काठमाडौं- १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्याको घटना छानविन गर्न गठित समितिले अभियुक्त खोज्न कतै भौंतारिनु नपर्ने सुझाव सरकारलाई दिएको खुलेको छ ।
११ साउन अर्थात् ठीक दुई महिनाअघि कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ मा पन्तको बलात्कारपछि हत्या भएको थियो । घटनालाई नियोजित बनाउँदै अभियुक्तलाई उम्काउन स्वयं स्थानीय प्रहरीले गरेको षडयन्त्र रचेको र राज्य संयन्त्रलाई नै अलमल पार्नेखाले गतिविधि गरेकाले स्थानीय प्रहरीभित्रैबाट अनुसन्धान थाल्न समितिले बुझाएको प्रतिवेदनमा सुझाइएको स्रोतको भनाइ छ ।
स्रोतका अनुसार आफ्नै बिना खोज्न कस्तुरी भौंतारिएजस्तै अपराधी खोज्न राज्य संयन्त्र नै भौंतारिइरहेको उल्लेख गर्दै स्थानीय प्रहरी र त्यसको नेतृत्वको तत्कालीन गतिविधिमाथि सुक्ष्म अनुसन्धान थाल्नुपर्ने समितिको प्रतिवेदनको मर्म छ ।
समितिले गरेको अनुसन्धानमा निर्मला पन्तको हत्या उखुबारीमा भएको नभई हत्यापछि उखुबारीमा फ्याँकिएको खुलेको छ । १० असारमा हराएकी निर्मला भोलिपल्ट स्थानीय उखुबारीमा मृत अवस्थामा फेला परेकी थिइन् ।
हत्याको प्रमाण लुकाउने र नष्ट पार्ने काम स्थानीय प्रहरी र जिल्ला प्रहरीका तत्कालीन एसपी डिल्लीराज बिष्टले गरेकाले अनुसन्धान उनीहरूमा केन्द्रित गरिए दोषी छिट्टै पत्ता लाग्ने सुझाव समितिले दिएको छ ।
होटेलले दिएन सीसीटीभी फुटेज
निर्मला हत्या अनुसन्धानको शुरुवातमै प्रहरीको कृत्य शुरु भएको पाइएको प्रतिवेदनमा खुलाइएको छ । ११ साउनमा निर्मलाको शव फेला परेसँगै प्रहरीको पहिलो कदम मुचुल्का उठाउने थियो । भारतमा रहेका उनका बाबुको प्रहरी मुचुुल्कामा औंठा छाप लगाइएको छ । जबकि, उनका बाबु यज्ञराज भोलिपल्ट अर्थात् १२ साउनमा मात्र कञ्चनपुर आइपुगेका थिए ।
निर्मलाले प्रयोग गरेको कपडा र गुप्तांग पखाल्ने प्रहरीको काम पनि प्रमाण नष्ट गर्ने उद्देश्यका साथ भएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ ।
कुनै घटना हुँदा प्रहरीको पहिलो कर्तव्य सप्रमाण मुचुल्का उठाउने र घटनास्थललाई सुरक्षित राख्दै प्रमाण संकलन गर्नु हो । तर, प्रारम्भिक अनुसन्धानमै कीर्ते गर्ने र घटनाका प्रमाण नष्ट गर्ने काम प्रहरीबाटै भएकाले प्रतिवेदनमा स्थानीय प्रहरीकै बदनियत देखिएको ठहर गरिएको छ । र, प्रहरीका ती गतिविधिमाथि गहिरो अनुसन्धान गर्न सुझाव दिइएको छ ।
निर्मला १० साउनमा भीमदत्त–१८ स्थित साथी रोशनी भन्ने आँचल बमको घरमा पढ्न भनी गएपछि हराएकी थिइन् । जागिरको सिलसिलामा बाबु–आमा दुवै दार्चुलामा बस्ने भएकाले महेन्द्रनगरको घरमा दुई दिदीबहिनी रोशनी र बबिता मात्र बस्दै आएका छन् ।
महेन्द्रनगरका मेयर सुरेन्द्र बिष्टका भतिजा आयुष र एसपी बिष्टका छोरा किरण दुवैसँग रोशनी र बबिताको पहिलेदेखि नै चिनजान रहेको खुलेको प्रतिवेदनमा उल्लेख छ । १० असारमा आफ्नो जन्मदिन मनाउन आयुषले रोशनी र बबितालाई स्थानीय ओपेरा होटलमा बोलाएको र एसपीका छोरा र निर्मला पन्त पनि सोही पार्टीमा रहेको हुनसक्ने अनुसन्धान समितिले अनुमान गरेको छ ।
समितिले स्थानीय ओपेरा होटेलको अभिलेख र सीसीटीभी फुटेज मागे पनि होटेल व्यवस्थापनले प्राविधिक कारण देखाउँदै त्यतिबेलाको भिडियो फुटेज उपलब्ध गराएको छैन । तर, समितिले होटेलका अन्य सबै अभिलेख बरामद गरी अनुसन्धान गरेको छ ।
उक्त घटना छानविनका लागि गृह मन्त्रालयले कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको थियो । समितिमा नेपाल प्रहरीका डीआईजी रामप्रसाद श्रेष्ठ, सशस्त्र प्रहरीका डीआईजी वसन्त बानियाँ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र प्रदेश–७ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव वीरेन्द्र केसी सदस्य छन् ।
आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको बताउँदै उपसचिव केसीले समितिबाट राजिनामा दिएको घोषणा गरेपछि घटना थप रहस्यमय बनेको थियो । अनुसन्धानका क्रममा महेन्द्रनगरमा केसीलाई मोटरसाइकलमा आएका एक व्यक्तिले घटनाको सही अनुसन्धान गरिए ट्रकले ठक्कर दिएर हत्या गर्ने धम्की दिएका थिए ।
तत्काल काठमाडौं आएका केसीले पत्रकार सम्मेलन गर्दै समिति सदस्यबाट राजिनामा दिएको घोषणा गरेका थिए । पछि गृहमन्त्री र गृह सचिवसँग भेटेपछि उनी पुनः छानविनका काममा फर्केका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४