काठमाडौं– गत ४ मंसिरको निर्वाचनमा राजधानी काठमाडौं र उपत्यकाभित्रका सहरी क्षेत्रमा रजगज गरेको राष्ट्रिय स्वतन्त्र पार्टी काँठ क्षेत्रमा पुग्ने गरी संगठन विस्तार गर्ने तयारीमा जुटेको छ।
सहरी क्षेत्रमा मात्र सीमित रहेको पार्टीले मंसिरको निर्वाचनमा सोचेअनुरुप जनमत पाएपछि देशव्यापी संगठन निर्माण गर्न २१ पुसमा केन्द्रीय समिति बैठक बोलाउने तयारी भएको हो।
जन्मिएको आधा वर्षमै संसदीय चुनावमा प्रत्यक्ष र समानुपातिकबाट २० सिट कुम्ल्याउन सफल भएर प्रतिनिधिसभाको चौथो शक्ति बनेको रास्वपा अब देशव्यापी संगठन विस्तारमा लाग्ने उपसभापति डोलप्रसाद अर्यालले बताए।
उनले भने, ‘सात दलीय सरकारमा हाम्रो हिस्सा महत्त्वपूर्ण छ। ऋब सरकार मात्र नभई केही समय संगठन विस्तारमा लाग्छौं। यसबारे नीति बनाउन २१ पुसमा केन्द्रीय समितिको बैठक बोलाउने तयारी छ।
पार्टी सभापति रवि लामिछाने पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान र गृहमन्त्री छन्। लामिछाने चितवन २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। रास्वपाको हाल २४ सदस्यीय केन्द्रीय समिति छ। त्यसलाई बढाएर संख्या थपिने अर्यालको भनाइ छ।
उनका अनुसार रास्वपाले वडा, पालिका, जिल्ला, प्रदेश र केन्द्रसम्मका पाँच वटा संरचनाअनुसार संगठन बनाउनेछ। वडा र पालिका संगठन ११ सदस्यीय हुने अर्यालले बताए। रास्वपाले समानुपातिकमा ११ लाख मत पाएको थियो।