काठमाडौं– नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले वर्ष २०७९ का लागि अमूल्य राष्ट्रिय कलाश्री सम्मान र राष्ट्रिय कलाश्री पुरस्कारहरूको घोषणा गरेको छ।
प्रतिष्ठानकी अध्यक्ष मोमिला जोशीको अध्यक्षतामा ललितपुरमा बिहीबार बसेको निर्णायक समितिको बैठकले वरिष्ठ चित्रकार तथा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका पूर्व–कूलपति किरण मानन्धरलाई अमूल्य कलाश्री सम्मानबाट सम्मानित गर्ने निर्णय गरेको हो।
यसैगरी यस वर्षको राष्ट्रिय कलाश्री पुरस्कार प्रसिद्ध समालोचक प्राध्यापक डा लक्ष्मणप्रसाद गौतमलाई, सिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार लोकप्रिय कवि, निबन्धकार तथा उपन्यासकार भूपिनलाई, राष्ट्रिय कलाश्री पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार तथा कवि डा टंक उप्रेतीलाई, थिरछया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार वरिष्ठ चित्रकार जगदीश तिवारीलाई तथा पद्मनेत्र राष्ट्रिय कलाश्री सङ्गीत पुरस्कार लोकप्रिय गायिका मेलिना राईलाई प्रदान गर्ने निर्णय गरेको छ।
प्रतिष्ठानका अनुसार सम्मान र पुरस्कार समर्पण कार्यक्रम माघको अन्तिम वा फाल्गुनको पहिलो साता काठमाडौँमा हुनेछ।