काठमाडौं- खुलामञ्चमा भूमिगत पार्किङ बनाउने काठमाडौं महानगरपालिकाको योजनामा उपमेयर सुनिता डंगोलले असहमति प्रकट गरेकी छन्। टुँडीखेलको आफ्नै ऐतिहासिक महत्व रहेको तर्क गर्दै उनले त्यसलाई मास्ने योजना महानगरको हुन नसक्ने बताएकी छन्।
खुलामञ्चमा पार्किङ बनाउने महानगरको योजना फिर्ताका लागि दबाब दिन गएको टोलीको ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले मेयर बालेन शाहले अगाडि सारेको भूमिगत पार्किङको योजनाको पक्षमा जनसमर्थन नभए त्यो काम अगाडि बढ्न नसक्ने बताइन्। उनले लोकतन्त्रमा सबैभन्दा माथि जनता हुने प्रष्ट पार्दै जनचाहना विपरीत कुनै निर्णय नहुने आश्वासन दिइन्। अहिले धरहरालगायतका स्थानमा पनि भूभिगत पार्किङका लागि संरचना तयार भइरहेकोले खुलामञ्च मासेर पार्किङ बनाउनुपर्ने आवश्यकता नै नरहने उनको भनाइ थियो।
टुँडीखेलमा भूमिगत पार्किङ बनाउने योजना फिर्ता लिन माग गर्दै सोमबार विरोध प्रदर्शनसहित अकुपाइ टुँडीखेल अभियानको टोली ज्ञापनपत्र बुझाउन महानगर कार्यालयमा पुगेको थियो। टोलीलाई मेयर बालेनलाई भने भेट दिएनन्। मेयर नभेटिएपछि उपमेयरलाई ज्ञापनपत्र बुझाइएको थियो।
काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका बैठकले खुलामञ्चमा भूमिगत पार्किङ बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार पार्न नगर विकास कोषलाई जिम्मा दिने निर्णय गरेको थियो। तर उपत्यकाको मुटुमा रहेको टुँडीखेलको खुला क्षेत्र मास्न नहुने भन्दै स्थानीय वासिन्दा र संरक्षणकर्मीहरु विरोधमा छन्।