काठमाडौं– चीनमा ओमिक्रोनको सब भेरियन्ट (उपप्रजाति) बीएफ–७ फैलिएसँगै नेपालमा पनि उच्च जोखिम छ। सरकारले संक्रमण बढ्ने जोखिम भएकाले सीमा नाका तथा हवाईस्थलमा स्वास्थ्य सतर्कतामा कडाइ गरेको छ। तर पछिल्ला दिनमा विदेशबाट नेपाल आउने व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ।
गत बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको हेल्थ डेस्कमा परीक्षण गर्दा यूएईबाट आएका एक युवामा एन्टिजेन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो। त्यसपछि उनलाई शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा पठाइएको हेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेले बताए। एन्टिजेन पोजेटिभ देखिएपछि हाल चीन लगायतका देशमा ओमिक्रोनको ‘बिएफ सेभेन’ सब भेरिएन्टको बढ्दो संक्रमणदरको जोखिम ध्यानमा राख्दै उनलाई टेकु अस्पताल पठाइए पनि अस्पतालले भने उनमा कुनै लक्षण नदेखिएको भन्दै घर पठाएको छ। टेकु अस्पतालका इमर्जेन्सी इन्चार्ज लीलानाथ भण्डारीका अनुसार एन्टिजेन पोजेटिभ देखिएर टेकु अस्पताल पठाए पनि संक्रमितमा कुनै पनि लक्षण नदेखिएकाले संक्रमितलाई होम आइसोलेसनमा बस्न घर पठाइएको हो। सरकारले पनि लक्षण नभएकालाई घर नपठाउने भन्ने कुनै निर्देशन नभएकाले उनलाई घर पठाइएको भण्डारीले बताए। ‘हामीले आज पनि उनलाई सम्पर्क गरेका छौं। उनमा कुनै समस्या देखिएको छैन र उनी होम आइसोलेसनमा छन्,’ भण्डारीले भने।
सरकारले नयाँ भेरिएन्टको जोखिमसँगै नेपाल बाहिरबाट आएका व्यक्तिलाई एन्टिजेन परीक्षण गरी पोजेटिभ आए अस्पताल र नेगेटिभ आए घर पठाउने कार्यविधि बनाएको छ। संक्रमित व्यक्तिको जिन सिक्वेन्सिङ गरेपछि मात्रै घर जाने व्यवस्था भए पनि यूएईबाट आएका ती युवकलाई भने घर पठाइएको छ।
अबको केसमा भने जिन सिक्वेन्सिङ नै गरेर नयाँ भेरियन्ट हो या हैन भन्ने पहिचान गरिने उनले बताए। चीन लगायतका देशमा संक्रमण बढ्दै गएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिने यात्रुमा देखिएको यो पहिलो केस रहेको डेल्थ डेस्कका प्रमुख गोपाल पाण्डेले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता तथा आपतकालीन स्वास्थ्य व्यवस्थापन केन्द्र (एचईओसी) प्रमुख डा. समीर अधिकारीका अनुसार पछिल्लो समय ओमिक्रोनको उपप्रजाति बीएफ ७ का संक्रमित छिमेकी देशमा बढ्न थालेसँगै हवाई तथा स्थलगत सीमानाकाका सबै हेल्थ डेस्कलाई उच्च सतर्कता अपनाइएको छ। हालसम्म नेपालमा ओमिक्रोनको उपप्रजाति बीएफ ७ का संक्रमित नभेटिए पनि बिहीबार आएका ती युवकमा एन्टिजेन पोजेटिभ देखिएपछि शंका उत्पन्न भएको छ।
‘हामीले सीमा नाकामा उच्च सतर्कता अपनाउन र नाकाबाट आउनेको ओमिक्रोनको सब भेरियन्ट बीएफ ७ लक्षण भएकालाई परीक्षण गर्न निर्देशन दिएका छौं,’ डा. अधिकारीले भने, ‘यस्तै पछिल्लो समय हाम्रोमा कोभिडको परीक्षण गराउने संख्या घटेको छ तर अब कोभिड परीक्षणको दर बढाउनुपर्ने छ।’ हाललाई जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गर्ने सीमा नाकामा कडाइ गर्दै लैजाने भए पनि भारत तथा अन्य देशमा हुने संक्रमण दर हेरी थप सतर्कताको निर्णय गरिने समेत डा. अधिकारीले बताए।
आक्रामक छ ओमिक्रोनको उपप्रजाति
हालसम्मको विवरणअनुसार ओमिक्रोनको उपप्रजाति ‘बीएफ ७’ ओमिक्रोनका अन्य सब भेरियन्टभन्दा अलि आक्रामक रहेको बताइएको छ। शुक्रराज अस्पतालका सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन हाल चीनमा यो भेरियन्टबाट संक्रमित भएकाहरूले खोप लगाएको वा नलगाएको र कति समयअघि खोप लगाएका थिए भन्ने कुरा प्रष्ट रूपमा खुलेपछि मात्रै भन्न सकिने बताउँछन्। पुन भन्छन्, ‘बीएफ ७ अब नेपालमा पनि ढिलो– चाँडो फैलिन्छ तर कतिको घातक छ भन्ने कुरा तत्काल भन्न सकिने अवस्था छैन। यदि पूर्ण खोप र बुस्टर डोज पनि लगाएका व्यक्तिमा पनि कोरोना फैलिरहेको छ भने यसलाई घातक भन्न सकिन्छ।’
डा. अधिकारीका अनुसार संक्रमण भएपछि ‘बीएफ ७’को लक्षण ओमिक्रोनको भेरियन्टको जस्तै टाउको दुख्ने, घाँटी खसखसाउने तथा नाकबाट पानी बग्ने जस्ता देखिने भए पनि संक्रमणको हिसाबले हालसम्म देखिएको ओमिक्रोन तथा यसका अन्य भेरियन्टभन्दा अलि बढी संक्रामक रहेको देखिएको छ।
डा. पुनका अनुसार चीनमा विकसित भेरोसेल तथा सिनोफार्मका खोपको प्रभावकारिता पनि कम भएको विभिन्न अध्ययनले देखाएका छन्। नेपालमा पनि भेरोसेल तथा सिनोफार्मका खोप लगाएका व्यक्तिहरु भएकाले खोपको प्रभावकारिता कम हुने बीएफ ७ सहजै फैलने अनुमान गर्न सकिने डा. पुन बताउँछन्। उनका अनुसार हाल नेपालमा धेरैले खोप लगाए पनि पछिल्लो समय बुस्टर डोज खोप लगाउनेको संख्या घट्दै गएको अवस्थामा एन्टीबडी घट्दै गएको हुँदा बुस्टर डोज नलगाएकाहरु नयाँ भेरियन्टको घेरामा पर्न सक्छन्। त्यसैले बुस्टर डोज खोप लगाउन उनको आग्रह छ।
राष्ट्रिय खोप सल्लाहकार समितिको ०७९ भदौ २० गतेको सिफारिस तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको २०७९ कात्तिक १७ को मन्त्रीस्तरीय निर्णयअनुसार कोभिडविरुद्ध खोपको दोस्रो बुस्टर अर्थात् चौथो खोप सुरु गर्न भनिएको थियो। तर हाल बुस्टर डोज खोप लगाउनका लागि खोपको अभाव छ।
नेपालमा कोरोनाविरुद्धको खोप अभियान शुरु भएदेखि हालसम्म ६ करोड १७ लाख ७६ हजार ७७० मात्रा खोप आइसकेको छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार हाल नेपालमा ४७ लाख खोप मौज्दात छ।