इटहरी- सुनसरीको भुटाहामा हत्या गरिएका खुर्सिद अन्सारीका हत्यारा पत्ता लगाउन छानविन समितिले प्रमाण खोजिरहेको छ। नेपाल प्रहरीका एसएसपी किशोर दाहाल नेतृत्वको पाँच सदस्यीय छानविन समितिले तीन दिनअघि फिल्डमा पुगेर छानविन थालेको स्थानीय बासिन्दाले जानकारी दिए।
भारतीय नम्बरप्लेटमा दुर्इ वटा मोटरसाइकलमा आएका बन्धुकधारीले ४ असोज बिहान ११ बजे मौलाना खुर्सिद आलम अन्सारीको हत्या गरेका थिए। घटना छानविनका लागि सरकारले गठन गरेको समितिले त्यसको प्रारम्भिक परिणाम सार्वजनिक गरिसकेको छैन। गम्भीर अपराधको सुक्ष्म अनुसन्धान गर्नुपर्ने भएकाले निष्कर्षमा पुगेपछि मात्रै त्यसक्रममा आएका तथ्य सार्वजनिक गरिने एसएसपी दाहालले बताएका छन्। समितिले थप प्रमाण खोजिरहेको पनि उनले जानकारी दिए।
घटना हुँदा सात सय मिटर परको चौकीका प्रहरी ढिलो आएपछि सुनसरी प्रशासनले त्यसको नेतृत्व परिवर्तन गरिसकेको छ। बन्दुकधारीमाथि गोली नचलाएको र सीमापार हुँदा पनि रोक्न नसकेको बताउँदै प्रहरीसँग स्थानीय बासिन्दा रुष्ट छन्। घटना हुँदा समयमै एक्सन नलिएको भनेर आलोचित स्थानीय प्रहरी नेतृत्व हटाएपछि आएको छानविन निष्पक्ष हुने आशा गरिएको स्थानीय नुसाद अन्सारीले बताए। मृतकका भतिजा अन्सारीले छानविन टोलीले घटनास्थलको विवरण र स्थानीय बासिन्दासँग भेटेर जानकारी लिएको छ।
को-को छन् छानविन समितिमा?
प्रदेश-१ प्रहरी कार्यालयका एसएसपी दाहाल नेतृत्वको छानविन टोलीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, प्रदेश-१ को आन्तरिक मामिला तथा कानून मन्त्रालय र जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिहरू छन्।
समितिमा सशस्त्र प्रहरीका एसपी रमेशकुमार थम्सु, जिल्ला प्रशासनका प्रशासकीय अधिकृत राजन पाण्डे र प्रदेश-१ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव रविन्द्र आचार्य छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४