कपिलवस्तु- कपिलवस्तुको बाणगंगा नदीमा एक युवा हाम फालेको आशंका गरिएको छ। नदीको रामघाट पुलबाट हाम फालेर डुबेको आशंकामा प्रहरीले खोजतलास सुरु गरेको छ।
कपिलवस्तु नगरपालिका १ तौलिहवा खानेपानी टोलका २९ वर्षीय गोरखनाथ बर्माले हाम फालेको आशंकामा खोजतलास थालिएको हो। बर्मा बुधबार बिहान ९ बजेदेखि बेपत्ता भएका थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले फोन लोकेसन ट्रयाक गर्दा रामघाट पुल देखिएपछि अनुसन्धान जारी गरेको थियो। प्रहरीले बर्माले प्रयोग गर्दैआएको एउटा फोन पुल माथि फेला पारेको छ। फोन भेटिएपछि नदीमा हामफालेको आशंका गरिएको हो।