काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरू सरकारमा सहभागी नहुने बताएका छन्। सोमबारदेखि जारी पोलिटब्यूरो बैठकमा उनले नेकपा एमालेसहित सात दलको समर्थनमा बनेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने बताएका छन्।
उनले वर्तमान परिस्थितमा पार्टी सही दिशामा रहेकाले कसैको अघि नझुक्ने बताए। यस्तै बैठकमा वरिष्ठ नेता झलनाथ खनालले वामपन्थी दलबीच कार्यगत एकता भएमा सरकारमा सहभागी हुन सकिने बताएका थिए। विचार, नीति र सिद्धान्त फरक भए पनि साझा राष्ट्रिय सवालमा वामपन्थी दलबीच कार्यगत एकता गर्नुको विकल्प नरहेको उनले बताएका थिए।
शनिबार र आइतबार भएको स्थायी कमिटी बैठकमा सरकारमा जाने र नजाने विषयमा सदस्यहरु विभाजित भएका थिए।
पोलिटब्युरो बैठकपछि सञ्चारकर्मीलाई बैठकमा भएको छलफलबारे जानकारी दिँदै प्रवक्ता जगन्नाथ खतिवडाले सरकारमा जाने भन्दा पनि सरकारलाई हेर्ने दृष्टिकोणका विषयमा छलफल भइरहेको बताएका छन्। उनले प्रचण्डप्रति आफ्नो पार्टीको सद्भाव रहेको तर औपचारिक प्रस्तावसमेत नआएकाले अहिले सरकारमा सहभागी हुनेबारे छलफल गर्न जरुरीसमेत नरहेको बताए। उनले पार्टीलाई सुदृढ बनाएर मात्रै उपलब्धी हासिल गर्नसक्ने भएकाले पार्टी सुदृढीकरणमा लाग्ने जानकारी दिए।
यस्तै उनले बाम एकताका विषयममा सबैको मत एक रहेको जनाए।