काठमाडौं– बिहीबार अबेर दीपक लामा आफ्ना खेलाडीलाई खेलाडी चोकको एक होटलमा खाजा ख्वाइरहेका थिए। खेलाडीहरु विभागीय टिम एपीएफसँगको खेलअघि मःम, सुप र चिया खाएर तयार हुँदै थिए। ‘त्रिपुरेश्वरका सस्तो होटल खोज्दै हिँडेको, यहिँ भेटियो। अरुतिर जाने हो भने एक प्लेट मःमकै डेढ सयभन्दा धेरै पर्ने रहेछ। यहाँ चाहिँ ८० रुपैयाँ भएकाले खाजा खाँदैछौं,’ गफगाफका क्रममा दीपकले सुनाए।
काठमाडौंमा भइरहेको सातौं राष्ट्रिय पुरुष तथा महिला भलिबल च्याम्पियनसिपका लागि काठमाडौं बाहिरबाट आउने टिमलाई पहिलो समस्या यस्तै रहन्छ। कहाँ सस्तो लज र खाजा पाइन्छ भनेर भौंतारिनु पर्छ। रामेछापबाट च्याम्पियनसिप खेल्न राजधानी आएको शैलुङ बाघढुंगा क्लबलाई पनि यस्तै गाह्रो परेको थियो। उसले केही दौडधुप गरेपछि ठिक्कको होटलमा खेलाडी राख्न सक्यो।
दीपकका केही खेलाडी काठमाडौंमै बसेर पढ्ने भएका कारण उनलाई थोरै सहज भयो। बाहिरबाट आएका क्लबहरुलाई खान, बस्न र खाजा जुटाउनै त समस्या छ। तलब त परको कुरा भयो। दीपकको भनाइ मान्ने हो भने मोफसलबाट उपत्यकामा आएर खेल्न सजिलो छैन। ‘हामीले चाहिँ एक–दुई जना सहयोग गर्ने साथी पाएका छौं र आएर खेल्न सकेको हो,’ दीपकले कुरा सुरु गर्दै भनेका थिए। उनले ठट्टाको शैलीमा भने, ‘यहाँ त खेल्न भन्दा पनि खेलाउन पो गाह्रो रहेछ। कि कसो हौ?’
दीपकले बनाएको क्लब रामेछापको भए पनि टिममा त्यहाँका मात्र खेलाडी छैनन्। उनले केही खेलाडी बागलुङबाट बोलाएका छन् भने केही नुवाकोट, काभ्रेका पनि छन्। ओखलढुंगा र सोलुखुम्बुका पनि एक–एक खेलाडी मिलाएर उनले टिम बनाएका हुन्। ‘आफ्नो गाउँका मात्र भेला गरेर त यहाँ प्रतिस्पर्धा गर्न नसकिने रहेछ नि,’ दीपकले टिमबारे जानकारी दिए, ‘हामीले चाहिँ पहिला च्याम्पियनसिप खेलेका क्लबबाट बाहिरिएका राम्रा खेलाडी छानेर ल्याएको हो। नयाँ दुई चार जना मात्र हो। अरु सबै खेलिसकेका नै हो।’
शैलुङले खेलाडीको आधिकारिक छनोट भने गरेन। खेलाडीको चिनजानबाटै टिम बनाएको हो। ‘यि सबै मेरा नजिकका भाइहरु हुन्,’ उनले भने। दीपक आफैं पनि राष्ट्रिय टिमका खेलाडी थिए। उनी नेपाल भलिबल संघका केन्द्रीय सदस्य पनि छन्। उनीहरु साथीभाइ मिलेर गाउँमा क्लब निर्माण गरे। त्यो क्लब आज च्याम्पियनसिपबाट छनोट भएर क्लब लिगमा पुगिसकेको छ। पुरुषतर्फ सहभागी बनेका १४ क्लबबाट उत्कृष्ट आठ टिमलाई क्लब लिगमा समावेश गराइएको छ। ‘हाम्रो इच्छा नै क्वार्टरफाइनल पुग्ने थियो, पुगियो। यो प्रतियोगिता त जसोतसो खेलियो। अब लिगमा झन् धेरै खेल खेल्नुपर्छ। कसरी व्यवस्थापन गर्ने भन्ने चिन्ता छ,’ उनले समस्या सुनाए। तर उनीसँग समस्या मात्र पनि छैन। समाधानका लागि बाटो पनि छन्। उनको लक्ष्य छ कि जिल्ला, प्रदेशले केही सहयोग गरेमा र स्पोन्सर पाइएमा तीन जना जति विदेशी खेलाडी ल्याएर लिगमा राम्रो प्रदर्शन गर्ने।
अहिले चाहिँ कसले सहयोग गरेको छ त? दीपकको जवाफ छ, ‘जर्सीचाहिँ नेपाल मेनपावर प्रालि स्पोन्सर हो। बाँकी धेरै साथीभाइले सहयोग गर्नुभएको छ। हाम्रो गाउँठाउँको सबैले मिलेर अलिअलि सहयोग गरेर खेल्नका लागि पठाएको हो,’ उनले भने। सँगसँगै दुःखको कुरा यो पनि छ कि, लिगमा आफ्ना खेलाडीलाई लगातार अभ्यास गराउन सक्ने अवस्था छैन। ‘यदि यो प्रतियोगितामा सहभागी हुँदा सरकाले केही रकम दिएको भए हामीले बाँकी स्पोन्सर खोजेर केही बचत गर्ने थियौं। त्यसले गाउँमा अभ्यास गर्ने वातावरण बन्ने थियो,’ दीपकको आशा छ। तर नेपालमा भलिबल व्यावसायिकतातिर गइसकेको पनि त छैन। त्यसैले यस्ता कुरा सोचाइमा मात्र भर पर्ने कुरा पनि हुन्। पछिल्लो समय शैलुङले आफ्नो क्षेत्रलाई पर्यटकीय रुपमा स्थापित गर्न खोजिरहेको छ। शैलुङ धार्मिक स्थल पनि हो। भलिबलबाट पनि शैलुङलाई चिनाउन सके स्थानीयका लागि थप फाइदा हुने देख्छन् दीपक।
यता सरकारले पनि उच्च पर्वतीय खेल मैदान र अभ्यास केन्द्र बनाउन अध्ययन गरिरहेको छ। भलिबलको राम्रो क्रेज भएको शैलुङलाई राष्ट्रिय टिमको अभ्यास केन्द्र बनाउन सकिने अवस्था निकट भविष्यमै बन्न सक्नेछ। तर अहिले दीपकसँग त्यति ठूलो योजना भने छैन। उनी नियमित भलिबल च्याम्पियनसिप र क्लब लिग खेल्ने टिमको रुपमा आफ्नो क्लबलाई चिनाउन चाहन्छन्। किनभने भलिबलमा एक वर्ष च्याम्पियनसिप खेल्ने तर अन्य वर्षहरुमा राजधानी आउनै नसक्ने अवस्थामा धेरै टिमहरु छन्।
गल्कोट भलिबल क्लब यस्तै एउटा उदाहरण हो। कति क्लबले त काठमाडौं आएर च्याम्पियनसिप खेलेको खर्च पनि धान्न सक्दैनन्। र, ती क्लब अर्को वर्षबाट च्याम्पियनसिप खेल्नै आउँदैनन्। यस्ता धेरै उदाहरण छन्।
‘हामी पनि एक वर्ष खेलेर हराउने क्लब नबनौं भनेको। तर गाह्रो र’छ। काठमाडौंमा नै भएका क्लबहरुलाई चाहिँ सजिलो रहेछ,’ उनले च्याम्पियनसिपमा देखेको कुरा सुनाए। ढोरपाटन मध्यपश्चिमको क्षेत्र भए पनि उसको क्लब र अभ्यास सेन्टर काठमाडौंमा छ। टिपटप हेल्प नेपाल पनि काठमाडौंकै क्लब भयो। ‘साह्रो अप्ठेरो चाहिँ हामीजस्तो क्लबलाई हुँदो रहेछ। हामी दावाँली मिलान क्लबजस्ता चाहिँ बाहिरबाट आउने पैसा पनि नहुने स्पोन्सर पनि,’ उनले अगाडि भने। अब शैलुङ क्लबलाई पनि उनी काठमाडौंमा स्थापित गर्ने बाटोमा लाग्ने बताए। ‘मैले पनि शैलुङ बाघढुंगा क्लब काठमाडौंमा नै बनाउने र यहीँ (काठमाडौं)का खेलाडी खोज्ने गरी टिम सोचेको छु,’ उनले भने।
यसअघि पनि शैलुङले काठमाडौंमा एक प्रतियोगिता खेलेको थियो। तर त्यो खेल फोर ए साइड मात्र थियो। धेरै खेलाडी र प्रशिक्षक पनि अत्यावश्यक नभएको। ‘त्यो प्रतियोगिताको फाइनलमा मामाभान्जालाई हराएर उपाधि जितेका थियौं। त्यसपछि यो च्याम्पियनसिप खेल्न आएको हो,’ दीपकले भने। शैलुङले जारी च्याम्पियनसिपको पहिलो खेलमा उसले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई सोझो सेटमा हराएको थियो। त्यसपछि उसले एपिएफसँग हार बेहोरे पनि उपविजेता बन्दै अन्तिम आठमा प्रवेश गरेको हो।
विभागीय टिम एफिएफविरुद्ध पहिलो र दोस्रो सेटमा क्रमश २५–१३ र २५–१७ को हार बेहोरेको थियो शैलुङले। तर तेस्रो सेटमा उसले राम्रो सुरुआत गर्दै लिड गरिहह्यो। सुरुवातदेखि नै पछि परेको एपिएफले २०–२० को बराबरीबाट अघि बढ्दै २५–२१ ले सेट आफ्नो पक्षमा पारेपछि शैलुङ सोझो सेटमा पराजित भएको थियो। दीपककै अनुसार खेलाडीको माग चाहिँ भइरहन्छ तर शैलुङमा अहिले भलिबल खेल्ने खेलाडी घटिरहेका देखिन्छ। प्रतियोगिता पहिले धेरै हुन्थ्यो, अहिले कमै हुन्छ। त्यसैले पनि खेलाडी घटेको उनको अनुमान छ। तर खेलबारे मानिसहरु सचेत हुन थालेको दीपकको बुझाइ छ।