काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस २६ गते विश्वासको मत लिने भएका छन्। प्रधानमन्त्री दाहालले संसद् सचिवालयलाई पत्र लेख्दै पुस २६ गतेको प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यसूची समावेश गर्न आग्रह गरेका हुन्।
२६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा दाहालले विश्वासको मत लिने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए। राष्ट्रपति विद्यादेवी भण्डारीले दुवै सदनको अधिवेशन पुस २५ गते बोलाएकी छन्।
प्रचण्ड गत पुस १० गते नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका १६६ र ३ जना स्वतन्त्र सांसद प्रभु साह, किरणकुमार साह र अमरेशकुमार सिंह गरी १६९ सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए।
उनको सरकारमा आठ सदस्यीय मन्त्रिपरिषदमा तीनजना उपप्रधानमन्त्री छन्। उपप्रधान तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्रीमा नारायणकाजी श्रेष्ठ र उपप्रधान तथा गृहमन्त्रीमा रवि लामिछाने नियुक्त भएका छन्।
यस्तै, एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्रकुमार राई विभागीय मन्त्री बनेका छन्। बाँकी मन्त्रिपरिषद् विस्तार विश्वासको मत लिएपछि मात्रै गर्ने तयारीमा प्रचण्ड रहेका छन्।