शनिबार, वैशाख ८, २०८१

पूर्ण खोप घोषित जिल्लामै दादुरा प्रकोप ! खोप लगाउन जाँदा अभिभावकले नै लुकाउँछन् बालबालिका

दुई वर्षअघि ८१ प्रतिशत बालबालिका खोपको दायरा आएको दाबीसहित बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिए पनि त्यसपछि खोप लगाउने अभियानमा हेलचेक्र्याइँ गरिँदा दादुरा प्रकोप फैलिएको पुष्टि भएको छ।
 |  मंगलबार, माघ १०, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, माघ १०, २०७९

काठमाडौं– दुई वर्षअघि बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरियो। राष्ट्रिय खोप अभियानअन्तर्गत ६ चैत २०७७ मा जिल्लालाई पूर्ण खोपयुक्त घोषणा गरिएका थियो। बाँकेमा ८१ प्रतिशत बालबालिका खोपको दायरामा आएको स्वास्थ्यकर्मीको दाबी थियो। तर त्यसको दुई वर्ष पूरा नहुँदै बाँकेमा दादुरा फैलिएको छ। दादुरा पुष्टि भएकामध्ये खोप नलगाएका बालबालिका धेरै रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। 

triton college

दुई वर्षपहिला बाँकेलाई पूर्ण खोप जिल्ला भनिए पनि त्यसपछि खोप लगाउने कार्यलाई प्राथमिकता नदिइँदा दादुरा प्रकोप फैलिएको छ। दादुराविरुद्धको खोप शिशु जन्मिएको नौ महिनादेखि १५ महिनासम्ममा दुई मात्रा लगाउनुपर्ने हुन्छ। तर हाल दादुरा पुष्टि भएका कतिपयले खोप नलगाएको र धेरैजसोले पूर्ण खोप लगाएका छैनन्। 

हालसम्म बाँकेका ५ वटा स्थानीय तहमा दादुरा फैलिएको छ। नेपालगञ्ज उपमहानगर, खजुरा, नरैनापुर, डडुवा गाउँपालिका र कोहलपुर नगरपालिकामा दादुरा संक्रमण पुष्टि भएको छ। ९ माघ साँझसम्म यी स्थानीय तहमा २८६ जनामा दादुरा संक्रमण भएको छ भने एक जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ। बाँकेमा दादुरा देखिएका ९० प्रतिशतले पूर्ण मात्रा खोप नलगाएको पाइएको कार्यालयले बताएको छ। 

हालसम्म बाँकेमा २९ वटा खोप केन्द्रबाट दादुराविरुद्धको खोप दिइँदै आएको छ। स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठका अनुसार बालबालिकालाई ८० हजार बढी डोज खोप लगाइएको छ। अब ७ हजार हाराहारी खोप लगाउन बाँकी छ। 

किन फैलियो दादुरा? 
दुई वर्षअघि पूर्णखोप घोषणा गरिए पनि बाँकेमा दादुरा संक्रमण तीव्र फैलिन थालेपछि निवारणको लक्ष्य चुनौतीपूर्ण बनेको छ। सरकारले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्ने लक्ष्य लिएको थियो। तर रोग संक्रमण दर बढ्न थालेपछि उन्मूलनको लक्ष्य सन् २०२३ मा सारिएको हो। स्वास्थ्य कार्यालय बाँके प्रमुख सुनिता पौडेलका अनुसार दादुरा किन फैलियो भन्ने विषयमा अध्ययन भइरहेको छ। रिपोर्ट नआई अहिले नै ठ्याक्कै कारण भन्न सकिँदैन। तर प्रारम्भिक अनुसन्धान अनुसार बालबालिकाले खोप नपाउनु र खोप लगाए पनि पूर्ण खोप नलगाउनुले संक्रमण तीव्र रुपमा फैलिएको हो। 

corrent noodles
Metro Mart

उनका अनुसार धेरैजसो संक्रमण मुस्लिम र मधेसी समुदायका बालबालिकामा देखिएको छ। उनीहरूमा व्याप्त खोपप्रतिको नकारात्मक धारणाले गर्दा यो समस्या आएको हो। स्वास्थ्यकर्मी तथा स्थानीय सरकारले पनि खोपप्रतिको जनचेतना जनतामाझ पुर्याउन नसक्दा समस्या आएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘अभिभावकमा जनचेतना यति कम छ कि घरमै खोप लिएर जाँदा पनि बालबालिका लुकाउँछन्।’ हाल दादुरा फैलिएपछि भने स्थानीयमा खोप लगाउनुपर्ने रहेछ भन्ने चेतना बढेको उनी बताउँछिन्। 

प्रमुख पौडेलका अनुसार नेपालगञ्जमा शतप्रतिशत लक्षितलाई खोप लगाइसकिएको छ। ‘छुटेकालाई खोप लगाउने योजना छ, अन्य दादुरा देखिएका स्थानीय तहमा पनि खोप लगाइरहेका छौं’, पौडेलले भनिन्, ‘नियन्त्रण अभियानसँगै अध्ययन अनुसन्धानको काम पनि भइरहेको छ। नियन्त्रणपछि अध्ययन रिपोर्ट सार्वजनिक गरिनेछ।’

दुई वर्षअघि ८१ प्रतिशत बालबालिका खोपको दायरा आएको दाबीसहित बाँकेलाई पूर्ण खोप जिल्ला घोषणा गरिए पनि त्यसपछि खोप लगाउने अभियानमा हेलचेक्र्याइँ गरिँदा दादुरा प्रकोप फैलिएको पुष्टि भएको छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०२२ अनुसार  १२ देखि २३ महिना उमेर समूहका ४ प्रतिशत बालबालिकाले खोप पाएका छैनन्। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख डा. बाबुराम मरासिनीका अनुसार खोप कार्यक्रम प्रभावकारी नहुँदा दादुरा उन्मूलनमा चुनौती थपिएको छ। बाँकेलाई हतार गरेर पूर्ण खोप जिल्ला घोषित गर्नु नै सरकारको कमजोरी भएको उनी बताउँछन्। 

उनी भन्छन्, ‘सरकारले दादुरा उन्मूलन गर्ने लक्ष्य लिएका बेला यसरी दादुरा फैलिनु लाजमर्दो कुरा हो। पूर्ण खोप जिल्ला भनिए पनि खोप प्रभावकारी भएन। पूर्ण खोप घोषणा गरेपछि खोप लगाउन जानेको संख्या कम भए। त्यसैको परिणाम हो, यो।’

स्वास्थ्य कार्यालय बाँकेले दादुरा फैलिएको वडामा दादुराविरुद्धको खोप र भिटामिन ‘ए’को क्याप्सुल खुवाउने तथा नियन्त्रण अभियान सञ्चालन गरिरहेको छ। 

दादुरा प्रकोप फैलिएपछि १० दिन विद्यालय बन्द गरेर खोप अभियानलाई सञ्चालन भइरहेको छ। दादुरा कोरोनाभन्दा पनि छिटो फैलिने सरुवा रोग हो। एक दादुरा संक्रमितले झन्डै १८ जनालाई सार्न सक्ने भएकाले यसलाई निकै तीव्र गतिमा फैलिने सरुवा रोग मानिने शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्। सामान्यतया दादुरा ५ वर्षमुनिका बालबालिकामा धेरै लाग्छ भने छिट्टै महामारीको रुप लिन सक्ने र समयमै उपचार नपाए मृत्युसमेत हुने पुनको धारणा छ। उनका अनुसार दादुरा जुनसुकै उमेर समूहमा देखिन सक्ने भए पनि ५ वर्षमुनिका बालबालिकालाई बढी असर गर्छ। 

दादुरा भए मानिसलाई ७ देखि १४ दिनसम्म लक्षण देखिन्छन्। पुनका अनुसार दादुरा भएका व्यक्तिमा ज्वरो आउने, जिउ दुख्ने, खोकी लाग्ने, आँखा रसाएजस्तो रातो हुनेलगायत लक्षण देखिन्छन्। 

बाँकेमा एक्कासि फैलिएको दादुरा संक्रमण र नियन्त्रण अवस्थाको अध्ययन तथा रोकथाम र नियन्त्रणको पहलका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीको नेतृत्वमा स्वास्थ्य मन्त्रालयको उच्च अधिकारी सम्मिलित टोली प्रभावित क्षेत्र पुगेको छ। त्यहाँ पुगेपछि  मन्त्री गिरीले दादुरा नियन्त्रणका लागि सरकारले गर्नुपर्ने काममा कुनै कसर बाँकी नराखिने बताएका थिए। अनुगमनमा पुगेर आएपछि स्वास्थ्यमन्त्री गिरीले त्यहाँको दादुरा नियन्त्रणमा आउन अझै एक महिना लाग्ने जनाएका छन्। नियन्त्रणका लागि काम भइरहे पनि अझै पूर्ण रुपमा नियन्त्रणमा आउन एक महिना लाग्ने उनको भनाइ छ।

प्रकाशित: Jan 24, 2023| 18:41 मंगलबार, माघ १०, २०७९
प्रतिक्रिया दिनुहोस्