काठमाडौं- अनुगमनलाई सशक्त बनाउन यसै साता सरकारले अनुगमन नियमन कार्ययोजना (एक्सन प्लान) तयार गर्ने भएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहप्रवक्ता डा. प्रदीपचन्द्र भट्टराईले नजिकिएको चाडपर्वलाई मात्रै नभर्इ समग्र अनुगमनलाई सशक्त बनाउन कार्ययोजना बनाउन लागिएको बताए। ‘२/३ दिनभित्रै कार्ययोजना तयार गर्नेछौं,’ उनले भने, ‘विशेषगरी चाडपर्वमा बढी मिसावट हुने भएकाले तत्काल कार्ययोजना तयार गर्ने गरी जुटेका छौं।’
अहिले अनुगमनको कार्यक्षेत्र विभिन्न समूह र निकायमा छरिएको छ। मन्त्रालयको पहलमा ती सम्पूर्ण अनुगमनलाई एकीकृत र सन्तुलित बनाउनसमेत कार्ययोजना महत्वपूर्ण हुने उनको भनाइ छ।
‘त्यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समेत छलफल गरिनेछ,’ भट्टराईले भने। उनका अनुसार संघ, प्रदेश र स्थानीय तहमार्फत अनुगमन गरिनेछ।
नजिकिएको दशैं, तिहार र छठमा हुने मिसावट, अखाद्य वस्तु तथा सामग्रीको बिक्री वितरणलाई मुख्य प्राथमिकता दिएर अनुगमनसँगै नियमन गर्ने गरी कार्ययोजना तयार पारिन लागेको हो।
चाडपर्वमा मासु, तेललगायत दैनिक उपभोग्य सामग्रीहरूमा बढी मिसावट हुने र अखाद्य वस्तुहरूको बिक्री हुने भएकाले पनि त्यसलाई प्राथमिकतामा राखेर अनुगमनलाई सशक्त बनाउने मन्त्रालयले जनाएको छ। बुधबार मात्रै पनि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित त्रिपुरेश्वर र चाल्नाखेलमा मिठाइ र पानी पसलमा अनुगमन गरेको छ। त्यसक्रममा फोहोर, लेबल नभएका र म्याद सकिएका खाद्यवस्तु फेला परेका छन्।
त्यस्ता खाद्य सामग्रीहरूलाई नस्ट गरिएको छ। साथै,अनुगमनका क्रममा दर्ता नगरी पसल सञ्चालन गरिएको, सञ्चालित पसल नवीकरण नगरिएकोलगायत कैफियत भेटिएका छन्। त्यस्ता पसलहरूलाई सात दिनभित्र आवश्यक कागजात लिर्इ विभागमा उपलब्ध गराउन निर्देशन दिइएको छ। ९ असोजमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको नेतृत्वमा ललितपुरस्थित सेलेवेज क्यास एन्ड क्यारी डिपार्टमेन्टल स्टोरमा अनुगमन गरिएको छ। त्यहाँ खाद्य उद्योगको अनुज्ञापत्र नलिर्इ विविध खाद्य पदार्थहरू चिनी, दाल, गेडागुडीलगायत बिक्री गरेको फेला परेको छ।
विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीका अनुसार उक्त स्टोरमा खाद्य अनुज्ञापत्र लिएपछि मात्र बिक्री गर्ने गरी हाललाई खाद्य पदार्थहरूको बिक्रीमा रोक लगाइएको र थप अनुसन्धानको प्रकृया बढाइएको छ।
अखाद्य मासु बिक्री गर्ने पसल सिल गरिँदै
दशैंको मुखमा सरकारले अनुगमनलाई तीव्रता दिएको छ। केही दिनअघि मात्रै कृषि मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र महानगरपालिकाको संयुक्त अनुगमन टोलीले ललितपुर क्षेत्रका पाँच वटा बधशालाको स्थलगत अनुगमन गरेको थियो।
त्यसक्रममा अत्यधिक फोहोर भएको, मापदण्डअनुसार बधशाला नभएकोलगायत समस्या भेटिएपछि चार वटा मासु पसल र बधशाला सिलबन्दी गरिएको थियो। जसमा मुकेश खड्गीले सञ्चालन गरेको आरके मिट सप, सरोज शाहीले सञ्चालन गरेको ए वान मिट सप, देव खड्गी र सुनील शाहीले सञ्चालन गरेका बधशालामा सिल गरिएको हो। लक्ष्मी मिट सपलाई भने सचेत गराइएको थियो।
यस्तै, देव र सुनीलको बधशाला दर्ताबिनै सञ्चालन भएको पाइएको छ। ती बधशालाहरूले सरसफाइमा ध्यानै नदिएको, राँगो भनेर भैंसी काट्ने गरेको, अत्यधिक फोहोर ठाउँमा मासु काट्ने गरेको, यसअघि अनुगमन गरी सुधार गर्न निर्देशन दिँदा पनि नटेरेको अनुगमन टोलीको भनाइ छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जीव कर्णले मानव स्वास्थ्यका दृष्टिकोणले ती मासु पसल र बधशालाको मासु खान अयोग्य रहेकाले सुधार नगर्दासम्म बिक्री वितरणमा प्रतिबन्ध लगाइएको बताएका छन्।