काठमाडौं– हरेक वर्षजस्तै सन् २०२२ मा पनि नेपाली गीत–संगीत तथा फिल्म क्षेत्रमा केही न केही विवाद आए। तर अत्यधिक चर्चामा रह्यो गायक प्रकाश सपुतको पीर गीत, चलचित्र प्रेमगीत–३ र चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी।
प्रकाश सपुतको पीर नामक गीतमा देखाइएको भिडियो कथा निकै विवादमा पर्यो।
युट्युबमार्फत सार्वजनिक गरिएको पीर गीत २४ घन्टा नपुग्दै विवादमा मुछिएको थियो। १६ मिनेट २५ सेकेन्ड लामो गीतले माओवादीले गरेको दस वर्ष लामो सशस्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न उब्जाइएको छ। ज्यान हत्केलामा लिई परिवर्तनका लागि युद्ध लडेकाको सपना अझै पूरा नभएको, उनीहरू आर्थिक रूपमा कमजोर भएका कारण विदेशिनुपरेको र सशस्त्र युद्धमा होमिएका महिला छापामार लडाकुले काठमाडौंका गल्लीहरुमा देह व्यापार गर्न बाध्य भएको कथालाई भिडियो कथामार्फत उठान गर्न खोजिएको छ। यो गीत सार्वजनिक भएसँगै माओवादी नेताहरूले प्रत्यक्ष विरोध नगरे पनि उक्त पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी थिइन्।
‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ। दिदीबहिनीमाथि अपमान हुने गरी बनाइएको ‘पीर’ नामक भिडियोबारे सार्वजनिक माफी मागेर तत्काल युट्युबबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चेतावनी दिन चाहन्छु’, उनले फेसबुकमा लेखेकी थिइन्।
माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले पनि गीतलाई लिएर आपत्ति जनाएका थिए। उनले लेखेका थिए, ‘पीरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऔं तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन्, त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ।’
पीर गीत हटाउन चौतर्फी दबाब आएपछि गायक प्रकाशले सो गीतको भिडियो पुनः सम्पादन गरेर अपलोड गरेका थिए।
‘पीरले सफलता मात्रै होइन, धेरै कुरा सिकाएको छ। सचेत गराएको छ। तथ्यपरक सिर्जना गर्दा त्यसलाई नेपाली दर्शक, श्रोता, सम्बन्धित कथा पात्रले चित्रण गर्ने समूह, समुदाय र समग्र समाजको कस्तो दृष्टिकोण रहन्छ भन्ने कुराको हेक्का राख्नुपर्ने रहेछ कि जस्तो महसुस गराएको छ’, उनले सम्पादित भिडियो अपलोड गर्दा लेखेका थिए।
गीत सिर्जना गर्दा अझ धेरै अध्ययन गर्न प्रेरित गरेको उनले आफ्नो धारणा व्यक्त गरेका थिए। उनले भनेका थिए, ‘यद्यपि सर्जकले आफ्नो सिर्जनात्मक दायरा खुम्च्याउने कि सिर्जनाप्रति दर्शकले आफ्नो दृष्टिकोण फराकिलो बनाउने? यो बहस हुन जरुरी छ, भइरहोस्। जेहोस्, पीरमा प्रतीकात्मक रुपमा राखिएको एउटा दृश्यले पात्रले चित्रण गरेको सम्बन्धित समूहको आत्मसम्मानमा चोट पुग्यो नै, गीत र भिडियोका अन्य सौन्दर्यलाई समेत छायामा पारिदियो।’
०००
२०२२ मा कला क्षेत्रमा सबैभन्दा विवादमा आएको चलचित्र हो, प्रेम गीत–३। निर्माता सन्तोष सेनको निर्देशन तथा प्रदीप खड्काको अभिनय रहेको प्रेमगीत–३ दुई कारणले गर्दा चर्चामा रह्यो ।
नेपाली र हिन्दी भाषामा ७ असोजमा एकैसाथ विश्वभर प्रदर्शन भएको प्रेमगीत–३ ले इतिहास रचेको भए पनि नेपालमा यसका विरुद्ध विवाद निकालियो।
चलचित्र विकास बोर्डले ११ बजेपछि पनि फिल्म हल खुला राख्न अनुमति लिनुपर्ने र ‘प्रेम गीत–३’ को हिन्दी डबले विदेशी फिल्मसरह कर तिर्नुपर्ने दुई निर्णयका कारण सुरु भएको विवाद उत्कर्षमा पुगेको थियो।
विवाद नम्बर १: ‘प्रेमगीत–३’ को हिन्दी भर्जनलाई नेपालीसरह मान्ने कि नमान्ने?
विवाद नम्बर २: शो टाइममा बोर्डको अंकुश
‘प्रेम गीत–३’ का निर्देशक तथा निर्माता सन्तोष सेनले आफ्नो चलचित्रको हिन्दी भर्सनलाई नेपाली चलचित्रसरहको कर छुट दिन बोर्डलाई आग्रह गरे। तर बोर्डको तर्क थियो– हिन्दी भर्सनको प्रतिलिपि बलिउड फिल्मले किनेको हुँदा विदेशीसरह नै ‘प्रेमगीत–३’ प्रदर्शनमा कर लाग्छ।
फिल्म निर्देशक तथा निर्माता सन्तोष सेन र अभिनेता प्रदीप खड्काले प्रेमगीत–३ को हिन्दी डबिङलाई विदेशी फिल्मसरह व्यवहार गर्ने बोर्डको निर्णयमा आपत्ति जनाएपछि थप विवाद चर्किएको थियो। सोही कारण कलाकार दुई धु्रवमा विभक्त भएका थिए। यतिसम्म कि प्रेमगीत–३ को निर्माण टिम मन्त्रालय धाउनुपरेको थियो।
०००
२०२२ गीत–संगीत क्षेत्रमा पीर र फिल्म प्रेमगीत–३ पछि सबैभन्दा बढी चर्चामा आए, अभिनेता तथा चलचित्र विकास बोर्ड अध्यक्ष भुवन केसी। चलचित्र क्षेत्रमा चिन्ने र परिचितका बीच केसीका अनेक किस्सा छन्। सबैभन्दा बढी नायिकासँग जोडिनुका कारण उनी विवादमा आइरहन्छन्।
मिटुको आरोप लागिरहँदा पनि चुनावी स्टन्ट बनाउँदै केसीलाई पार्टी प्रवेश गराएको नेपाली कांग्रेसले बोर्ड अध्यक्षमा नियुक्त गरेसँगै विवादमा तानिए। कतिपयले कांग्रेस नेतृहरुको नैतिक प्रश्न कता छ भन्दै केसीको विरोध गरेका थिए।
भुवनलाई बोर्ड अध्यक्ष बनाएर यौनजन्य हिंसा, अझ कार्यस्थलमा हुने यौनजन्य हिंसामा राज्य, सरकार पीडकको साथ भएको बलियो प्रमाण दिएछसमेत भनियो।
प्रेमगीत–३ लाई लिएर पनि केसी विवादमा तानिएका थिए। हल सञ्चालनमा अवरोध गरेको कारण उनी विवादमा तानिए। हल सञ्चालकले उनी र बोर्डविरुद्ध आन्दोलनकै योजना बनाए।
भुवनको सल्लाहकार समिति विवादमा तानियो, समीक्षकले उठाए प्रश्न उठाइरहेका छन्। ८ पुसमा अभिनेत्री पूजा शर्मालाई महिला सशक्तीकरण समिति सदस्यमा नियुक्ति गरेपछि उनी पुनः विवादमा तानिए।