इटहरी- सुनसरीको दक्षिणी क्षेत्र हरिनगरा-२ को भुटाहा बजारमा बिहीबार भएको गोली काण्डको विषयमा छानविन गर्न एसएसपीको नेतृत्वमा समिति गठन गरिएको छ।
प्रहरी प्रधान कार्यालयको अगुवाइमा बनेको छानविन समितिको नेतृत्व प्रदेश-१ प्रहरी कार्यालयका एसएसपी किशोर दाहालले गरेका छन्। समितिमा पाँच सदस्य रहने प्रदेश-१ प्रहरी प्रमुख डीआर्इजी केदार रिजालले बताए।
सुनसरीका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद उप्रेतीका अनुसार छानविनको काम आजैबाट औपचारिक रूपमा शुरु हुनेछ। छानविनमा राजधानीबाट आएको सीआर्इबीको तीन सदस्यीय टोलीले सघाउनेछ। यसका लागि सीआर्इबी टोली सुनसरी आइसकेको प्रजिअ उप्रेतीले बताए। केन्द्रको अनुसन्धानमा सहज बनाउन जिल्ला प्रहरी सुनसरीले पनि बाक्लो जनशक्ति परिचालन गरेको प्रजिअ उप्रेतीले बताए।
लापरवाही गरेकामा घटना क्षेत्रको प्रहरी नेतृत्व फेरियो
यसैबीच भुटाहामा हत्याकाण्ड हुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरीले राम्रो भूमिका निर्वाह नगरेको बताउँदै नेतृत्व परिवर्तन गरिएको छ। अनुसन्धानमा सजिलो बनाउन यस्तो गरिएको प्रजिअ उप्रेतीको भनाइ छ। बिहीबार घटनास्थलबाट सात सय मिटर मात्रै पर रहेको भुटाहा प्रहरी पोस्टले सूचना पाएको आधा घण्टामा पनि नआएको बताउँदै स्थानीय बासिन्दा आन्दोलित बनेका थिए। भुटाहा प्रहरी पोस्टका असर्इ श्रवणकुमार चौधरीले भने प्रहरीको एउटा मात्रै बाइक भएकाले दुर्इ वटा बाइकमा आएका अपराधी समात्न तत्काल नसकिएको नेपाल समयलाइ बताए।
मृतकलार्इ शहीद र परिवारलार्इ १० लाख माग
चार छोरी र तीन छोराका पिता तथा नेकपा नेता अन्सारीलार्इ शहीद घोषणा गर्न माग गरिएको छ। मृतक परिवारलार्इ १० लाख रुपैयाँ क्षतिपूर्ति दिन पनि राज्यसँग पीडित पक्षले माग गर्दै आन्दोलन गरेका थिए। शुक्रबार दिउँसो २ बजेसम्म यस्तै माग राखेर पीडित परिवार र आफन्तले भुटाहामा प्रदर्शन गरेका थिए। प्रदर्शनमा पूर्वमन्त्री जाकिर हुसेनलगायत सहभागी थिए। गाउँपालिका अध्यक्षको मिडिया प्रतिक्रियाले तरंग
घटना भएको हरिनगरा गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले हत्या गरिएका खुर्सिद अन्सारीलार्इ भारतले आफूलार्इ बुझाउन आग्रह गरेको मिडियामा बताएपछि तरंग आएको छ।
भारतले अन्सारीका हकमा त्यस्तो केही नभनेको र सिमानामै घर भएका उनी भारतविरोधी नभएको मुस्लिम अगुवाहरूले बताएका छन्। घटना भएको दिन अध्यक्ष अन्सारी जिल्लाबाहिर भएको र मिडियामा भारतले खोज्दै गरेको भन्नुले घटनामा तरंग आएको एक प्रहरी अधिकारीले बताए।
गाउँपालिका अध्यक्ष अन्सारी र मृतक मौलाना अन्सारीको व्यक्तिगत राजनीतिक र स्थानीय प्रभावको प्रतिस्पर्धा भएको प्रहरीका एक अधिकृतले बताए। हत्याराहरू भारतीय बाइकमा आए पनि भारत भने पसेको नदेखिएको उनले बताए।
छानविन समितिमा नभएका र सार्वजनिक रूपमा नाम सार्वजनिक गर्न नमानेको ती अधिकृतले बताए । उनले भने, ‘गाउँपालिका अध्यक्षले धेरै संवेदनशील कुरा उठान गर्नु भएको छ। त्यो हो वा होइन भन्नेबारेमा पनि अनुसन्धान गर्नु आवश्यक देखिन्छ। उहाँको सूचना हो वा होइन भन्ने कुराले घटनालार्इ अनुसन्धान गर्न सहज हुनेछ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४