काठमाडौं- आज गण्डकी र बागमती प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
उच्च पहाडी भूभागमा हल्का हिमपात हुने र तराईका जिल्लामा हुस्सु तथा कुहिरो लाग्ने विभागको भनाइ छ। जाडो क्रमिकरुपले बढ्दै गएको र तापक्रम घट्नेक्रम निरन्तर रहेकाले आवश्यक सावधानी अपनाउन पनि विभागले आग्रह गरेको छ।
विभागका अनुसार आज आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने विभागले जनाएको छ। त्यस्तै, भोलि सोमबार मधेस प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने छ।
त्यस्तै, पुस १२ गते मंगलबार कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। उच्च पहाडी भूभागमा हल्का हिमपात जारी रहने विभागको भनाइ छ।
विभागका अनुसार हिजो साँझ काठमाडौं उपत्यकाका न्युनतम तापक्रम ५.३ डिग्री सेल्सियसमा झरेको थियो। त्यस्तै, जुम्लाको न्युनतम तापक्रम माइनस ५.६ पुगेको छ। त्यस्तै, जोमसोमको न्यूनतम तापक्रम माइनस ६.१ मा झरेको विभागले जनाएको छ।