काठमाडौं– दार्चुलाको विकट गाउँ हो, व्यास गाउँपालिका–४ डोकट, जहाँ कुनै सरकारी सेवासुविधा पुगेको छैन। भारतसँग सीमा जोडिएको पहाडी गाउँ। सहरबजारतिर विश्व सञ्चारसँग जोडिएको र सञ्चारमाध्यमले विश्वलाई साँघुरो पारिदिएको बहस भइरहँदा डोकटमा भने टेलिफोनको टावरले सम्म काम गर्दैन।
वारिजस्तै पारि भारततर्फ पनि उही भू–धरातल छ। तर, त्यहाँ भने विकासले काँचुली फेरेको छ। गाडी कुद्ने चौडा सडक छन्। सवारीसाधन बेतोडले कुदिरहेका हुन्छन्। बिजुली, टेलिफोनलगायतको सुविधा छ। वारि नेपालतर्फ भने सुनसान।
त्यही डोकटमा थियो दीपेन्द्र विष्टको सानो घर। आमा राइमती विष्टले दुई सन्तानलाई त्यही झुप्रोमा पालनपोषण गर्दै आएकी थिइन्। दीपेन्द्रका बुबा दुई सन्तानको स्वर्णीम भविष्यका लागि भन्दै केही वर्षदेखि रोजगारीका लागि साउदी गएका छन्। यता राइमतीले पनि मेलापात गरेर सहज जीवनयापनका लागि दुःख गर्दै आएकी थिइन्। घरमा बस्तुभाउ पालेकी थिइन्।
तिनै बस्तुभाउका लागि घाँस काट्न भनेर उनी गत बिहीबार तुइन चढेर भारत गइन्। उनको गाउँमा तीन वटा घरमात्रै छन्। ती पनि धेरै नजिक होइनन्। जेठो छोरा घरभन्दा माथि ठूलो बुबाको घरमा गएका थिए। राइमतीले कान्छो छोरालाई घरमा एक्लै बस्न भनिन् र उनी जंगल लागिन्। १० वर्षीय दीपेन्द्रलाई एक्लै घरमा बस्न मन लागेन। उनी पनि आमाको पछिपछि गए। आमाले छोरा पछिपछि आएको भेउ नै पाइनन्।
जब राइमती घाँस काट्न तुइन चढेर भारतपट्टि पुगिन्, फर्केर हेर्दा १० वर्षीय छोरा दीपेन्द्रलाई पनि तुइनमा झुन्डिएको देखिन्। उनी आत्तिइन्। बाबु राम्ररी आउ, बाबु राम्ररी आउ भनेर कराउँदै गर्दा हेर्दाहेर्दै आँखैअघि १० वर्षीय छोरा तुइनबाट खसेर महाकालीमा हेलिए। उनी रोइन्, कराइन् तर, छोरालाई बचाउन सकिनन्।
छोरालाई बचाउनु त परको कुरा, गाउँमा नेटवर्कले काम नगर्ने भएकाले उनले प्रहरीलाई घटना भएको तीन दिनसम्म पनि खबर गर्न सकिनन्। त्यहाँबाट दार्चुला सदरमुकाम खलंगा पुग्न हिँडेर एक दिन पूरै लाग्छ। भारतको बाटो भएर गाडीको प्रयोग गरेर आउँदा करिब दुई घण्टा। भारत जानलाई पुनः त्यही तुइन चढ्नुपर्ने। उनलाई त्यो हिम्मत हुँदैन। र, घटना बिहीबार घटेको भए पनि प्रहरी तथा स्थानीय जनप्रतिनिधिले शनिबारमात्रै थाहा पाउँछन्।
वारिजस्तै पारि भारततर्फ पनि उही भू–धरातल छ। तर, त्यहाँ भने विकासले काँचुली फेरेको छ। गाडी कुद्ने चौडा सडक छन्। सवारीसाधन बेतोडले कुदिरहेका हुन्छन्। बिजुली, टेलिफोनलगायतको सुविधा छ। वारि नेपालतर्फ भने सुनसान।
आज दीपेन्द्र महाकालीमा बेपत्ता भएको चार दिन बितिसक्यो। उनको कुनै पत्तो छैन। प्रहरीले भने खोजी कार्य जारी राखेको छ।
गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले आफूले घटनाबारे शनिबार दिउँसोमात्रै जानकारी पाएको बताए। ‘त्यहाँ फोनको समस्या छ। अप्ठ्यारो बाटो छ। पातलो बस्ती छ। घटना बिहीबार दिउँसोतिर भएको भए पनि शनिबारमात्र सार्वजनिक भयो। यो मेरै वडामा घटेको दुखद् घटना हो। मेरो घरबाट पनि उहाँको घर पुग्न हिँडेर दुई घण्टा लाग्छ,’ उनले भने।
उनले शनिबार बेलुकी आफू सुन्सेरा प्रहरी चौकीका सईसहित पीडित बेपत्ता बालकको घरमा पुगेको जानकारी दिए। ‘घरमा एक्लै महिला मान्छे। निकै भावविह्वल हुनुभएको छ। हामीले उहाँलाई भेटेर हिजो घटनाका बारेमा जानकारी लिएर प्रहरीले बालकको खोजी कार्य थालेको छ,’ उनले भने।
उनी डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत रहेको उपाध्यक्ष कुँवरले बताए। दीपेन्द्रका दाइ भने सोही विद्यालयमा कक्षा ६ मा अध्ययन गर्छन्। उपाध्यक्ष कुँवरले आफूले हिजो दीपेन्द्रकी आमालाई भेटेको र उनको पीडालाई कम गर्न केही दिनमै राहत प्रदान गरिने बताए। ‘हामीले केही दिनमै पीडित परिवारलाई सकेको राहत प्रदान गर्नेछौं। हामीले जिल्लामा दुइन नरहेको बताइरहे पनि अझै लुकीछिपी तुइनको प्रयोग भइरहेको पायौं। केही समयपछि हामीले अनुगमन गरेर पालिकामा रहेका तुइनलाई विस्थापित गर्नेछौं। यो घटनाले हामीलाई निकै दुःखी तुल्याएको छ,’ उनले भने। घटनाबारे जानकारी दिँदै बेपत्ता बालकको घरमा प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक जगत गाहामगरले जानकारी दिए।
तुइनबाटै महाकालीले लियो ६२ जनाको प्राण
पहिलो पटक प्रधानमन्त्री भएलगत्तै केपी शर्मा ओलीले २०७२ साल असोज २५ गते देशभरबाट तुइन विस्थापन गर्ने घोषणा गरे। सरकारले तुइन विस्थापन गरेको पनि सात वर्ष भयो। तर, तुइनबाट खसेर ज्यान गुमाउने क्रम रोकिएको छैन।
व्यास गाउँपालिका–२ मालघाटमा साउन १५ गते महाकाली तर्ने क्रममा एसएसबीले तुइन काटिदिँदा एक नेपालीले ज्यान गुमाएका थिए। सदरमुकाम खलंगा आउने क्रममा तुइनबाट महाकाली तरिरहेको देखेपछि एसएसबीले तुइन चुँडाली दिएको थियो। त्यसपछि ३५ वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए।
त्यो घटनामात्रै होइन, पछिल्ला ६४ वर्षमा तुइनबाट खसेर दार्चुलाको महाकालीमा मात्रै ६३ जना बिलाएका छन्। उनीहरूमध्ये दुईको मात्रै शव भेटिएको छ । ६१ जनालाई प्रहरी र स्थानीय तहको वडा कार्यालयले बेपत्ताको सूचीमा राखेका छन्।
तुइनबाट महाकालीमा खसेकामध्ये व्यास गाउँपालिका– ५ का दिलीपसिंह धामी र वीरसिंह धामीको शव मात्रै भेटिएको हो। उनीहरू २०५८ मा सोही वडाको ठन्डापानीस्थित तुइनबाट खसेका थिए। यीसहित ब्यास– ५ का मात्रै १९ जना जिल्लाका विभिन्न तुइनबाट खसेर बेपत्ता छन्।
जिल्ला प्रहरी र वडा कार्यालयको तथ्यांकअनुसार व्यास– २ का मात्रै २४ जना तुइनबाट खसेर बेपत्ता छन्। सबैभन्दा धेरै यही वडाका नागरिक बेपत्ता भएका हुन्। व्यास– ६ का आठ, व्यास– ३ का पाँच र व्यास–४ का तीन जना बेपत्ता भएका छन्। दार्चुलाकै नौगाड गाउँपालिकाका एक, दोलखाको भीमेश्वर नगरपालिका– ६ का एक, कैलाली लम्कीका एक र ठेगाना नखुलेका अर्का एक जना पनि तुइनबाट महाकालीमा बेपत्ता भएका छन्।
सबैभन्दा धेरै १२ जना व्यास–२ को तल्लो दुम्लिङघाटस्थित तुइनबाट खसेका छन्। व्यास– ५ को ठन्डापानीस्थित तुइनबाट ११, व्यास– २ को मालघाट तुइनबाट नौ, व्यास– ५ को तिगरमघाटबाट ६ र व्यास– ६ को एलागाड तुइनबाट पाँचजना महाकालीमा खसेको तथ्यांक प्रहरीसँग छ। व्यास– ४ को मगडाउँबाट चार तथा व्यास– ६ को कालागाड, व्यास– ५ को नाजीघाट र फताङघाटबाट तीन–तीनजना बेपत्ता भएको प्रहरीले जनाएको छ।
बिन्दलामा दुई तथा कल्जु, महाकाली, बर्तीघाट, बल्जुडी र घाटीबगडस्थित तुइनबाट एक–एकजना हराएका छन्। दोलखा भीमेश्वर– ६ स्थायी घर भएका इन्जिनियर ४२ वर्षीय राजेन्द्र न्यौपाने १३ जेठ २०७६ मा व्यास– ४ को बर्तीघाटस्थित तुइनबाट खसेका थिए।
यसरी वर्षेनी तुइनबाट ज्यान गुमाउनु परेपछि दार्चुलावासीले आफूहरूका लागि राज्य नै नभएको आभास भइरहेको गुनासो गरेका छन्। ‘सरकार ! महाकालीले फेरि निल्यो ‘कलिलो भविष्य’ भन्दै स्थानीयले राज्यप्रति चिन्ता मिश्रित प्रश्न तेर्स्याइरहेका हुन्।