बुटवल- लुम्बिनी प्रदेशमा एमाले संसदीय दलको नेतामा लिला गिरी सर्वसम्मत चयन भएका छन्। नेता चयन संगै लुम्बिनीको सरकारको नेतृत्व नेकपा एमालेका पोलिटब्यूरो सदस्य गिरीले गर्ने संभावना बढेको छ।
एमालेले लुम्बिनी प्रदेशसभा संसदीय दलको नेतामा पोलिटब्युरो सदस्य तथा प्रदेश सहइन्चार्ज रहेका गिरीलाई सर्वसम्मत चयन गरेको हो। संसदीय दलको नेता बनेसँगै उनको मुख्यमन्त्री बन्ने संभावना बलियो भएको हो। आइतबारै एमाले महासचिव शंकर पोखरेलले दाङ पुगेर लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने बताइसकेका छन्।
आइतबार बिजौरीस्थित महासचिव शंकर पोखरेल निवासमा भएको नेताहरुले छलफल गरी एमाले पोलिटब्यूरो सदस्य गिरीलाई संसदीय दलको नेता बनाउने सहमति गरेका थिए। त्यसपछि अपरान्ह बसेको संसदीय दलको बैठकले गिरीलाई संसदीय दलको नेता चयन गरेको हो।
गिरी यसअघि शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्री रहेका थिए। उनी रुपन्देही २ को १ बाट निर्वाचित भएका हुन्।
एमाले लुम्बिनी प्रदेश सरकारको नेतृत्व गर्ने अवसर पाए गिरी मुख्यमन्त्री बन्नेछन्। प्रदेशमा ठूलो दल भएकाले एमालेले नेतृत्व पाउनुपर्ने एमाले महासचिव पोखरेलको भनाइ छ।