काठमाडौं– काठमाडौंमा गत आइतबार सातौं संस्करणको एनभीए पुरुष तथा महिला भलिबल क्लब च्याम्पियनसिप सकिएको छ। त्यसमा पुरुषतर्फ केशवलाल स्मृति क्लबले अन्तिम आठको स्थान हासिल गर्दै बाहिरियो। च्याम्पियनसिपमा बागमतीको प्रतिनिधित्व गर्ने यो क्लबले समूह चरणका दुई खेलमा जित निकाल्दै क्वार्टरफाइनको यात्रा तय गरेको थियो।
‘च्याम्पियनसिपमा हाम्रो एउटा सपना चाहिँ पूरा भयो, हामी दुई जितपछि आगामी लिगका लागि छनोट भएका छौं,’ नेपाल समयसँगको कुराकानीमा केशवलालका व्यवस्थापक दीपक थापाले भनेका छन्। तर मोफसलबाट काठमाडौंमा आएर लिग खेल्न सजिलो छैन। नेपालमा भ्यालीबाहिर व्यवस्थित क्लब पनि नभएका कारण त्यहाँ नियमित खेलाडी पनि त हुँदैनन्। त्यस्तै, आफ्नो खेलाडी नभएको एक क्लब थियो केशवलाल पनि। ‘हाम्रो खेलाडी त थिएनन्, प्रतिष्ठानमा छनोट खेल आह्वान गरेका थियौं। धेरैमा ९ जिल्लाले छनोटमा भाग लए। त्यो जिल्लाबाट खेलाडी छनोट गरेर खेल्न ल्याएर आएको हो,’ कुराकानीको सुरुआतमा दीपकले भने।
केशवलालको उदय पनि लामो चाहिँ छैन। ‘उहाँ (केशवलाल) सिनियर प्रशिक्षक हुनुहुन्थ्यो। पछिल्लो साल बित्नुभएको। उहाँको नाममा नवलपरासीमा केशवलाल स्मृति प्रतिष्ठान सुरु गरेर हेटौंडामा कार्यालय बनाएका छौं,’ उनले क्लबबारे जानकारी दिँदै भने, ‘प्रतिष्ठानकै आयोजनामा छनोट गरेर खेलाडी ल्याएर आएको हो।’
बागमतीका सबैजसो जिल्लाका खेलाडी केशवलालमा थिए। प्रतिष्ठानले सबै जिल्लाका खेल समिति र भलिबल संघलाई पत्राचार गरेर खेलाडीलाई एक प्रतियोगितामा समावेश गराई च्याम्पियनसिपका लागि छनोट गरिएको थियो। त्यो छनोटबाट छानिएका खेलाडीका साथ प्रतिष्ठानको क्लब सातौं संस्करणको एनभीए खेल्न आइपुगेको थियो।
‘खेल्न आइपुग्नका लागि धेरै गाह्रो छ। सुरुमा खेलाडीलाई समन्वय गरेर ल्याउनै गाह्रो। खर्च खोज्न झनै गाह्रो,’ दीपकले भने, ‘देशमै क्राइसिस भइरहेको बेलामा व्यवस्थापन गर्न उस्तै गाह्रो।’ यद्यपि बागमती खेलकुद परिषद्ले जर्सी, जुत्ता र ट्र्याक उपलब्ध गराइदिएको थियो। ‘परिषद्को सहयोगले राहत भएको छ। खेलाडीलाई अझैसम्म खान बस्नको लागि गाह्रो छ,’ प्रतियोगिताको दौरान दीपकले भनेका थिए। किट स्पोन्सर पाए पनि बाँकी कुरा आफैं व्यवस्थापन गर्नु नै थियो। दीपक आफैंले पनि केही बेहोरे। उनी आफैं पनि बागमती भलिबलको र भक्तपुर जिल्ला खेलकुद समितिको अध्यक्ष हुन्। उनले साथीभाइलाई सहयोगका लागि गुहारे अनि मिलेको केही स्पोन्सरमा खेलाडीलाई खाने–बस्ने व्यवस्था गरे।
तर केशवलाल जसरी आएको छ धेरै जिल्लाको छनोट गरेर। त्यो काम त बागमती खेलकुद परिषद् वा बागमती भलिबल संघले गर्नुपर्ने हो। तर उसले गरिरहेको छ। किन न? कहानी लामो छैन। बागमती प्रदेशमा अहिले भलिबल संघ विवादित छ।
विवाद भएर नै नेपाल भलिबल संघले बागमतीलाई भलिबल संघको अंग भएको मानेकै छैन। बागमती भलिबल संघ दुई वटा भएर विवाद भयो। बागमतीमा एउटा संघको अध्यक्ष माधव केसी र अर्को दीपक थापा हुन्। ‘हामीले पनि बागमती भलिबल संघबाट नै टिम ल्याएर आउन खोजेको हो। तर एनभीएले विवादित भएको कारणले नल्याउन भनेको थियो,’ दीपकले जानकारी दिए।
अहिले नेपाल भलिबलले दुवै संघलाई मान्यता दिएको छैन। त्यसैले बागमती भलिबलले गर्नुपर्ने काम केशवलाल क्लबले गरेको हो। ‘कुनै न कुनै माध्यमबाट त खेलाडी ल्याउनुपर्यो। खेलाडीलाई संघको विवादमा तान्नु त भएन। हामीले केशवलालबाट खेलाडी छनोट गरेर ल्यायौं,’ दीपकले भने, ‘योबीच विवाद नभएको भए बागमती खेलकुद परिषद्ले सबै सहयोग गर्नुहुन्थ्यो। त्यही पनि हाम्रो टिम मात्र आयो। अर्को (माधव केसीको संघ) साथीले टिम ल्याएन। त्यसैले प्रदेशले हामीलाई चाहिने जति ड्रेसहरु दिएको थियो।’
खुला छनोट गरेका कारण नै बागमतीको टिममा मिश्रित खेलाडी रहेका थिए। केही नयाँ अनि केहीचाहिँ पहिले पनि खेलिसकेका। केही खेलाडीले जिल्लास्तरका खेल मात्र खेलेका थिए। केहीले चाहिँ पोखरामा राष्ट्रिय खेलकुद खेलेका थिए। अनुभवी र अनुभव बटुल्न बाँकी रहेका खेलाडीका साथ केशवलाल अन्तिम आठको लागि छनोट भएको थियो।
सुरुमा केशवलालले छनोटका लागि आह्वान गरेपछि ९ जिल्लाले सहभागिता जनाएका थिए। त्यसबाट ३२ जना खेलाडीहरु पुरुषमा छानिए। त्यसैको पछि एउटा टिम बन्यो। ‘हामीले महिला पनि यहिँ ग्रुपमा ल्याउने भनेका थियौं। तर स्पोन्सर पाइएन। महिलालाई चाहिँ बनेपाको श्रीकृष्ण मावि स्कुलका तर्फबाट सहभागी गरायौं,’ थापाले भनेका छन्।
महिलाहरुको छनोटमा सात वटा टिम सहभागी बनेका थिए। त्यसबाट छानिएका ३४ जना खेलाडीबाट छनोट गराएर च्याम्पियनसिप खेल्न स्कुलले खेलाडी ल्याएर आएको थियो। ‘श्रीकृष्ण एकेडेमी कोअर्डिनेसन भएर नै हामीले ल्याएर आएको हो,’ दीपकले भने। केटाहरुको छनोट केशवलाल स्मृतिले मकवानपुरमा गर्दा केटीहरुको खेलको चाहिँ श्रीकृष्ण माविमा भएको थियो। ती खेलाडीलाई काभ्रेमा एक हप्ताको क्याम्प राखिएको थियो। केटाहरुको चाहिँ चार दिन राखेको थियो। च्याम्पियनसिपमा सहभागी बन्दा पनि माविले तीन दिनको मात्र स्पोन्सर गर्न सकेको थियो। यदि टिम सेमिफाइनलमा पुगेको भए क्लबलाई तत्कालै नयाँ स्पोन्सर खोज्नुपर्ने अवस्था थियो। तर मावि सेमिफाइनलसम्मै पुगेन र खर्चले भ्यायो।
उसले लिगको अन्तिम खेलमा गण्डकीसँग ३–० को सेटमै हार बेहोरेपछि अंकविहीन हुँदै बाहिरिनु परेको थियो। साथै श्रीकृण एकेडेमी लिगमा पनि छनोट हुन सकेन।
भ्याली बाहिर क्लबः लगभग असम्भव
‘खेलाडीलाई एकै ठाउँमा राख्न सक्ने अवस्था बनाउनु व्यवस्थापन हो। खेलाडीलाई व्यवस्थापन गरेर सबै मिलाउने हो भने आर्थिक कुरा नै प्राथमिकतामा परेको हुन्छ। नेपालमा नै हेर्ने हो भने पनि राष्ट्रिय टिमको त खेल हुने १०–२ दिन अघिबाट मात्र बन्द प्रशिक्षण हुन्छ,’ कुराकानीलाई केही लामो बनाउँदै दीपकले भने, ‘अहिले जति पनि नाम चलेका क्लबहरु छन्। त्यसबाहेक खेलाडी ल्याएको दिन मात्र खेलाएको हो। कुनै कुनै टिमले मात्र क्याम्प राखेको छ। जस्तै विभागीय क्लब।’ तर दीपकले मोफसलमा क्लब चलाउने केही सम्भावना चाहिँ देखेका छन्। भन्छन्, ‘सम्भावना चाहिँ नहुने होइन, छ तर त्यसको लागि सबैतिरबाट सहयोग ठूलो अपेक्षा हुन्छ। त्यो नभए चाहिँ क्याम्प राखेर प्रशिक्षण गर्न सकिँदैन।’
त्यसमाथि अर्को समस्या के छ भने नेपालमा भलिबलका धेरै ठाउँमा ससाना प्रतियोगिता हुन्छन्। त्यहाँ नयाँ नयाँ टिमहरु बन्छन्। एकै खेलाडीले वर्षमा १० भन्दा धेरै क्लबबाट खेलिरहेको हुन्छ। ‘खेलाडी नै कहिले कता कहिले कत पुगिरहेको हुन्छ। यता क्लबले चाहिँ सबै प्रतियोगितामा भाग लिन पैसाको स्रोत मुख्य कुरा हुन्छ।’ दीपक यसरी खेलाडीलाई क्लबमा राखेर १२ महिना नै अभ्यास दिने काममा सरकारले नै लगानी गर्नुपर्नेमा जोड दिन्छन्। ‘सूर्यलाल भण्डारी (बागमती खेलकुद परिषद्का सदस्य सचिव) खेलकुद बुझेको मानिस हुनुहुन्छ। उहाँ पहिलेको भलिबल खेलाडी नै हो र यसलाई माया गर्नु भएको छ। अब सबै प्रतियोगिता भाग लिन पनि बागमती खेलकुद विकास परिषद्ले केही न केही डिजाइनका रुपमा माइन्ड मेकअप गर्नु भएको हेला,’ दीपकले आशा व्यक्त गरे।
विवाद भएर नै नेपाल भलिबल संघले बागमतीलाई भलिबल संघको अंग भएको मानेकै छैन। बागमती भलिबल संघ दुई वटा भएर विवाद भयो। बागमतीमा एउटा संघको अध्यक्ष माधव केसी र अर्को दीपक थापा हुन्।
बाहिरबाट स्पोन्सर बिनै च्याम्पियनसिप खेल्न राजधानी आउने क्लबहरुलाई नेपाल भलिबल संघले आर्थिक व्यवस्था गर्दैन। काठमाडौंका क्लबलाई सहभागी बन्न सजिलो भए पनि बाहिरबाट आएका क्लबलाई गाह्रो पर्ने हुन्छ। केही समयअघि बाहिरका क्लबबाट सहयोगको प्रस्ताव आएको भए पनि संघले त्यस्तो सहयोग अहिलेसम्म दिएको छैन। संघले सहयोग नगरेपछि आउन मन भएका क्लब क्लबले च्याम्पियनसिप खेल्न पाएका छैनन्।
दीपककै अनुसार पनि क्लबले दर्तालगायतका विषयमा मात्र सहयोग गरिरहेको छ। ‘उहाँहरुले सिकाउने, प्रशिक्षकलाई जानकारी दिने गर्नुभएको छ। प्रशिक्षण गराउने, टिम दर्ताका लागि सहयोग गर्ने भइरहेको छ। यसपालिदेखि खेलाडीको व्यक्तिगत दर्ता पनि छ। खेलाडी अन्त कतै खेल्न जाँदा जानकारी राख्नको लागि र पत्राचार गर्नका लागि सिस्टम विकास भएको छ। यो खेलाडीको लागि राम्रो भएको हो। संघले सहयोग गरेको नै हो,’ दीपकले भने।
नेपालमा भलिबलको लामो फर्म्याटको प्रतियोगिता हुँदैन। वर्षमा दुईवटा एक–एक हप्ताका मात्र प्रतियोगिता हुन्छन्। खेलाडी प्रोफेसनल हुनका लागि लामो प्रतियोगिता खेल्नुपर्छ भन्ने मान्यता छ। छोटो प्रतियोगिता हुँदा क्लबको खर्च त कम नै होला। तर लामो प्रतियोगिता नहुँदा व्यावसायिकतामा कस्तो असर गर्छ जस्तो लाग्छ भन्ने प्रश्नमा दीपकको जवाफ छ, ‘विश्वभरमा नेपाल यस्तो देश हो जहाँ सबैभन्दा धेरै भलिबल प्रतियोगिता भइरहेको हुन्छ। यो हाम्रो लागि निकै गर्वको कुरा हो। तर संघसँग पनि आयस्रोत छैन। राखेपले पनि कतिलाई हेरोस्?’
उनले अगाडि भने, ‘यहाँ धेरै खेलकुदका धेरै संघहरु छन्। राज्यले पनि पैसा कतिलाई देओस्। सक्ने कुरा पनि भएन। त्यसले गर्दाखेरी व्यापार–व्यवसायमा लागेका कर्पोरेटबाट हामीलाई राम्रो स्पोन्सर हुँदैन। हामीले खेलाउन सक्दैनौं भन्ने लागेको छ। संघले जुन रुपमा योजना बनाइरहेको छ। र, जसरी प्रतियोगिता गराइरहेको छ। त्यो राम्रै हो।’
केशवलाल नयाँ टिम भएका कारण उसको लक्ष्य सुपर–८ मा जाने थियो। ‘हामीले त्यो पूरा गर्यौंं। हामीले समूहमा दुई खेल जितेर एक हारेको हो।’ त्यसपछि उसले क्वार्टरफाइनलमा एपिएफसँग हार बेहोरेको थियो। र, सशस्त्र प्रहरीसँग हार बेहोरेपछि प्रतियोगिताबाट बाहिरिएको थियो। यता श्रीकृष्ण एकेडेमी भने महिला लिगको लाछि छनोट हुन सकेन।
प्रतियोगितामा च्याम्पियन हेल्प नेपालसँगै तीन विभागीय टिम लिगमा छनोट भए। त्यसबाहेकका केशवलाल, शैलुङ बाघढुंगा, दावाँली मिलन क्लब र गण्डकी प्रदेश पनि अन्तिम आठमा छनोट भएका थिए। महिलातर्फ भने छ टिम लिगका लागि छनोट भए। त्यसमा विभागीयका पुलिस, एपिएफ र आर्मीका साथै न्यु डायमन्ड क्लब पनि छ। त्यसबाहेक गण्डकी प्रदेश र एभरेष्ट एकेडेमी पनि लिगमा छनोट भयो।