काठमाडौं- नेकपा सांसद माधव कुमार नेपालले मुलुकमा श्रृंखलाबद्धरुपमा अपराधका घटना भइरहँदा पनि सरकारको उपस्थिति कमजोर र निरिह देखिएको बताएका छन्।
बिहीबारको संसदमा बोल्दै नेता नेपालले प्रश्न गरे, 'दिनैपिच्छे बलात्कार र हत्याका घटना भइरहेका छन्। गृहप्रशासन निरिह देखिन्छ। गृहमन्त्री कहाँ छन् र सरकार कहाँ छ ?'
'कोही अपराधी गिरफ्तार परेका छन कि अहिलेसम्म? कोहीमाथि मुद्धा चलेको छ कि? भन्दै नेपालले प्रश्न गरे। उनले सरकारबाट जनताको ठुलो अपेक्षा भएकोले मान्छे भाषण भन्दा पनि काम र परिणाम हेर्न चाहाएको बताए।
अहिले सरकार, मन्त्री र सबै कार्यकारी निकायका प्रमुखहरुको राज्यका विभिन्न निकायका भ्रष्ट स्वरुपहरुको उदांगो स्वरुप देखिएको समेत नेपालले बताए। उनले भने, 'विभिन्न फैसलाहरुमा पनि ठूला ठूला भ्रष्टाचारीहरु नै जिल्लाबाट पुनरावेदन र पुनरावेदनबाट सर्वोच्च अदालत आउने सिलसिल हुँदो रहेछ। हिजो अधिकृतबाट उपसचिव, सहसचिव हुँदै सचिव भएको व्यक्ति दुनियाँले भ्रष्टाचारी भनेको व्यक्ति पुरस्कृत भएको हामीले देखिरहँदा यसलाई कसरी रोक्ने।'
बाटामा हिंड्दा र बसमा यात्रा गर्दा कानै थुनेर हिड्ने स्थिति सिर्जना भइसकेको बताउँदै नेता नेपालले भने, ' जनताले के भन्छन? प्रतिवाद गर्नको लागि मात्र होइन। जवाफ दिनको लागि तयार हुनुपर्छ। कहाँ रह्यो त्रुटि खोजौं। कहाँ छन् समस्या र त्यसलाई पत्ता लगाएर समाधान गर्ने? राम्रो काम गर्नुस नेकपा, संसद र सिंगो नेपालीले सहयोग गर्नेछन्।'
'अहिले राष्ट्रियतामाथि प्रश्न उठेको छ। भौगोलिक अखण्डता माथि खुलेआम चुनौति दिएका छन्। गृहमन्त्रीज्यू कहाँ हुनुहुन्छ? थाहा छैन। उहाँलाई जानकारी हुन्छ कि हुँदैन। खुलेआम नेपाललाई टु्क्र्याउने घोषणा हुँदैछ। उसलाई जोगाउने जिम्मेवार व्यक्तिहरु छन्। उनीहरुमा देशभक्तिको भावना छैन' , नेता नेपालले भने।
उनले सरकारले सुन्ने बाने बनाउनुपर्ने बताए। उनले भने, 'धेरै सुन्नुपर्ने भएकोले प्रकृतिले पनि दुईटा कान दिएको छ। सरकारमा काम गर्नेहरुले हाम्रो पनि कुरा सु्न्नुस।'
आफू साँगु र चावहिल क्षेत्रकै जनप्रतिनिधि भएको बताउँदै नेता नेपालले त्यो बाटो हिड्न समेत लाजमर्दो स्थिति भएको बताए। उनले भने, 'म त्यही क्षेत्रबाट जितेको सांसद हुँ। यो बाटोको बेहालको बारेमा गीत र भिडियो नै निकालीसकेका छन्। मान्छेको बिजोग छ। ठेकेदारहरु हराएका छन्, जुन दिन आउने कुरा हुन्छन।, राति पाँच ट्रक गिट्टी हाल्छन्। जिम्मेवार निकाय कहाँ हराउँछन? डीजी, सचिव, मन्त्री, इञ्जिनियर कहाँ हराउने?'
मुलुकमा कालोसूचिमा पर्नेहरु नै झन पुरस्कृत हुने अवस्था सिर्जना कसरी भयो भन्दै नेता नेपालले प्रश्न गरे। उनले भने, 'कालोसूचिमा परेकालाई घु्माई फिराई अवसर र पुरस्कृत गर्ने हो भने निरासा छाउँछ। बिधि र सिस्टम कसरी स्थापित गर्ने तर्फ लाग्नुस। पारदर्शी रुपमा इमान्दार देशभक्त मानिसलाई अवसर दिनुस।'
छोरा छोरी श्रीमती, नातेदारलाई घुमाएर काम नगर्नुस। बेलायती सेनामा नेपाली महिलाहरु लिने कुरा अघि बढेको उनले बताए। भोलीका दिनमा साउदी अरबले, भारतले पनि सेनामा नेपाली महिलालाई भर्ना भयो भने भोली हामी सबैको शीर निहुरिने उनले बताए।
निजगढ विमानस्थल निर्माणको विषयलाई लिएर विरोधीले त विरोध गरिहाल्छन भन्ने थियो तर विरोधका नाममा मात्र विरोध नगरेका रहेछन् भन्ने बल्ल बुझेको नेता नेपालले बताए। उनले भने, 'सत्ता पक्षकै सांसदले किन विरोध गरे। विचार गर्नुस। भारतको हिमाञ्चलमा जानुस्। सिमलामा जानुस, घर घरमा रुख रोप्नुपर्छ। आवश्यक पर्ने रुख मात्र काट्नुस। अनावश्यक रुख काट्ने काम नगर्नुस।' विमानस्थल निर्माण गर्ने कार्यलाई प्राथमिकता दिइनुपर्ने उनले बताए।
दुई तिहाईको सरकारले राम्रो काम गरे भने सबैले स्यावास भन्छन्। प्रतिपक्षीले रचनात्मक भूमिका खेल्नुपर्छ। उनले भने, 'योग्य र क्षमतावान व्यक्तिको नियुक्ति गर्नुस। राजदूत नियुक्तिमा किन ढिलाई भइरहेछ? संवैधानिक अंगहरु खाली छन्। अनुभवीहरुको ठूलो पंक्ति हामीमा छ।'
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४