शनिबार, वैशाख ८, २०८१

राष्ट्रिय खेलकुद परिषद् बिचौलिया भयो, खारेज हुनुपर्छ

सरकारको लगानी हुनुपर्‍यो नि। पैसा नदिइकन मेडल आउँछ र? पैसा दिएपछि पो लगानी र अभ्यास हुन्छ। खर्च दुई पैसा पनि नगर्ने। आफ्नो कर्मचारी र पदाधिकारीको भ्रमण आदेश गरेर खेलाडी र खेल विकासको लागि आएको पैसा सिद्ध्याउने।
 |  बुधबार, पुस २०, २०७९

विनय सापकोटा

विनय सापकोटा

बुधबार, पुस २०, २०७९

नेपाल तेक्वान्दो संघ र राष्ट्रिय तेक्वान्दो संघलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) र युवा तथा खेलकुद मन्त्रालयले खारेज गरेका छन्। एकै प्रकृतिका दुई खेल संघ भएको भन्दै मन्त्रीस्तरिय निर्णयले दुवै संघ खारेजीमा परेका हुन्। राखेपले प्रदीप जोशीको अध्यक्षतामा नेपाल तेक्वान्दो महासंघको तदर्थ समिति गठन गरेको छ। समितिले चाँडै निर्वाचन गर्ने जिम्मेवारी पाएको छ। तर, संघ विघटनको निर्णयविरुद्ध राखेप, मन्त्रालय तथा सरकारलाई विपक्षी बनाएर नेपाल तेक्वान्दोले उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। यो मुद्दाको सुनुवाइ आज (पुस २० गते) हुँदैछ। यसबीच, तेक्वान्दो संघ र त्यहाँका पदाधिकारीलाई विभिन्न आरोपहरू लागिरहेका छन्। संघले कार्यक्रम नगरेको, आर्थिक अपचलन गरेको, तानाशाही प्रवृत्तिबाट संघ चलाएको आरोप विघटित नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङलाई लागेको छ। यसै विषयमा केन्द्रित रहेर नेपाल समयका लागि विनय ज्योति सापकोटाले विघटित नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङसँग संवाद गरेका छन्।

triton college

तपाईंले त संघमा तानाशाही चलाउनु भयो भन्ने आरोप लागेको छ, के यो साँचो हो?

नियम, कानुन र संघको विधान अनुसार चलेको संस्थालाई र त्यहाँको निर्वाचन अनुसार चलेको संस्थालाई तानाशाही भन्नु बेकार हो। मन्त्री गहतराज (महेश्वर जंग गहतराज, निवर्तमान युवा तथा खेलकुद मन्त्री)जीले जसरी महासंघ गठन गर्नु भयो, त्यो तानाशाही हो। मन्त्री भएर तानाशाही तरिकाले संघ गठन गरियो। नेपाल सरकारले एनजीओ, आईएनजीओ गठन गर्न पाइन्छ? नेपाल तेक्वान्दो चाहिँ विधि अनुसार निर्वाचित कार्यसमिति भएको संघ हो। यस्तो संघले गरेको काम तानाशाही हुँदैन।

यदि कसैलाई त्यस्तो लाग्छ भने त्यो अनुशासनमा बस्न नसक्नेलाई हो। हामीले अनुशासन कायम गर्दा नियम पूर्वक, विधि पूर्वक हिँड्नु पर्‍यो भन्दा कसरी तानाशाही हुन्छ?

तपाईंले त १३औं सागका सफल पूर्वमुख्य प्रशिक्षक नवीन श्रेष्ठलाई नै प्रशिक्षक नबनाउनु भएको होइन र?

corrent noodles
Metro Mart

नवीनलाई हामी चिन्दैनौँ। नेपाल तेक्वान्दो संघको उनी सदस्य पनि होइनन्। नवीन श्रेष्ठ एण्ड कम्पनीलाई हामी चिन्दैनौं। उनीहरू भनेको राखेपको कर्मचारी हो। राखेपको कर्मचारीले आफ्नो डिउटी गर्ने हो? कर्मचारीको चाहिँ काम, कर्तव्य र अधिकारमा के पर्छ त्यो गर्ने कि राजनीति गर्ने हो?

नेपाल तेक्वान्दोमा खेल्न र प्रशिक्षण गर्न पहिले तपाईंलाई रुझाउनु पर्छ रे त?

होइन, उहाँहरू नेपाल तेक्वान्दो संघ अन्तर्गतको कर्मचारी होइनन्। उहाँहरूले तेक्वान्दो संघले आयोजना गरेको प्रतियोगिता होस् वा प्रशिक्षण होस्, बस्न पाउनु हुन्न। किनभने उहाँहरू राखेपको कर्मचारी हो। र, नेपाल तेक्वान्दो संघलाई उहाँहरूलाई राख्नुपर्छ भन्ने बाध्यता पनि छैन। उहाँ तेक्वान्दोको मुख्य प्रशिक्षक हो, तेक्वान्दो संघको होइन। फुटबल, क्रिकेटमा पनि यस्तै हुँदैन र? राखेपको एउटा प्रशिक्षक हुन्छ, फुटबल संघको अर्कै हुन्छ।

राखेपको मुख्य प्रशिक्षकको काम त आफू मातहतका कर्मचारीलाई खटनपठन गर्ने हो। राष्ट्रिय टिमलाई अभ्यास गराउने काम होइन।

तेक्वान्दोले राखेप र विश्व तेक्वान्दोले खर्च गर्ने प्रतियोगितामा मात्र भाग लिएको छ। आफ्नो खर्चमा स्पोन्सर खोजेर कार्यक्रम गरेको छैन भन्ने आरोप छ। त्यो गर्नु पर्दैन?

हामीले काम किन गरेको छैन? हाम्रो वेभसाइटमा हेर्नुहोस्। अस्ति मात्र त्यत्रो १७औं राष्ट्रिय प्रतियोगिता गर्‍यौ। हाम्रो कार्यक्रम सधैँ भइरहेको छ। शनिबारमात्र हामीले अभ्यास र प्रतियोगिता गरेका छौं। राखेपले त एउटा कार्यक्रम गर्छ। नवौं राष्ट्रिय खेलकुद गर्‍यो नि त्योमात्र त हो। 

एउटा के कुरा क्लियर हुनुपर्‍यो भने, संघहरू राखेपका हली होइनन्। राखेपले संघ चलाउने होइन। राखेपको सदस्य सचिवले संघ चलाउने होइन।  किनभने संघ भनेको त, स्वायत्त संस्था हो। आफूले गर्न सक्ने काम आफैँले गर्ने हो। आफूले गर्न सक्ने कामको अधिकार आफैँले लिन्छ।

खेलकुद परिषद्को सदस्य सचिव र मन्त्रीलाई सोध्नु पर्ने आवश्यकता छैन। संघ चलाउने हामीले हो।

तेक्वान्दोले एसियाली स्तरमा २००२ देखि नै मेडल ल्याउन सकेको छैन। यसको जबाफदेही नेपाल तेक्वान्दो हुनु पर्दैन?

त्यही प्रशिक्षकले १३औं सागमा अभ्यास गराएर धेरै मेडल ल्याएको भनेको होइन। १३औं सागमा तेक्वान्दोका ३४ मध्ये सबै खेलाडीले मेडल ल्याएको अनि फेरि तेक्वान्दो संघले नल्याएर कुन संघले चाहिँ ल्याएको छ मेडल? एसियाली स्तरको प्रतियोगितामा कुन संघले ल्याएको छ? अनि तेक्वान्दो संघले मात्र मेडल ल्याउनु पर्ने हो?

सरकारको लगानी हुनुपर्‍यो नि। पैसा नदिइकन मेडल आउँछ र? पैसा दिएपछि पो लगानी र अभ्यास हुन्छ। खर्च दुई पैसा पनि नगर्ने। आफ्नो कर्मचारी र पदाधिकारीको भ्रमण आदेश गरेर खेलाडी र खेल विकासको लागि आएको पैसा सिद्ध्याउने। अनि संघले चाहिँ मेडल ल्याउनु पर्छ भन्ने?

१३औं सागमा त्यत्रो मेडल आउँदा खै सरकारले के दियो? पुरस्कार त दिएन। तक्मा थाप्न पनि राखेपको सदस्य सचिव रमेश सिलवाल, कर्मचारी कुल बहादुर थापाले पुरस्कार थापेको होइन। संघ र खेलाडीले के पायो। यद्यपि सरकारले पदक विजेता खेलाडी र संघलाई नगद पुरस्कार भने दिएको छ।। विधि त्यही हो? नीति त्यही हो? त्यसैले राखेप खारेज हुनुपर्छ। म लुकाएर कुरा गर्दिन। राखेपको काम नै छैन।

राखेप नै खारेज गर्ने भन्नु भयो? खेल संघ नियमन गर्ने तपाईंले चाहेको चाहिँ कस्तो संरचना हो त?

यो सबै कुरा संघले नै चलाउनु पर्छ। फुटबलको विकास गर्नका लागि संसारमा ओलम्पिक कमिटीले गर्ने हो र? कसले गर्छ, फिफाले होइन। नेपालमा फुटबलको विकास गर्नका लागि एन्फा (अखिल नेपाल फुटबल संघ) चाहिन्छ कि राखेप चाहिन्छ?

क्रिकेटको विकास गर्नका लागि क्रिकेट संघ चाहिन्छ कि राखेप चाहिन्छ? त्यस्तै तेक्वान्दो विकासका लागि चाहिने संघ हो कि खेलकुद परिषद्? आआफ्नो खेलको विकास संघले आफैँ गर्छ नि। किन चाहियो खेलकुद परिषद्? बिचौलिया किन चाहियो? खेलकुद परिषद् भनेको बिचौलिया हो।

१३औं साग गेम्समा खेलाडीको भत्ता तपाईंहरूले नै राख्नु भयो रे?

खै त्यो थाहा छैन। संघमा राखेको भए त संघको हिसाबकिताबमा आइहाल्छ नि। हामीले चाहिँ खेलकुद परिषद्लाई दिँदैनौं। हामीले अडिट गरेर त्यहीँ खेलकुद परिषद्लाई नै दिएका छौं। बाहिर बोल्ने मानिसहरूको तुकै छैन। न खेलकुद परिषद्ले संघलाई पैसा दिएको छ न संघले। सबै मुख्य प्रशिक्षकलाई दिएको छ। संघलाई पैसा दिएको भर्पाइ मुख्य प्रशिक्षकले देखाओस् न त। संघलाई दियो भने पनि व्यक्तिले खाने होइन। खेलाडीलाई नै दिने हो नि।

कुकिवनको सर्टिफिकेट बारेमा एउटा स्टोरी आएको थियो, तपाईंले भारतीय नागरिकलाई सर्टिफिकेट बेचेर लाखौं कमाएको भन्ने। त्यो बारेका तपाईंको धारणा के छ?

भारतीय नागरिकलाई? ए त्यस्ता कुरा, भारतीय मात्र होइन। अन्तर्राष्ट्रिय स्तरका जति नेपालमा आउँछन् उनीहरूलाई कुकिवनको सर्टिफिकेट दिने आधिकार हामीलाई छ। भारतको मात्र होइन अमेरिकाको आए पनि हामी दिन्छौं। हाम्रो सर्टिफिकेटबाट अमेरिकामा पनि खेलिरहेको छ। उनीहरूलाई त केही नेपालबाट ल्याएको भनेर भनेको छैन त।

यो हाम्रो अधिकारको क्षेत्र हो। कुकिवनको फोर डान ब्ल्याक बेल्ट जसले लिएको छ उसले संसारभरि जहाँ गएर सही गरिदियो भने पनि त्यो सर्टिफिकेट भइहाल्छ। तेक्वान्दो संघ त धेरै माथि हो। त्यो वाहियात कुरा हो। यही नेपालको फोर डान ब्ल्याक बेल्ट पाएको जो छ,  नेपाल तेक्वान्दो संघ सम्बन्ध नभएकोले पनि दिन सक्छ। एलियन बाहेक सबैलाई दिन सकिन्छ।

अनि, कम ग्रेड भएकोलाई ओलम्पिक स्कलरसिप दिएको भनेर पनि विरोध गरेका छन् साथीहरूले। यो जुन स्कलरसिप छ नि त्यो चाहिँ अन्तर्राष्ट्रिय ओलम्पिकले नेपाल ओलम्पिकलाई कोटा दिन्छ। नेपाल ओलम्पिकले हामीलाई दिन्छ।

अनि हामीलाई दिएको कोटामा एक जना फिमेल एथ्लिटलाई सिफारिस गर्नु भनेर आएपछि दिएको हो। अहिले सुनेको भुपेन भन्ने खेलाडीलाई दिनु पर्ने थियो भन्ने छ। कि हामीले भुपेनलाई महिला बनाएर दिनु पर्‍यो। होइन त? हामीले महिला आएपछि महिलाकै सिफारिस गरेको हो। ऊ मात्र राम्रो भन्ने पनि भएन नि। तेक्वान्दोमा महिला र पुरुषको आठ–आठ तौलसमूह हुन्छन्। यसरी आआफ्नो तौल समूहमा १६ जना उत्कट हुन्छन्। तौलसमूहमा हामीले वेस्ट छान्ने हो। त्यो मध्येमा को राम्रो हो भन्ने निर्णय गर्ने त नेपाल तेक्वान्दो संघ हो। यहाँ मान्छेलाई अलमलाउने, झुटो प्रचारप्रसार गर्ने काम भइरहेको छ।

प्रकाशित: Jan 04, 2023| 11:11 बुधबार, पुस २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।