाल उनी नेपाली सेनाको सहायक सेनानी पदमा छन्। 

बिक्रमको खेल यात्रा

क्वाटर क्याम्प आउनेजाने क्रममा एक दिन बाटोमा नेत्रहीन संघ लेखिएको गाडी नजिक पुगे। उनका सहयोगीले उक्त गाडीमा लेखेको पढेर सुनाएका थिए। उनलाई उक्त विषयमा चासो लागेपछि सहयोगीलाई बुझ्न पठाए। नेत्रहीनहरूको हकहितका लागि काम गर्ने भनेपछि उनी क्याम्प जान छोडेर बाटोबाटै फर्किए र नेपाल नेत्रहीन संघको कार्यालयमा पुगे। कार्यालय प्रमुखसँग सबै कुरा भइसकेपछि त्यहाँ ६ महिने कम्प्युटर, मुभिलिटी तालिम र ब्रेल लिपी सिक्न थाले। 

संघका तत्कालीन अध्यक्ष नरबहादुर लिम्बु नेत्रहीनकै कार्यक्रममा पाकिस्तान पुगे। त्यहाँ लिम्बुको पाकिस्तान ब्लाइन्ड संघ क्रिकेटका अध्यक्ष आघा सौकात अलीसँग भेट भयो। अलीले नेपालमा पनि ब्लाइन्ड संघ क्रिकेट स्थापना गर्ने बताए। त्यसको केही महिनापछि अली नेपाल आए र नेत्रहीन क्रिकेटको शुरुवात गराए। त्यसैले उनी संघका संस्थापक सदस्य पनि हुन्। नेपालमा २२ साउन ०६३ मा नेपाल नेत्रहीन क्रिकेट संघको स्थापना भयो। 

त्यसपछि बिक्रमले ०६३, ०६४, ०६५ र ०६६ मा आयोजना भएको राष्ट्रिय प्रतियोगिता खेले। जहाँ उनी लगातार चार पटक उत्कृष्ट खेलाडी भए। पछि आर्थिक अभावले गर्दा वार्षिक रूपमा प्रतियोगिता आयोजना हुन सकेन। बुटवल र पोखरामा आयोजना भएको क्षेत्रीय प्रतियोगितामा म्यान अफ दी सिरिज भए। सोही क्रममा उनले सन् २००८ मा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाए। 

नेपालले पाकिस्तानसँग नौ वटा मैत्रीपूर्ण खेल खेलेको थियो। उक्त प्रतियोगितामा पनि बिक्रम म्यान अफ दी म्याच र म्यान अफ दी सिरिज भए। त्यस प्रतियोगितामा उनले ४० ओभरको खेलमा एक सय २६ रन बटुलेका थिए। यो नै नेपालका लागि बी–वानतर्फ सर्वाधिक रन हो। सन् २०१२ मा भारतमा आयोजना भएको पहिलो टी–२० वर्ल्डकप खेले। उक्त खेलमा उनले ६० रन र एक विकेटसमेत लिए। सन् २०१६ मा भारतमै भएको दोस्रो टी–२० वर्ल्डकप खेले। उनले पछिल्लो पटक सन् २०१८ मा पाकिस्तान र युएर्इमा आयोजना भएको वल्र्डकप खेल्दै क्रिकेटबाट संन्यास लिए। उनले उक्त वल्र्डकपमा अस्ट्रेलियाविरुद्ध एक विकेट लिँदै संन्यासको घोषणा गरेका थिए। 

उनी क्रिकेटमा मात्र सीमित रहेनन्, आफ्नो क्षमता अन्य खेलमा पनि देखाए। सन्  २००८ मै उनले चीनको बेइजिङ ओलम्पिकका लागि छनोट चरण पार गरे। तर, उनी उक्त प्रतियोगितामा सहभागी हुन पाएनन्। उनी छनोटमा पहिलो व्यक्ति हुँदाहुँदै पनि नेपाल प्यारालिम्पिक कमिटीले उनको स्थानमा स्वर्गीय जितबहादुर खड्कालाई पठाएको थियो। ०६५ सालमा राष्ट्रिय प्यारालिम्पिक कमिटी नेपालले अन्तर्राष्ट्रिय दृष्टीविहीन दिवसको अवसरमा आयोजित तीन किलोमिटर दौडमा प्रथम भएका थिए। 

उनी नेपालमा पनि अन्तर्राष्ट्रिय तरिकाबाट पारा एथ्लेटिक्सको प्रशिक्षण हुनुपर्छ भन्ने पहिलो व्यक्ति पनि हुन्। उनले बेइजिङ ओलम्पिकका लागि छनोट खेल्दा यसबारे चासो राख्दै आफ्ना सहयोगीबाट युट्युबमार्फत् पारा एथ्लेटिक्समा नयाँ आयाम ल्याए। सम्भवतः उनी पारा एथ्लेटिक्समा नयाँ विचार र प्रशिक्षणको तरिका भित्र्याउने पहिलो व्यक्ति पनि हुन्। 

२०६६ सालमा आयोजित राष्ट्रिय प्रतियोगितामा प्रथम भए। सन् २०१० मा उनले पहिलोपटक अन्तर्राष्ट्रिय पारा एथलेटिक्समा सहभागिता जनाउने अवसर पाए। सन् २०१० मा गोन्जाउमा आयोजित एसियन पारा एथ्लेटिक्समा उनलाई संघले सहयोग नगरेपछि आफ्नै पैसा खर्चेर उनी गोन्जाउ पुगेका थिए। जहाँ उनी दक्षिण एसियाकै सबैभन्दा छिटो दौडने व्यक्ति भए। 

त्यसपछि उनले सन् २०१२ मा लन्डन प्यारालिम्पिक, सन् २०१४ को कोरियामा भएको एसियन गेम, सन् २०१६ मा ब्राजिल प्यारालिम्पिकमा सहभागिता जनाइसकेका छन्। हालै मात्र नेपाल प्यारालिम्पिक कमिटीले आयोजना गरेको राष्ट्रिय खेलमा प्रथम भएका थिए। उनी हाल अक्टोबर २०१८ मा इन्डोनेसियामा हुने प्रतियोगिताको तयारीमा छन्। उक्त प्रतियोगितामा उनले दुई सय र १५ सय मिटर दौडमा सहभागिता जनाउनेछन्। 

उनी ०६७ र ०६९ मा नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्दै आएको स्पोर्टस अवार्डबाट सम्मानित भएका थिए। उनी ०७० र ०७१ मा जनसेवाश्री पाँचौं र स्वीकृती पदकबाट सम्मानित भएका थिए। ०७३ मा खेलकुद मन्त्रालयबाट वर्षको उत्कृष्ट खेलाडी सम्मान तथा प्रधानसेनापति मेडल कप, २०७४ बाट सम्मानित भएका छन्। 

थुप्रै अन्य सम्मानबाट सम्मानित भएका बिक्रमलाई भने नेपाल खेलकुद परिषद्बाट कुनै सुविधा उपलब्ध गराइएको छैन। यतिसम्मकि परिषद्ले ओलम्पिक खेलाडीहरूलाई मासिक भत्ताको व्यवस्था गर्दा उनलाई भने कुनै सेवासुविधा दिइएको छैन। 

पश्चिमा मुलुकमा यस्ता फरक क्षमता भएका मानिसका लागि सरकारले अनेक सुविधा र सहयोग उपलब्ध गराइन्छ। नेपालमा त्यस्तो सहयोग प्रायः न्यून छ। अपांगता भएकाहरूका लागि सहयोग गर्न भनेर देशभरि एक हजारभन्दा बढी संस्था दर्ता भएका छन्। मुख्यतः दाताहरूको सहयोगमा सञ्चालित यस्ता संस्थाहरू सहयोग बन्द भएपछि स्वतः बन्द हुने गर्छन्। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।