धनगढी- बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै धनगढीमा विद्यार्थीले शुक्रबार प्रदर्शन गरेका छन्।
निर्मलालाई न्याय दिनुपर्ने, महिला हिंसाको अन्त्य गरिनु पर्ने मागसहित नगर बाल सञ्जालको आयोजनामा शुक्रवार विद्यार्थीले बृहत प्रदर्शन गरेका हुन्। धनगढी उपमहानगरपालिकाभित्र रहेका विभिन्न विद्यालयका विद्यार्थी विद्यालय पोशाकमै प्रदर्शनमा सहभागि थिए। उनीहरुले ‘निर्मलालाई न्याय दे’, ‘हामी न्याय चाहन्छौ’, ‘बाल अधिकार रक्षा गर’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका हुन्।

धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको विद्यार्थीको विरोध र्याली सामाजिक विकास मन्त्रालय हुँदै फर्केर पार्क चोकसम्म पुगेको थियो। कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो।
घटना भएको दुई महिना पुग्नै लाग्दा पनि प्रहरीले दोषी पत्ता नलागेपछि सवत्र आक्रोस बढेको छ। दोषीमाथि कारबाही हुनु पर्ने माग सहित कञ्चनपुर, कैलालीलगायत प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा विद्यार्थी, अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दललगायतबाट दिनहुँ प्रदर्शन भइरहेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४