काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यो अघिल्लो दिनको तुलनामा १२५३ जना बढी हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १३ हजार २१७ जनाको पीसीआर परीक्षणमा ३ हजार १९४ र ५ हजार ९०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ७१० जनामा कोरोना पुष्टि भएको हो।
यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार ११५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। सोमबार तीन हजार ६५१ जनामा संक्रमण भएको थियो।