काठमाडौं- हत्या अपराधमा जेल सजाय भोगिरहेका फ्रान्सेली नागरिक चार्ल्स शोभराज थुनामुक्त भएका छन्। बिहीबार उनलाई केन्द्रीय कारागार सुन्धाराले थुनामुक्त गरेर अध्यागमन विभागको जिम्मा लगाएको छ। अब विभागले उनलाई डिपोर्ट गर्ने प्रक्रिया अघि बढाउनेछ।
बुधबार सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधान र तिलप्रसाद श्रेष्ठको इजलासले उमेर र स्वास्थ्य स्थितिलाई कारण देखाउँदै उनलाई थुनामुक्त गर्न आदेश दिएको थियो। ६५ वर्ष उमेर पुगेका कैदीहरुलाई असल चालचलनको आधारमा वा ओछ्यानमा परी निको हुन नसक्ने अवस्थामा ७५ प्रतिशतसम्मको कैद सजाय छोट्याउन सक्ने व्यवस्था छ।
चार वर्षअघि नै शोभराजले आफू छुट्नुपर्ने दाबी गर्दै बन्दी प्रत्यक्षीकरणको रिट हालेका थिए। तर कारागार नियमावलीमा भनिएको यो सुविधा नेपाली नागरिकले मात्रै पाउने व्याख्यासहित उनको विपक्षमा आदेश भएको थियो। पछिल्लो पटक परेको बन्दी प्रत्यक्षीकरणको रिटमा भने उनकै पक्षमा फैसला आयो।