काठमाडौं– अमेरिकी मूलकी रोज बेट्टीना स्वाइट्ज शिक्षकका साथै रंगकर्मी पनि हुन्। उलेन्स स्कुलमा अंग्रेजी पढाउनुका साथै उनी रंगमञ्चमा पनि सक्रिय छन्। प्रायः काठमाडौंका थिएटर घरमा भेटिइरहने रोज वान वल्र्ड थिएटरसँग जोडिएकी छन्।
परम्परागत सांस्कृतिक पक्षको खोज अनुसन्धान गर्दै आएकी रोज आठ वर्षअघि लमजुङको नाल्मा गाउँ पुगेकी थिइन्। त्यहाँ पुगेपछि उनले काठमाडौंमा देखेको दृष्य र नाल्मा गाउँमा देखेको दृष्यमा निकै फरक पाइन्। त्यो दृष्य थियो–घाटु परम्परा अर्थात् घाटु नाच।
‘पहिलो पटक जब घाटु नाच देखेकै बेला गर्नुपर्ने काम यो पो रहेछ भन्ने लागेको थियो। घाटु नाच गर्दाको समय र त्यसको प्रस्तूतिले मलाई निकै छोएको थियो। उठाउनैपर्ने विषयवस्तु घाटुको कथा हो भन्ने लागेपछि नाटकका लागि खोज अनुसन्धान बढाएँ’, उनले सुरुआती अनुभव सुनाइन्।
आठ वर्ष अगाडि देखेको घाटु नाचलाई नाटकमा काम गर्ने सोच आए पनि अन्य काम र कोरोनाका कारण पछाडि सर्यो। जब सहलेशसँग उनको सहकार्य भयो, अनि घाटु नाच र समकालीन कथालाई जोडेर नाटक गर्ने योजनाअनुसार सन् २०१९ बाट काम सुरु गरे। ‘परम्परागत संस्कृतिमा काम गर्ने सोच बनाएपछि घाटुले नै मलाई तान्यो’, उनले भनिन्।
घाटुको कथा मात्रै नभएर आजको समाजको कथालाई पनि ‘क्याच’ गर्नु थियो, नाटकमा। रोजलाई यो कठिन थियो। तर गहिरोसँग मनमा बसेको नाल्माको घाटु परम्पराले उनलाई हौसाइरह्यो।
‘घाटु संस्कृति र वर्तमानको कथालाई एकसाथ भन्न मन थियो। आजको कथासँग घाटुको परम्परागत कथा जोड्नु मन भएरै ‘देउराली डाँडी, घाटुको अन्तिम अध्याय’ जन्मिएको हो’, उनले भनिन्।
पहिलो नृत्य, घटु, एक प्राचीन राजा परशुराम र रानी यम्बवतीको कथा बताउने पाँच दिनसम्म चल्ने गुरुङ सांस्कृतिक अभ्यास हो। धेरै÷थोरै गुरुङ समाजले अझै पनि यो जटिल र मन्त्रमुग्ध नृत्य प्रदर्शन गर्छ। यद्यपि यो सामुदायिक मनोरञ्जनको एक महत्त्वपूर्ण रूप र तिनका देवतालाई सम्मान गर्ने वार्षिक प्रक्रिया हो।
सेतो रंग र प्रकाशमा देखाइएको देउराली डाँडीको स्वरूप निकै सुन्दर लाग्छ। प्रकृतिका सुन्दर छटा खोला, बतास महसुस गराउन प्रयोग गरिएको प्रत्यक्ष संगीतका धुन, महामारीको विकराल अवस्थालाई बुझाउन प्रयुक्त उराठ धुन र प्रकाशका रङको संयोजन प्रिय छ। रंगमञ्चसँगै सिने क्षेत्रमा समेत भिजेका कलाकारको अभिनय उत्तिकै उम्दा लाग्छ।
दोस्रो नाच, मणि रिम्डु, एक तिब्बती–शेर्पा मुखौटे नृत्य हो। यो वार्षिक पन्ध्र दिने मणि रिम्डु अनुष्ठानको अन्त्यमा हुन्छ, जुन बौद्ध धर्मको सुरुआत र विश्व कल्याणका लागि मनाइन्छ। यो पर्व तिब्बतको रोङपुक गुम्बाबाट ल्याइएको थियो तर अहिले सगरमाथा आधार शिविर जाने बाटोमा रहेको टेङ्बोचे गुम्बामा मात्रै चल्ने गरेको छ।
उनी घाटुको कथासँग आजको कथा जोड्न हौसिइन्। त्यो कथा हो, मजदुरीका लागि पलायन हुनुपर्ने अवस्था। उनी भन्छिन्, ‘घाटुको नृत्यमा महिलाको भावना र संवेदना वियोग भेटिन्छ भने त्यसैगरी आजको श्रमिक लेबर माइग्रेसनका कारण महिलाहरू निकै विचलित छन्। यी दुवै कथालाई एकै ठाउँ जोड्ने कोसिस गरेको छु।’
यो नाटकले नेपालका युवाहरू श्रमका लागि बसाइँसराइ समस्यालाई महिलाको नजरबाट सम्बोधन गरेको छ। यसले घाटु नाचको गुरुङ र मगर अभ्यासलाई पनि समावेश गर्दछ। नाटक नेपाली भाषामा छ भने अंग्रेजीमा सब्टाइटल।
रोज लुकेको यी दुई क्षेत्रको मौलिकता र संघर्षलाई नाटकमार्फत दर्शकसम्म पुग्ने प्रयास गरेकी छन्।
घाटुको जमानामा राजाहरू युद्धमा जान्थे, मारिन्थे। तिनको वियोगमा महिलाहरू आफ्नो उजाड गाउँलाई सुन्दर बनाउने हरदम कोसिस गर्थे। त्यही परिस्थिति आजको युवा पुस्तामा पनि छ। कामको खोजीमा खाडी जान्छन्। अनेक सपना बोकेर पुगेका युवा रातो बाकसमा भरिएर आउँछन्। समकालीन थिएटरले भनिरहेको कथा र रोजले उठाएको घाटुको कथाको समय मात्रै फरक हो, परिस्थिति र भावना उही हो।
नाटकमा गरिबीले थिचिएको एउटा गाउँको परिवेशमा महामारीले भित्र्याएको पीडादायी अवस्था देख्न सकिन्छ।
गाउँ आफ्नै रफ्तारमा चलिरहेको छ। उकाली, ओराली र देउरालीमा सुखदुःखले गाउँलाई चलाउने जिम्मेवारी महिलाले नै वहन गरिरहेका छन्। पुरुष जति परदेशमा पसिना बगाइरहेका छन्। कोही श्रीमानलाई पर्खिरहेका छन्, कोही छोरालाई। कथा, व्यथा उस्तै लाग्ने यो ठ्याक्कै सबै नेपालीको साझा समस्याजस्तो देखिए पनि प्रस्तुत परिवेश भने नाटक ‘देउराली डाँडी’को हो। रोज भन्छिन्, ‘देउराली डाँडी ‘द लास्ट च्याप्टर अफ घाटु महिला’को कथा हो। महामारीको कथा हो। पौराणिक तर यथार्थको नजिक रहेको नाटक हो।’
जहाँ पुरुषविहीन गाउँमा महिलाहरू नै हरेक कार्यको अग्रपंक्तिमा उभिएका छन्। महामारीले निर्जन र शून्य बनाएको गाउँमा पुनः त्यही महामारी दोहोरिएपछि त्यसबाट उम्किन तिनै महिलाले देखाएको साहस र भोलिका लागि उनीहरूले राखेको आशा नाटकमा देख्न सकिन्छ। उनीहरूले गरेको संघर्षसँगै अन्तिम चरणमा घाटु नाचको कथा, देवीहरूको शक्तिमा गाउँको पुरानो जीवनशैली र अस्तित्वलाई रक्षा गरेको मूल सार नै नाटकको कथा हो।
अमेरिकीमूलकी रोज नेपालकी बुहारी हुन्। सुदूरपश्चिम घर भएका रंगकर्मी सुरज मल्लसँग घरबार गरेकी रोज भन्छिन्, ‘यो फोंक कल्चरलाई वर्तमानका कथासँग जोडेकी छु। यसले हिजो र आजको समय दुवैलाई प्रतिनिधित्व गर्दछ।’
उनका अनुसार देउराली डाँडी शास्त्रीय होइन। फेन्टासी पनि होइन। यो मौलिक परम्परागत मानिँदै आएको धरती देवता आस्था र विश्वासको कथा हो। धैर्य र संघर्षको कथा हो।
रोज आफूले ब्लग पनि लेख्छिन्। घाटु र समकालीन नाटकका कथामाथि उनले लेखहरू पनि लेखेकी छन्। दैनिक दुई घन्टा लेख्छिन्, रोज। घाटको खोज र अनुसुन्धानमूलक लेख प्रकाशन गर्ने तयारीमा छन्। नयाँ प्रोजेक्टलाई पनि उनी लेखनमार्फत ल्याउन सक्थिन् तर नाटकमार्फत नै ल्याउन मन लाग्यो। उनी भन्छिन्, ‘मैले जानेको नाटक हो। निर्देशन हो। मेरो मनमा लागेको कुरा नाटकबाट भन्न सक्छु भन्ने लागेपछि काम गरेकी हुँ।’
जहाँ पुरुषविहीन गाउँमा महिला नै हरेक कार्यको अग्रपंक्तिमा उभिएका छन्। महामारीले निर्जन र शून्य बनाएको गाउँमा पुनः त्यही महामारी दोहोरिएपछि त्यसबाट उम्किन तिनै महिलाले देखाएको साहस र भोलिका लागि उनीहरूले राखेको आशा नाटकमा देख्न सकिन्छ।
घाटु नाच आजका पुस्ताले भिडियोमा देखे पनि प्रत्यक्ष कमैले देखेका छन्। त्यसको मिथक कथा अझ कतिलाई थाहा छैन। रोजका अनुसार त्यस्ता कथालाई समकालीन कथासँग जोडेर भन्न सके दर्शकले चाखका साथ हेर्ने र सुन्ने छन् भन्ने लाग्छ। रोज भन्छिन्, ‘देउराली डाँडी हेर्दा आँखालाई आनन्द दिनेछ भने मनलाई खोज्न र बुझ्न लालायित गर्नेछ।’
६ जना महिलामार्फत उनले देउराली डाँडीको कथा बुझाउन खोजेकी छन्। नाटकमा ६ जना महिला पात्र एकै समय फरक–फरक संघर्ष गर्छन्।
महिलाले भोग्दै आएको महामारीलाई नाटकले सांस्कृतिक पाटो जोड्दै निकै विम्बात्मक रूपमा बुझाउने प्रयास गरेको छ। बालुवा मुख्य विम्बका रूपमा प्रयुक्त गरिएको छ। गाउँको महामारीका कारण सारा पुरुष परदेश गएका हुन्छन्। माइली हुँदै क्रमशः गाउँका अन्य महिला खोक्दा मुखबाट बालुवा निस्कन्छ। अन्त्यमा महिलाको शरीर, लुगा जताजतै बालुवा नै बालुवा छरिन्छन्। अनि सुरु हुन्छ, गाउँमा महिलाको संघर्ष र साहसको कथा। यसले रोजगारीका निम्ति विदेशिन बाध्य लाखौं नेपाली र शून्य बन्दै गएका गाउँबस्तीलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरेको छ।
त्यसैमा देखिएको घाटु नाचको दृश्य, राजा पश्रामु, रानी यम्बावतीको कथा प्रसंगले ‘देउराली डाँडी गाउँ’ ले गुरुङ समुदायसँगै सिंगो मुलुकलाई इंगित गर्दछ। युद्धमा राजाको मृत्यु हुनु र रानी सती गएको प्रसंगसमेत नाटकले उठान गरेको छ। गुरुङ समुदायमा प्रचलित घाटु नाच, पश्रामु र यम्बावतीको मिथकलाई जोडेर समकालीन समयलाई सान्दर्भिक रूपमा सशक्त विम्बमा उतार्नु नै नाटकको सबल पक्ष मान्न सकिन्छ। घाटु नाचको प्रचलित कथाअनुसार राजा मरेपछि काखे छोरालाई च्यापेर सती जान बाध्य भएकी रानीको पीडालाई भन्दा पनि महामारीग्रस्त गाउँको पीडालाई नाटकले मूल विषयमा केन्द्रित गरेको छ।
सबै महिला पात्र, त्यसमा रानी यम्बावतीलाई समेत जोडेर नाटकमा महिलाको शक्तिलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ। घाटु नाचअनुसारको पहिरन र नृत्यले दर्शकलाई त्यही सांस्कृतिक परिवेशतिर पुर्याउँछ। घाटु नाचको किंवदन्तीअनुसार राजा पश्रामु लमजुङका गुरुङ समुदायका राजा भए पनि रानी यम्बावती टाढा सिकार खेल्न जाँदा भेटिएकी मधेसकी थिइन्। नाटकमा रानीकी भूमिकामा देखिएकी कलाकार सरस्वती चौधरीलाई थारु समुदायकै भेषभूषामा निकै सुन्दर रूपमा प्रस्तुत गरिएको छ। नाचका बेला पहिरिने धानको लावा र फूलजस्तै देखिने मुकुट पात्रहरूले शिरमा लगाएका छन्। यसलाई सुन्दर रूपमा प्रयोग गरिएको छ। सेतो रंग र प्रकाशमा देखाइएको देउराली डाँडीको स्वरूप निकै सुन्दर लाग्छ। प्रकृतिका सुन्दर छटा खोला, बतास महसुस गराउन प्रयोग गरिएको प्रत्यक्ष संगीतका धुन, महामारीको विकराल अवस्थालाई बुझाउन प्रयुक्त उराठ धुन र प्रकाशका रङको संयोजन प्रिय छ। रंगमञ्चसँगै सिने क्षेत्रमा समेत भिजेका कलाकारको अभिनय उत्तिकै उम्दा लाग्छ।
गाउँमा तारा (पशुपति राई), सुनिता (दिया मास्के), सिरु (मेनुका प्रधान), माइली (रञ्जना भट्टराई), फुल्सरा (विनिता थापा मगर) र घाटु कथाकी रहस्यमयी प्राचीन थारु रानी यम्बावती (सरस्वती चौधरी) भूमिकामा नाटक केन्द्रित हुँदै अगाडि बढ्छ।
महिला पात्रलाई मात्रै राखेर नाटक गर्दा उनले खासै चुनौती देखिनन्। तर आफूले बुझेको र देखेको कथालाई सही तरिकाले भन्न सक्छु कि सक्दिनँ भन्नेमा चुनौती थियो।
‘जुन मैले नाल्मामा देखेको दृष्य थियो, त्यो उतार्न सक्दिनँ कि भन्ने डर थियो। आफूले अनुभूत गरेको दृष्यभाव कलाकारलाई बुझाउन सक्दिनँ कि भन्ने चुनौती थियो’, उनले भनिन्।
घाटु भिडियोमा हेर्नु र नाल्मामै गएर हेर्नुमा फरक हुने बताउँछिन्, उनी। भन्छिन्, ‘दुवै कथाको आफ्नै मौलिकता छ। जस्तै, भाषा, प्रतीक, मिथ, सिम्बोल। यी सबैलाई जोड्न गहिरो अनुभूति जरुरी थियो। त्यो अनुभूति बुझाउन सकिन्न कि भन्न थियो तर सकियो।’
रोजलाई महिला पात्रसँग मात्रै काम गर्न पनि सहज भयो। हुन त, रोजले यसअघि थ्री सिस्टर, र ब्रिफ क्यान्डलमा पनि आफ्नो निर्देशन क्षमता देखाइसकेकी छन्। दर्शक प्रतिक्रिया सकारात्मक पाइरहेकी रोज आगामी दिनमा पनि यस्तै सांस्कृतिक र मिथक कथामा काम गर्ने योजना सुनाउँछिन्। उनी भन्छिन्, ‘संस्कृति तथा मिथमा काम गर्न जोखिम भए पनि काम गरिसकेपछि पाइने प्रतिक्रियाले निकै सुखदानुभूति दिन्छ।’
नाटकमा विम्बात्मक र प्रतीकात्मक भएकाले पनि दर्शकलाई द्विविधा हुन्छ। तर आजको नाटकमा प्रयोग भित्रिएको छ। नेपाली रंगमञ्चमा भित्रिएको प्रयोगलाई कोरोनाले केही पछाडि सारिदिएको बुझाइ छ, उनको।
‘नेपाली रंगमञ्चमा अन्तर्राष्ट्रिय स्तरको प्रयोग हुँदै थियो। कोरोनापछि त्यो प्रयोग गर्न डराइरहेका छन्। सायद विस्तारै त्यसले लय समाउनेछ’, उनले भनिन्।
रोज नाटक निर्देशनसँगै नेपाली नाटकका बारे गहिरो चासो राख्छिन्। भन्छिन्, ‘नेपाली नाटकको प्लेमा भएको प्रयोग र एक्टिङमा पनि धेरै फरक आएको छ, जुन सुखद कुरा हो।’
‘काठमाडौंका कलाकारको सानो समूहसँगको रिहर्सल कोठामा रचनात्मक, व्यावहारिक अनुसन्धानको माध्यमबाट घाटु र मणि रिम्डुबाट प्रेरणा लिने मौलिक रंगमञ्च विकास गर्ने आशा गर्छु’, रोजले भनिन्।
नेपाली बुहारी रोज घाटु परम्परालाई देउराली डाँडीमार्फत देखाउन खोजिरहेकी छन्। त्यसैले दर्शकले नाटक हेर्दा सुन्दर, दृष्यमा आनन्द र पात्रमा पाइने विविधता सम्झिन सक्छन्। भन्छिन्, ‘देउराली डाँडी नाल्माको घाटु परम्पराको संयोजन हो।’
देउरालि डाँडीमा सुनिताको भूमिका निर्वाह गर्ने दिया मास्के लामो समयपछि अभिनयमा फर्किएकी हुन्। रंगकर्मी अनुप बरालको निर्देशनमा मात्रै नाटक खेल्ने आरोप लागिरहेका बेला दियाले रोजका नाटकमा अभिनय गरिन्। उनी भन्छिन्, ‘अनुप सरको निर्देशनमा मात्रै काम गर्छे भन्ने यो आरोप अब हटाइयो। विभिन्न फिल्म र निर्देशनमा व्यस्त भएका कारण अभिनयमा फर्किन ढिलो भयो।’
सुनिता बिन्दास पात्रको भूमिकामा छन्।
त्यसैगरी सरस्वती चौधरी पनि लामो समयपछि अभिनयमा फर्किएकी छन्। देउराली डाँडीको मुुख्य पात्र हुन्, चौधरी ‘घाटु नाच। महिलाको संघर्ष र आजको युवा रातो बाकसमा फर्किनुपरेको अवस्थासमेत नाटकमा हेर्न सकिन्छ’, उनले भनिन्, ‘आफूलाई रानी यम्बावतीलाई आफूभित्र राख्न गाह्रो भएको थियो। भन्छिन्, ‘लामो समयपछि आएको भएर पनि पात्रमा आफूलाई ढाल्न गाह्रो भएको थियो।’
एक्टर्स स्टुडियो र वान वल्र्ड थिएटरको सहकार्यमा फुल ब्राइट नेपाल यूएसईएफको सहयोगमा प्रस्तुत नाटक १५ माघसम्म मञ्चन हुनेछ।