काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न मन्त्रालयको काम–कारबाहीबारे सम्बन्धित निकायका सचिवसँग जानकारी माग गरेका छन्।सोमबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा विभिन्न मन्त्रालयका सचिव र विभागीय प्रमुखलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले काम–कारबाहीको विवरण मागेकाहुन्।
सरकार प्रमुखको हैसियतले प्रधानमन्त्री प्रचण्डले विभिन्न मन्त्रालय र निकायका काम–कारबाहीको जानकारी लिन थालेको मुख्यसचिव शंकरदास बैरागीले बताए। प्रधानमन्त्री प्रचण्डले काम–कारबाहीको विवरण मागेपछि तालुकवाला मन्त्रालयका सचिवले आ–आफ्नो मन्त्रालयको प्रगति विवरण र भोग्नुपरेका समस्याबारे ब्रिफिङ गरेको बैरागीको भनाइ छ।
मुख्य सचिव बैरागीले भने, ‘हामी छलफलकै क्रममा छौं। विभिन्न मन्त्रालयबाट संक्षेपमा प्रस्तुति भएको छ। केही निकाय बाँकी छन्। भोलि सबैको विवरण लिएपछि प्रधानमन्त्रीज्यूको निर्देशन आउँछ। सरकार प्रमुखका रुपमा विभिन मन्त्रालय, निकायबाट भइरहेको कामबारे त्यही सन्दर्भमा छलफल भएको हो।’
सबै मन्त्रालयका सचिवहरुले आजै सबै विवरण भने प्रधानमन्त्रीसमक्ष पेस भने गरेनन्। प्रधानमन्त्री भएपछि प्रचण्डले पहिलो पटक विभिन्न मन्त्रालयका काम–कारबाहीबारे चासो लिएका हुन्।