काठमाडौं– कांग्रेस केन्द्रीय परिचालन समिति बैठकमा विभिन्न उपसमिति संयोजकले आ–आफ्नो उपसमितिको प्रतिवेदन पेस गरेका छन्। गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीको तयारीका लागि कांग्रेसले नेता गोपालमान श्रेष्ठको संयोजकत्वमा उक्त समिति गठन गरेको थियो।
बुधबार केन्द्रीय परिचालन समिति संयोजक श्रेष्ठको संयोजकत्वमा बसेको बैठकमा विभिन्न उपसमितिका संयोजकले आ–आफ्नो समितिको प्रतिवेदन पेस गरेका हुन्। पेस गरिएका प्रतिवेदन आउँदो २८ पुसमा बस्ने केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत गरिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
बैठकमा केन्द्रीय सदस्य जीपछिरिङ लामा, आनन्दप्रसाद ढुंगाना, मीन विश्वकर्मा, गोविन्द भट्टराई, सरिता प्रसाईं, रमा कोइराला पौडेल, चन्द्रबहादुर केसी, मञ्जु खाँण, हरिशरण नेपाली, जानकी सिंह, कान्तिका सैजुवाल, पूर्वकेन्द्रीय सदस्य किरण गिरी र अनुगमन तथा सुपरिवेक्षण उपसमिति सह–संयोजक डा कृष्णप्रसाद पौडेलले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।