काठमाडौं-नेपाली राष्ट्रिय टोलीका लेग स्पनिर सन्दीप लामिछाने एकै वर्षमा सर्वाधिक राष्ट्रमा क्रिकेट खेल्ने खेलाडीको सुचिमा परेका छन् । क्रिकेट वेबसाईट क्रिकइन्फोले निकालेको एकै बर्षमा धेरै देशमा क्रिकेट खेल्ने क्रिकेटरको सूचीमा सन्दीप परेका हुन् ।
क्रिकइन्फोको ‘क्रिकेट मन्थ्ली’ संस्करणमा सन्दीप अन्य पाँच खेलाडीसँगै यस सूचीमा अटाएका हुन् । यसै वर्ष इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट खेलेका सन्दीपले ९ वटा राष्ट्रमा क्रिकेट खेलेका छन् । क्रिकइन्फोका अनुसार सन्दीपले ९ वटै राष्ट्रमा टी–ट्वान्टी क्रिकेट खेलेका हुन् ।
उनले दिल्ली डेयरडेभिल्सबाट आईपीएल खेलेका थिए । हालै क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेलेका सन्दीप अफगानिस्तान प्रिमियर लिगमा समेत अनुबन्धित भईसकेका छन् ।
यस सूचीमा सन्दीपसँगै पाकिस्तानका शोएब मल्लिक र शादाब खान तथा बंगलादेशका तमिम इकबालले पनि ९-९ राष्ट्रमा क्रिकेट खेलेका छन् । सूचीको शीर्ष स्थानमा अफगानिस्तानका मोहम्मद नाबी र राशिद खान रहेका छन् । नाबी र खान दुबैले १० राष्ट्रमा क्रिकेट खेलेका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४