शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नारायणी स्पातले डण्डी उत्पादन थाल्यो, चाँडै नै एमएस बिलेट उत्पादनको तयारी

नारायणी स्पातले डण्डी उत्पादन थाल्यो, चाँडै नै एमएस बिलेट उत्पादनको तयारी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
वीरगंज- तीन वर्षयता लगानी विस्तारमा आक्रामक देखिएको क्याल समूहको लगानीमा स्थापित नारायणी स्पातले उत्पादन शुरू गरेको छ। वीरगंज पथलैया औद्योगिक करिडरको लिपनीबिर्तामा अवस्थित क्याल समूहकै नारायणी रोलिंग मिल नजिकै यो उद्योग संचालनमा ल्याइएको हो।

गत वर्षमात्र पूर्वाधार निर्माण थालिएको नारायणी स्पातको परिक्षण उत्पादन २४ असारबाट शुरू भएको हो। यसअघि नारायणी रोलिगं मिलमार्फत् टिएमटी डण्डी, एंगल,पट्टी उत्पादन गर्दै आएको क्याल समूहले बजार प्रतिस्पर्धामा टिक्न लगानीसँगै उत्पादन क्षमतासमेत विस्तार गरेको हो। 

२५ वर्षदेखि फलामकै व्यापार र उद्योगमा लागेको मान्छे हुँ, क्याल समूहका अध्यक्ष सत्यनारायण क्यालले भने,बजारमा टिक्नकै लागी भएपनि आधुनिकीकरण गर्नुपर्ने बाध्यता थियो।

वार्षिक १ लाख मेट्रिक टन उत्पादन क्षमताको उद्योगमा क्याल समूहले ८७ करोड रूपैयाँ लगानी गरेको छ । क्याल समूहकै सवा १ अर्ब रूपैयाँको लगानीमा गत माघदेखि संचालनमा आएको वार्षिक १ लाख मेट्रिक क्षमताको नारायणी स्ट्रीप्स प्रा.लि.ले जस्तापाता उत्पादन गरिरहेको छ।

पहिलो चरणमा नारायणी स्पातबाट डण्डी उत्पादन थालेको यो कम्पनीले चाँडै नै एमएस बिलेट समेत उत्पादन गर्ने भएको छ । डण्डी उत्पादनका लागी एमएस बिलेट मुख्य कच्चा पदार्थ हो। बिलेटका लागी नेपालमा कच्चा पदार्थ उपलब्ध छैन, उद्योगका संचालक राजेश क्यालले नेपाल समयसँग भने, विदेशबाट आयात गर्दा कहिलेकाहीं बिलेटको आपूर्ती चक्र अवरूद्ध भइदिन्छ, त्यस्तो अवस्थामा पनि डण्डी उत्पादन जारी राख्न थोरै परिमाणमै भएपनि एमएस बिलेट समेत उत्पादन गर्ने तयारी छ। 

उद्योगका अनुसार स्पन्ज आइरन र स्क्र्यापको प्रयोगबाट स्थानीय स्तरमै बिलेट उत्पादन गरिनेछ । अबको चार महिनामा बिलेट उत्पादन थाल्ने उद्योग व्यवस्थापनले जानकारी दिएको छ।

नारायणी स्पात बाहेक यहाँ ठूला औद्योगिक समूहको लगानीमा करिब ४ अर्ब ४३ करोड रूपैयाँको लगानी सहित थप ४ वटा स्टील उद्योग संचालनमा आउने भएको छ।

शौरभ समूहको अगुवाईमा परवानीपुर ड्राइपोर्ट सडक खण्डको बगहीमा ३ अर्ब २८ करोड लगानीमा सर्वोतम स्टील्स प्रालि र गोल्छा समूहको ८९ करोड लगानीमा बिन्दवासिनी गाउँ पालिकामा हुलास आइरन इण्डष्ट्रिज प्रालि संचालनमा आउने भएको हो। उद्योग विभागका अनुसार स्टील भाँडाकुँडा उत्पादनमा फर्च्युन स्टील इम्पेक्सले २१ करोड र एंगल पट्टी, वर्गाकार पाइप उत्पादनका लागी जय माता दि स्टील्स प्रा.लिले ५ करोड रूपैयाँ लगानी गर्दैछन्। 
 
वार्षिक उत्पादन क्षमता २ लाख ६४ हजार टनको सर्वोतम स्टील्सले डण्डी, एंगल,पट्टी र ८० हजार टन उत्पादन क्षमताको हुलास आइरनले फलामे पाइप उत्पादन गर्नेछ। सर्वोतम स्टील्सले अहिले उद्योग परिसरमा पर्खाल लगाउने काम गर्दैछ। 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।