धनगढी- प्रदेश ७ को स्थायी राजधानी र नामाकरण कति हचुवाका भरमा गरिएको अर्को तथ्य फेला परेको छ।
राजधानी र नामाकरणको विषयमा सबैसँग छलफल नै नगरेर समितिले सिमित व्यक्तिको सल्लाहमा प्रतिवेदन तयार पारेको आरोप खेपिरहेका बेला समितिले अर्को गल्ति गरेको भेटिएको छ।
प्रदेशको राजधानी र नाम बारे सुझाव दिन गठित समितिले प्रतिवेदनमा राजधानीका लागि तोकिएको स्थानको वडा नम्बर नै फरक परेको छ। प्रदेश सभा सदस्य तारालामा तमाङ नेतृत्वको समितिले गोदावरी नगरपालिका-४ तेघरीलाई स्थायी राजधानीका लागि प्रस्ताव गरेको थियो। प्रतिवेदनमा उल्लेख गरिएको क्षेत्रको चार किल्ला भने सोही नगरपालिकाको वडा नम्बर २ मा रहेको खुलेको हो।
समितिले प्रतिवेदनमा तेघरीस्थित नेपाली सेनाको व्यारेकदेखि उत्तरपश्चिम, गोदावरी-डडेल्धुरा सडकदेखि पश्चिम, गोदावरी खोलादेखि पूर्व र अत्तरिया बजारदेखि दक्षिणतिरको चारकिल्ला भएको क्षेत्र उपयुक्त रहेको उल्लेख छ। गोदावरी नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णराज जोशीले उक्त क्षेत्र वडा नम्बर २ मा पर्ने बताए। समितिले प्रदेशको स्थायी राजधानी वडा नम्बर ४ मा हुने भने पनि प्रतिवेदनमा उल्लेख गरिएको चार किल्ला क्षेत्र भने वडा नम्बर २ मा पर्ने उनले जानकारी दिए।
वडा नम्बर ४ का अध्यक्ष प्रेमबहादुर भण्डारीले भने आफू अहिलेसम्म आफ्नै वडामा राजधानी हुनेमा ढुक्क भए पनि पत्रकारले सोधेपछि मात्र राजधानी हुने क्षेत्र वडा नम्बर २ मा पर्ने भन्ने बुझेको बताए। यसअघि समिति कसैले पनि आफूलाई सो क्षेत्रको बारेमा कुनै सोधपुछ नगरेको भन्दै उनले यस बारेमा आफू बुझ्ने जानकारी दिए। क्षेत्र जुन वडामा परे पनि वडा नम्बर ४ भनेर खुलाईएकाले राजधानी आफ्नै वडामा हुनुपर्ने उनको तर्क छ।
विशेष सुझाव समितिका संयोजक तामाङले भने तेघरी क्षेत्र कति नम्बरमा पर्छ भनेर सोध्दा वडा नम्बर ४ मा नै पर्ने भनेपछि सोही वडा तोकिएको बताए। चार किल्लासमेत तोकिएकाले उक्त क्षेत्र जुन वडामा पर्छ त्यसैमा राजधानी हुने उनले स्पष्ट पारे। प्रदेशको नाम र राजधानी नै उपयुक्त ठाउँमा राख्न प्रस्ताव नगरेको भन्दै तिव्र आलोचना खेपिरहेको सुभाव समिति त्यसैमा स्थान नै फरक परेपछि थप आलोचित बनेको छ।
समितिले सिफारिस गरेको क्षेत्रको र वडा नै फरक परेपछि सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ। जुन क्षेत्रमा राजधानी प्रस्तावित गरिएको हो त्यो क्षेत्रका स्थानीय जनप्रतिनिधिलाई पनि सोधपुछ नगरेको समितिले अन्य सरोकारवालासँग कत्तिको राय सल्लाह मागेको होला ? भन्दै सामाजिक संजालमा समितिप्रति प्रश्न उठाउन थालिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४