बिहीबार, वैशाख ६, २०८१

इसा अवार्ड पाएका डा. रुइत किन पर्खिरहेका छन् राज्यको प्रतिक्रिया?

अवार्डका लागि डा. रुइतको नाम न त राज्यले नोमिनेट गरेको हो, न त अन्य कुनै संघसंस्थाले। रुइतलाई अवार्डका लागि जुरी मेम्बरले नै छनोट गरे।
 |  बिहीबार, माघ ५, २०७९

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, माघ ५, २०७९

काठमाडौं– नेत्र चिकित्सक सन्दुक रूइतले प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन्। यो अवार्ड बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापित अवार्ड हो र हरेक दुई वर्षमा मानव कल्याणको क्षेत्रमा काम गर्ने व्यक्ति तथा संस्थालाई दिइन्छ। 

triton college

सोमबार साँझ उक्त अवार्ड आफूले पाएको जानकारी पाएपछि डा. रुइतले सुरुमा विश्वास नै गर्न सकेनन्। बुधबार तिलगंगा आँखा अस्पतालमा पत्रकार सम्मेलान गर्दै रुइतले भने, ‘खबर पाउनेबित्तिकै कसलाई भनौं कसलाई भएँ। मेरो ३५ वर्षको एकोहोरो काम गराइको मूल्यांकन संसारले गर्ने रहेछ। यति ठूलो संस्थाले यति ठूलो अवार्ड दिँदा म एकछिन त म विश्वास गर्नै सकिनँ। एकदमै राम्रो अनुभूति गरें।’ 

डा. रुइतले अन्धोपन निवारणका लागि गरेको कामको मूल्यांकन गर्दै उक्त अवार्ड दिइएको हो। यो अवार्डअन्तर्गत डा. रुइतलाई १० लाख डलर, गोल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ। नेपालीले पाएको सबैभन्दा ठूलो अन्तर्राष्टिय अवार्ड हो इसा अवार्ड। रुइत भन्छन्, ‘३५ वर्ष अगाडि मैले चक्कु चलाउन थालेदेखिको यो मेरो जीवनकै फरक तर उपलब्धिमूलक कमाइ हो। जिन्दगीको तपस्याको फल हो।’

डा. रुइतको भनाइलाई आधार मान्ने हो भने विदेशीहरुले यहि काम गर्दा यति मेहनत विना पनि यो उपलब्धी हासिल गर्न सक्छन् तर नेपालीहरुले दुई तीन गुणा बढी मेहनत गर्नुपर्छ। डा. रुइत पनि यदि आफू अन्य देशमा भइदिएको भए वा नेपालमा नभएको भए यो अवार्ड पहिला नै हासिल गर्ने दाबी गर्छन्। भन्छन्, ‘मैले  यो अवार्ड पहिला नै पाइसक्ने थिएँ होला तर म नेपाली भएकै कारणले मलाई समय लागेको हो।’

अवार्डका लागि डा. रुइतको नाम न त राज्यले नोमिनेट गरेको हो, न त अन्य कुनै संघसंस्थाले। रुइतलाई अवार्डका लागि जुरी मेम्बरले नै छनोट गरे। अवार्ड निकै निष्पक्ष रुपमा दिइने महसुस उनले गरेका छन्। ‘अवार्डका लागि निकै तह पार गर्नुपर्ने रहेछ,’ रुइतले सुनाए, ‘यो निकै तह पार गरेर गरिएको छनोट हो। १४५ वटा संस्था तथा व्यक्तिको नोमिनेसन परेको रहेछ। मलाई भने जुरीले नै नोमिनेट गरेका रहेछन्। मलाई न राज्यले नोमिनेट गरेको हो न त संस्थाले नै। जुरी मेम्बर पनि अन्तर्राष्ट्रिय स्तरबाट थिए। उनीहरुले अन्त्यमा ५ वटा संस्था तथा व्यक्तिलाई सर्टलिस्टमा राखेको रहेछ। मलाई जुरीले नै स्पेसल नोमिनी भनेर एक जना थप गरी ६ जना बनाएका रहेछन्। कोभिडको समय थियो, कोभिडमा काम गर्ने धेरै संस्था थिए। त्यतिबेला अन्धोपन त्यति माथि देखिएको थिएन। तर मैले आफ्नो क्षेत्रमा काम गरिरहेकै थिएँ। त्यसैले पनि छनोट गरिएको होला।’

corrent noodles
Metro Mart

उनले थपे, ‘धेरैजसो स्थापित अवार्ड राजनीतिक, रणनीतिक विषयसँग सम्बन्धित हुन्छन्। त्यो परिधिभित्र हामी पर्दैनौं। हामीले जति मेहनत गरे पनि त्यो परिधिभित्र पर्दैनौं। तर यो अवार्डले सबै विधामा तल्लो तहदेखि काम गर्नेहरुको मूल्यांकन गर्ने रहेछ।’

अवार्ड पाउनुको पछाडि नेपाल अन्धोपन निवारणमा अब्बल छ भनेर प्रमाणित गर्न सफल भएको दाबी गर्छन् डा. रुइत। भन्छन्, ‘संसारमा अन्धोपनको क्षेत्रमा नेपालले गरेको भूमिकालाई यसले स्थापित गरेको छ। सँगसँगै विश्वव्यापी रुपमा नै अन्धोपनको बारेमा जनमानसमा सचेत गराएको छ। नेपालले अन्य देशलाई पनि अन्धोपनको कारणबारे सचेत गराएको छ। अन्धोपनलाई पनि यसरी निवारण गर्न सकिन्छ भनेर सचेत गराएको छ। यस्तो खालको अन्तर्राष्ट्रिय अवार्ड सर्भिस टु ह्युमानिटीलाई दिइन्छ। संसारको मानचित्रमा नेपालले पनि यस्तो काम गर्ने रहेछ भन्ने जानकारी भएको छ। अर्को कुरा आफैंले पनि खोजेको, चाहेको तिलगंगा र तिलगंगामा काम गर्ने सहकर्मीहरु र सबैभन्दा ठूलो नेपालीहरुको आत्मसम्मान प्रतिष्ठा अन्तर्राष्ट्रिय क्षेत्रमा गिर्दो अवस्थामा छ। त्यसलाई पक्कै पनि ठूलो भर्‍याङ दिएको छ।’

अवार्ड पाएसँगै अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो दायित्व थपिएको डा. रुइत महसुस गर्छन्। इसा अवार्डका मेम्बरले पनि उनीसँग अपेक्षा गरेको उनले सुनाए। डा. रुइतले बेलायती एक उद्योगीसँग सहकार्य गरी संसारभर वर्षमा ७० हजारदेखि १ लाखसम्म अप्रेसन गर्ने योजनामा छन्। त्यसको लागि तयारी भएको उनले बताए। साथै अब नेपालमा पनि आँखाको उपचारमा पहुँच नभएको ठाउँमा स्तरीय सेवालाई सर्वसुलभ बनाउने उनको प्रतिबद्धता छ। 

हाल तिलगंगामा नै उत्पादन भइरहेको अन्तर्राष्ट्रिय स्तरको आँखाको लेन्स उत्पादनलाई विश्वव्यापी स्तरमा पुर्‍याउने योजना रहेको उनले सुनाए। उनले भने, ‘हाल वार्षिक ३ लाख लेन्स उत्पादन हुन्छ। यसलाई हामीले देशकै उद्योगको रुपमा स्थापना गरी वर्षमा करिब १५ लाख उत्पादन गरी संसारभर पुर्याउने प्राथमिकता छ । यसका लागि बजेट आवश्यक छ। हामीले केही समय अगाडि सरकारलाई अनुरोध पनि गरेका थियौं। सरकारले हामीलाई २० प्रतिशत दिएको छ तर त्यसले पुग्दैन। यो सरकारको त्यति ठूलो कमिटमेन्ट पनि होइन।’

उनको अर्को इच्छा भनेको तिलगंगा आँखा अस्पताललाई अन्तर्राष्ट्रिय संस्थाको रुपमा विकास गर्ने हो। ‘अहिले पनि विभिन्न देशबाट डाक्टरहरु आउँछन्। त्यो प्रकृयालाई नियमबद्ध बनाएर सजिलो बनाउने र सहि रुपमा विश्वविद्यालयको रुपमा अगाडि बढाउन सकिन्छ। सरकारले अन्य विश्वविद्यालय बनाउँदा खर्च गर्नुपर्छ तर यहाँ नाम, विशेषज्ञता, संरचना सबै छन्। सरकारले  छाता मात्रै ओढाएर पुग्छ,’ रुइतले भने, ‘राज्यले पनि बुझ्नुपर्ने कुरा के हो भने यसले नेपालको सम्मानलाई पनि कति माथि पुर्याएको छ। नेपालको चिनारीलाई कति माथि पुर्याएको छ। मैले पाएको यो अवार्डमा जसरी मेरा बिरामी र जनताको खुसी समेटिएको छ, त्यसरी नै राज्यले यसलाई कसरी समेट्न सक्छ हेर्छु। अहिलेसम्म मैले देखेको छैन, मैले राज्यलाई हेरिरहेको छु कि राज्यले मलाई कसरी रेस्पोन्स गर्छ।’ डा. रुइतले पाएको यो अवार्डलाई राज्यले कुन दृष्टिकोणले हेरेको छ भन्ने उनलाई चासो छ। अवार्डबारे हालसम्म राज्यको तर्फबाट कुनै प्रतिकृया पाएका छैनन् र उनी प्रतिकृयाको पर्खाइमा छन्। 

राष्ट्रपति पद मेरा लागि होइन

रुइतले राष्ट्रपतिको विश्वसनियता लोकतन्त्रमा महत्वपूर्ण रहेको बताएका छन्। बुधबार पत्रकार सम्मेलनका क्रममा पत्रकारहरुले राष्ट्रपति बनेर नीति निर्माण गर्ने पदमा जानुहुन्छ कि भनेर प्रश्न गरेका थिए। जवाफमा उनले आफूले धेरै काम गर्न बाँकी रहेको बताए।

नेपालमा राष्ट्रपति पद आलंकारिक भए पनि त्यसको मानसम्मान राख्नुपर्ने उनले बताए। भने, 'लोकतन्त्रमा राष्ट्रपतिको विश्वसनियता असाध्यै बढी छ, रबरस्ट्याम्प भए पनि। भारतको राष्ट्रपतिलाई हेर्नुहोस् कस्तो सम्मान छ। हामी सबै मिलेर राष्ट्रपतिको त्यो विश्वसनियता र सम्मान कामय गर्नुपर्छ। त्यसमा कमी छ।' राष्ट्रपति पद आफ्नो लागि नभएको डा। रुइतको भनाइ थियो। उनले आफूले स्वास्थ्य क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको बताए। भने, 'यो पद मेरो लागि होइन। मैले आफ्नो सीमा र स्थान बुझेको छु। यही कारणले नै यहाँसम्म आएको हो। मैले दायाँबायाँ गर्ने होइन। सक्नेभन्दा अरु काम गर्दिन, जान्दिन पनि। मैले योभन्दा गर्नुपर्ने काम धेरै छ।'


प्रकाशित: Jan 19, 2023| 09:40 बिहीबार, माघ ५, २०७९
प्रतिक्रिया दिनुहोस्