काठमाडौं– २०३२ सालमा जग्गा अधिग्रहण सुरु भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण ४७ वर्षपछि बल्ल पूरा भएको छ। राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माण भएको यो विमानस्थलको उद्घाटन आज आइतबार हुँदैछ। निर्माण कार्य सकिएलगत्तै विमानस्थल सञ्चालनमा ल्याउन लागिएको हो।
पोखरा विमानस्थल कार्यालयका अनुसार विमानस्थल उद्घाटनको जिम्मा पोखरा महानगरपालिकाले पाएको छ। महानगरले विमानस्थल उद्घाटनलाई एउटा उत्सवको रुपमा लिएको छ। आज पोखरामा सार्वजनिक बिदा दिइएको छ भने साँझ घरघरमा दीपावली गर्न आग्रह गरिएको छ। विमानस्थल उद्घाटन समारोहलाई भव्य बनाउन र व्यापक जनसहभागिता गराउन बिदा दिइएको महानगर प्रमुख धनराज आचार्यले बताए। उनले भने, 'पाँच दशक लामो प्रतिक्षापछि विमानस्थल निर्माण सम्पन्न भएर उद्घाटन हुनु पोखराका लागि उत्सव हो। पोखरेलीको साथ र सहयोगबाट निर्माण भएको विमानस्थलको उद्घाटन समारोहलाई भव्य बनाउन बिदा दिएका हौं।'
विमानस्थल उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम छ। महानगरका मेयर आचार्यले ४७ वर्षपछि बनेको पोखरा विमानस्थलको आइतबार भव्य रुपमा उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन्। पोखराको अमरसिंह चोकमा बिहान १० बजे भेला भई विभिन्न जातजातिको भेषभुषामा झाँकीसहितको र्याली पोखरा विमानस्थल उद्घाटन समारोहस्थलमा पुग्ने कार्यक्रम छ।
उद्घाटन सत्र बिहान हुने र साँझ आतिसबाजी, फेसन शो तथा विभिन्न सांस्कृतिक कार्यक्रम हुने तय भएको छ। महानगरले केही दिनदेखि पोखरा सफाइ अभियान कार्यक्रमसमेत चलाइरहेको छ। महानगरको पहलमा पुरानो विमानस्थलदेखि नयाँ विमानस्थलको मूल गेटसम्म करिब १२ सय मिटर दूरीमा ३–३ मिनेटमा बस छुट्ने गरी व्यवस्था मिलाइएको छ भने मूल गेटबाट करिब १० मिनेटमा छुट्ने गरी लेकसाइडसम्म जाने–आउने बसको व्यवस्था गरिएको छ। उद्घाटन कार्यक्रममा तत्कालीन अञ्चलाधीश तथा पोखरा निर्माणमा अग्रणि भूमिका खेलेका एवं विमानस्थलका परिकल्पनाकार शंकरराज पाठकलाई विषेश सम्मान गरिनेछ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्न करिब २२ अर्ब रुपैयाँ खर्च भएको विमानस्थल निर्माण आयोजना प्रमुख विनेश मुनकर्मीले जानकारी दिए। सन् २०२१ को जुलाई १० अर्थात् गत असार २६ भित्र पोखरा विमानस्थल निर्माण कार्य सम्पन्न हुनेगरी चीनको सीएएमसी कम्पनीले जिम्मा लिएकोमा कोरोना महामारीका कारण समयभित्र नसकिएपछि कम्पनीले ६ महिना समय थप गर्न प्रस्ताव गरेको थियो।
पोखरा विमानस्थलको करिब ३ हजार ८ सय ९९ रोपनी जग्गा छ, जसमध्ये ९९ प्रतिशत आयोजनाको नाममा आएको छ। २०३२ सालमा पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भन्दै स्थानीयले जग्गा अधिग्रहण गरी ३१ सय ६ रोपनी जग्गा व्यवस्थापन गरेका थिए। अन्य थप जग्गा आयोजनाले चरणबद्ध रुपमा अधिग्रहण गरेको हो।
यो परियोजनाका लागि २ प्रतिशत ब्याजदरमा २० वर्षमा २६ किस्ता तिर्ने गरी ऋण सम्झौता भएको थियो। सुरुको ७ वर्ष ९ग्रस अवधि० मा कुनै किस्ता तिर्नु पर्दैन भने त्यसपछि १३ वर्षसम्म ६/६ महिनामा किस्ता तिर्नुपर्ने हुन्छ। लगानीको ७५ प्रतिशत रकममा मात्र २ प्रतिशत ब्याज तिर्नुपर्ने हुन्छ। १३ वर्षसम्म २६ किस्ता तिर्नुपर्दा ६/६ महिनामा ब्याज र साँवा गरी करिब ४७ करोड तिर्नु पर्नेछ। वार्षिक रुपमा ब्याजमात्रै करिब ३२ करोड लाग्नेछ।
विमानस्थल सञ्चालनमा आउने पहिलो दिन आज काठमाडौंबाट यात्रुसहित उडेको पहिलो विमान ७:३० बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ। पहिलो विमानबाट आएका यात्रुलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ।
हाल सञ्चालनमा रहेको विमानस्थलबाट भने साना जहाज, हेलिकप्टर र अल्ट्रालाइट उडानमात्र हुनेछ। बाँकी सबै उडान नयाँ विमानस्थलबाट गरिनेछ। बुद्ध, यतीलगायतका एयरलाइन्स कम्पनीहरूले नयाँ विमानस्थलबाट परीक्षण उडान गरिसकेका छन्। बुद्ध एयरले पोखरा–बनारस उडानको तयारी गरे पनि भारतबाट अनुमति पाएको छैन। पोखराबाट ४–५ घण्टाको उडान हुने गरी जजिरा, थाई, हिमालय, कतार एयरवेजलगायतका कम्पनीहरूले चासो दिएको बताइएको छ।
मौसमले साथ दिएन
मौसमी प्रतिकूलताका कारण आज बिहानैदेखि पोखरातर्फको उडान प्रभावित भएको छ। यो अन्तर्राष्ट्रिय विमानस्थलमा आज बुद्ध, यती, श्री, सौर्य, गुण, समिट, तारा लगायत विभिन्न वायुसेवा कम्पनीको उडान तालिका छ। विमानस्थलको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने कार्यक्रम छ। उडान नहुँदा उद्घाटन कार्यक्रम समेत ढिला हुने भएको छ।
भैरहवामा भने अन्तर्राष्ट्रिय उडान रोकियो
गौतमबुद्धको जन्मस्थल लुम्बिनी भ्रमणका लागि अक्टोबरदेखि मार्चसम्मको समय उत्तम मानिन्छ। अधिकांश पर्यटक यस अवधिमा लुम्बिनी भ्रमणको कार्यक्रम बनाइरहेका हुन्छन्। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणपछि पर्यटन व्यवसायी पनि यहाँ आउने पर्यटकको सङ्ख्या बढ्नेमा विश्वस्त थिए। तर पर्यटक आउने मुख्य सिजनमा यो विमानस्थलमा हवाई उडान अवरुद्ध हुँदा उनीहरु निराश भएका छन्।
हाल खराब मौसमका कारण विमानस्थलमा विमान अवतरण गराउन नसक्ने भन्दै उडान स्थगित हुन थालेपछि यहाँको पर्यटन व्यवसाय प्रभावित भएको छ। प्रतिकूल मौसमका कारण बुकिङ रद्द गर्नुपरेको नेपाल टुर्स एन्ड ट्राभल एजेन्ट संघ (नाट्टा)का प्रदेश अध्यक्ष रचना पन्तको भनाइ छ। 'लुम्बिनीमा पुस, माघ र फागुनमा बढी पर्यटक घुम्न आउने गरेका छन्। यस्तो समयमा प्रतिकूल मौसमका कारण उडान रद्द गर्नु पर्दा पर्यटक यहाँ आउन पाएका छैनन्,' उनले भनिन्।
जाडो र चिसोको समयमा बाक्लो हुस्सुका कारण भिजिविलिटी अत्यन्तै कम हुने भएपछि अन्तर्राष्ट्रिय उडान प्रभावित भएको हो। भैरहवा तथा आसपासमा अहिले घाम नलागेको समयमा भिजिविलिटी दुई सय मिटर हाराहारीमा पुग्छ। घाम लागेको बेला आन्तरिक उडान हुने र नभएको बेला उडान नै नहुने भइरहेको छ।
विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालका अनुसार गत डिसेम्बर २० देखि हिमालयन एयरलाइन्स र २१ डिसेम्बरदेखि जजिरा एयरवेजले उडान स्थगित गरेका छन्। जजिराले डिसेम्बरसम्म उडान स्थगित जानकारी दिए पनि यो मौसमी प्रतिकुलताका कारण यो समयावधि अझै लम्बिन सक्ने देखिन्छ। आन्तरिक उडान पनि मौसमकै कारण नियमित भइरहेको छैन।
विमानस्थलमा उपकरण अवतरण प्रणाली (इन्स्ट्रुमेन्ट ल्यान्डिङ सिस्टम–आइएलएस) जडान छ। तर कार्यान्वयनमा भने आउन सकेको छैन। आइएलएस रेडियो नेभिगेशन प्रणाली हो। जसले विमानलाई राति वा खराब मौसममा पनि अवतरणमा सहयोग गर्छ। आइएलएस प्रणाली कार्यान्वयन गर्दा लागि भारतीय आकाश पनि प्रयोग गर्नुपर्ने हुनसक्छ। यसका लागि भारत सरकारको स्वीकृति आवश्यक पर्ने महाप्रबन्धक दाहालको भनाइ छ।
विमानस्थलमा सामान्य अवस्थामा विमान अवतरणका लागि १५ सय मिटर भिजिविलिटी आवश्यक पर्छ। तर आइएलएस कार्यान्वयन हुने हो भने आठ सय मिटरसम्मको भिजिविलिटीमा विमान अवतरण गराउन सकिन्छ।
२०२१ सालमा घाँसे हवाई मैदानबाट सुरु भएको भैरहवाको विमानस्थल २०२३ मा आन्तरिक विमानस्थलको रुपमा हालको स्थानबाट सञ्चालनमा आएको थियो। ३५ अर्बको लागतमा निर्माण भएको विमानस्थल २०७९ जेठ २ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो।
आठ सय बिघा क्षेत्रफलमा फैलिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा तीन किलोमिटरको रनवे छ। फोर ई क्याटेगरीको विमानस्थलमा नवौं क्याटेगरीका दमकल छन्। त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल सरहको उडान र अवतरणको क्षमता रहेको यो विमानस्थलमा चार वटा न्यारोबडी र एउटा वटा वाइडबडी गरी पाँच वटासम्म जहाज पार्किङ गर्न सकिन्छ।
विमानस्थलमा हालसम्म एक सय ५४ अन्तर्राष्ट्रिय उडान भएका छन्। यस अवधिमा १३ हजार पाँच सय ९३ यात्रु आएका छन् भने १८ हजार २५ यात्रु विमानस्थल हुँदै बाहिरिएका छन्।
विमानस्थलमा उडान र अवतरणका लागि अन्तर्राष्ट्रिय विमान कम्पनीलाई आकर्षित गर्न अवतरण शुल्क, बिसान शुल्क, सञ्चार तथा उड्डयन सेवा शुल्क र सुरक्षा जाँच शुल्कमा पहिलो वर्ष शतप्रतिशत छुट प्रदान गरिएको छ। ग्राउण्ड ह्यान्डलिङमा पनि ५० प्रतिशत छुट दिइएको छ।